नेपालको ट्याक्सी क्षेत्रमा सुजुकीका गाडीको वर्चस्व छ । सुरुवाती समयमै सस्तो र नेपाल सरकारले तोकेको स्पेसिफिकेसनअनुसारको गाडी सुजुकीले उपलब्ध गराएका कारण ट्याक्सी व्यवसायीको रोजाइमा सुजुकी ब्रान्ड परेको हो ।
मारुती सुजुकी ८०० र अल्टोपछि हुण्डाईको इयोनले पनि ट्याक्सी बजारका केही हिस्सा ओगटेको छ । बागमती प्रदेश सरकारको सन् २०८५ भित्र पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति लिएको छ । सोही नीतिअनुसार पाइलट प्रोजेक्टको रूपमा २० वर्ष कटेका ट्याक्सी विद्युतीय ट्याक्सीमा मात्रै सट्टाभर्ना गरिने नीति ल्याइएको छ ।
विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्ने निर्णय २४ चैत २०७८ मा मन्त्रिपरिषद्ले गरेको थियो । उक्त निर्णयअनुसार उपत्यकामा सञ्चालित २० वर्ष पुराना ट्याक्सी सट्टाभर्नाको रूपमा विद्युतीय ट्याक्सी नै लिनुपर्ने प्रावधान छ ।
सरकारको यही नीतिबमोजिम केही सवारीसाधन आयातकर्ता कम्पनीले सरकारले तोकेको स्पेसिफिकेसनअनुसार विद्युतीय ट्याक्सी आयात गरेका छन् ।
हालसम्म ट्याक्सीको रूपमा नेपालको सडकमा राज गरिरहेको सुजुकी र हुण्डाई भने यो प्रतिस्पर्धामा छैनन् । बरु कमर्सियल भेइकलबाट आफ्नो पहिचान बनाएको टाटा मोटर्सले केही विद्युतीय ट्याक्सी बेचिसकेको छ ।
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘एक्सप्रेस टी’लाई विद्युतीय ट्याक्सीका रूपमा नेपाली बजारमा ल्याएको छ ।
सुरुवाती चरणमा ट्याक्सी बेच्नेभन्दा पनि ट्याक्सीचालकलाई विद्युतीय ट्याक्सी चार्ज गर्ने, चलाउनेलगायतको ट्रेनिङ दिने काम भइरहेको सिप्रदी ट्रेडिङका सिनियर मार्केटिङ म्यानेजर रूपम श्रेष्ठले जानकारी दिए ।
‘अहिले विद्युतीय ट्याक्सी खरिद गर्नेहरूले आफ्नो आधा जीवन पेट्रोल ट्याक्सी चलाएको बानी छ । त्यस कारण हामीले गाडी बेच्नेभन्दा पनि यसको महत्त्व, चार्ज गर्ने तरिका, चलाउने तरिकालगायतका बारेमा जानकारी दिने काम गरिरहेका छौँ । यसका लागि हामीले ट्रेनिङ सेन्टर नै सञ्चालनमा ल्याएका छौँ,’ उनले भने ।
सिप्रदीसँगै सीजी मोटर्सले पनि विद्युतीय ट्याक्सी ल्याउने तयारी गरेको छ । चिनियाँ कम्पनी होजोनले उत्पादन गरेको नेटा भी क्रसओभर कारबाट नेपाली अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको सीजी मोटर्सले ट्याक्सी ल्याउने तयारी तीव्र बनाए पनि कुन ब्रान्ड ल्याउने भन्ने सार्वजनिक गरिसकेको छैन । कम्पनीले भित्रभित्रै तयारी तीव्र बनाइरहेको छ ।
यस्तो छ बागमती प्रदेशले बनाएको विद्युतीय ट्याक्सीको स्पेसिफिकेसन
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सट्टाभर्ना हुने ट्याक्सीलाई साधारण र विशेष प्रकृतिका गरी दुई प्रकारका स्पेसिफिकेसन बनाएको छ ।
साधारण ट्याक्सी ५ सिट क्षमता, अटोमेटिक ट्रान्समिसन, कम्तीमा २ सय लिटरको बुट स्पेस भएको, ३० वा सोभन्दा धेरै किलोवाटको मोटर, २० किलोवाट वा सोभन्दा धेरै क्षमताको लिथियम आयोन ब्याट्री, सेडान बडी टाइप, कम्तीमा १७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, कम्तीमा २१० किलोमिटर रेन्ज, एयर ब्याग, जीपीएस सिस्टम, एबीएस, सेन्ट्रल लकिङ र रेयर भ्यु क्यामरा अनिवार्य हुनुपर्नेछ ।
त्यसैगरी, विशेष प्रकृतिका ट्याक्सीमा ५ देखि ७ सिट क्षमता, अटोमेटिक ट्रान्समिसन, कम्तीमा २५० लिटर बुट स्पेस, कम्तीमा ५० किलोवाटको मोटर, कम्तीमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री, सेडान वा भ्यान बडी टाइप, कम्तीमा १७५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स, डुअल एयर ब्याग, जीपीएस सिस्टम, कम्तीमा २७५ किलोमिटर रेन्ज, हिल असिस्ट, एबीएस र ईबीडी, सेन्ट्रल लकिङ, पार्किङ सेन्सर, रेयर भ्यु क्यामरा, एसी र साउन्ड सिस्टम हुनुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ १८:४६