जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको जाडो छल्ने मुख्य माध्यम हो- आगो ताप्नु । स्याउलाको झुपडी बनाएर बस्ने गरेका राउटेहरूले जाडो छल्न बाल्ने गरेको त्यही आगोमा परी वर्षेनि गम्भीर घाइते मात्रै होइन, ज्यानसमेत गुमाउने गरेका छन् ।
मंगलबार राति चिसो छल्न ओढेको ब्याङ्केटमा आगो सल्किदा ४० वर्षीय राउटे युवा नारायण शाही जलेर गम्भीर घाइते भएका छन् । बेलुका खाना खाएर शाही, उनकी श्रीमती र आमाबुबा एउटै छाप्रोमा सुतेका थिए । आगोनजिक सुतेका शाहीले ओढेको बलाङ्केटमा अचानक आगो सल्किएको थाहै पाएनन् ।
पोलिष्टरबाट बनेको कपडामा आगो पूर्णरूपमा फैलिसकेपछि साथमै सुतेकी उनकी श्रीमतीले थाहा पाइन् । आगोले छिटो टिप्ने कपडा भएका कारण शाहीको कम्मरमाथि र घाँटीभन्दा तलतिरको भाग जल्न पुग्यो । तत्काल शाहीको उद्दार गरी दैलेख जिल्ला अस्पताल लगियो । प्राथमिक उपचारपछि थप उपचारका लागि शाहीलाई प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको छ ।
केही समययता शाही बिरामी थिए । उनी राम्रोसँग यताउता हिँड्नसम्म सक्दैन थिए । सोमबार उनको परिवारले सरकारले दिने सामाजिक सुरक्षा भत्ताबापतको रकम पाएको थियो । शाही पहिलेदेखि नै मदिरा सेवन गर्थै तर, बिरामी भएपछि उनको परिवारले घरमै मदिरा ल्याइदिने गर्थे । ‘ज्वरो आउने, पखाला लाग्ने भएपछि टीबीको शंका गरी परीक्षण गर्ने तयारी गरिएको थियो,’ राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्री भन्छन्, ‘उहाँले पहिलेदेखि नै मदिरा सेवन गर्नुहुन्थ्यो । तर, पछिल्लो समय बिरामी परेपछि अरुले ल्याइदिए खाने गर्नुहुन्थ्यो । भत्ता बुझेकाले मदिरा सेवनका कारण आगो लागेको थाहा नपाएको पनि हुनसक्छ ।’
प्रदेश अस्पतालको इमरजेन्सीमा उपचाररत शाहीको अवस्था गम्भीर छ । उनको उपचारमा संलग्न डाक्टर विकास खड्काका अनुसार घाँटी, पिठ्यु, छाती र दुवै हातको पाखुरा जलेको छ । ‘शरीरको ३० प्रतिशत भाग जलेको छ, अहिले नै यस्तै भन्न सकिने अवस्था छैन । बढी जलेको भागमा इन्फेक्सन आएमा हामीले अप्रेसन गरेर बिग्रिएको मासु फाल्नुपर्छ,’ डाक्टर खड्काले भने ।
डाक्टर खड्काका अनुसार घाँटीमा लागेको गहिरो चोटका कारण उपचारमा समस्या आउन सक्ने देखिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आउन कम्तीमा १० दिन लाग्ने डाक्टर खड्काको भनाइ छ । हाल उनको उपचार खर्च केही परिवार र बाँकी अस्पतालले ब्यहोरिरहेको छ ।
यसअघि पनि चिसोबाट बच्न बालेको आगोबाट ओढ्ने कपडामा आगो सल्किँदा राउटे समुदायका एक जनाको मृत्यु भएको थियो । जंगलको बीचमा हरियो स्याउला, घोचाहरू र पालले बनाएको छाप्रोमा बस्नुपर्दा पुस-माघमा अधिक चिसो हुने गरेको समुदायका युवा शेरबहादुर शाही बताउँछन् । चिसोबाट बच्न अगेनोनजिक आगो बालेर सुत्नुपर्ने बाध्यताका कारण उनीहरू आगलागीको जोखिममा पर्ने गरेको शिक्षक खत्री बताउँछन् ।
मौसम अनुसार ठाउँ परिवर्तन गरिरहने उनीहरू अहिले दैलेखको नारायण नगरपालिका-८ सालखर्कमा बसिरहेका छन् । स्थायी बसोबास नभए पनि दैलेखको गुराँस गाउँपालिकाले राउटेहरूलाई परिचयपत्र वितरण गरेको छ । अहिले यो समुदायका मानिसहरूको संख्या १ सय ४३ छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १७:२६