राजनीतिमा सत्ताबेगर अरू सबै कुरा भ्रम हो भन्ने मान्यता सिंहदरबारले स्थापित गर्यो । चतुर खेलाडीसँग राजनीतिक संस्कृति नभई कुशल दाउपेच मात्रै हुन्छन् । भनिरहनै परेन– नाम अनेक भए पनि सबै पार्टीका राजनीति, अर्थनीति, संस्कृति, आचरण र व्यवहार एकै छन् । कसैले फरक छुट्याउनै सक्दैन । वर्ग सिफ्ट भएका कम्युनिस्ट र विचार रित्तिएका कांग्रेस दुई थरी पार्टी भए पनि आचार, विचार र व्यवहार एउटै छ, सिंहदरबारलाई केही फरक पर्दैन ।
सत्ताको झिनाझप्टीले पैदा हुने तरंग राजनीति बनेर देखिन्छ भने क्रियाका प्रतिक्रियामा उल्झने समर्थन र विरोधका भनाइ र गराइले भिन्न पार्टीजस्ता देखिन्छन् । अर्काका एजेन्डा र राजनीतिलाई कसैले पनि बोक्दैन । सहमति र सम्झौता पनि विषय वा एजेन्डा केन्द्रित मात्रै हुन्छन् । तिमी तिम्रा तरिकाले लड, हामी हाम्रा तरिकाले भिड्छौँ भन्ने नीतिले पार्टीहरूका भूमिका तय हुन्छन् । सम्झैता र सहमति एकअर्काको हित होउञ्जेल चल्छन्, नहुनेबित्तिकै तोडिन्छन् । माओवादीलाई नयाँ साझेदारको खोजी हुनु स्वाभाविक थियो । कुनै पनि मान्छेले तपाईंसँग व्यवहार गर्दा तपाईंको सोचअनुसार गर्दैन, उसको आफ्नै सोचअनुसार गर्छ ।
यस लेखमा राजनीतिका दर्शन, सिद्धान्त, आदर्शको चस्माबाट विषय र प्रसंग चर्चा नगरी विकसित घटनाक्रमले राजनीतिमा आएका तरंग, पारेका र पार्न सक्ने असरबारे चर्चा गरिनेछ ।
नयाँ समीकरणकाे मार्गचित्र
उपसभापति पूर्णबहादुर खड्काकै गृहनगर सुर्खेतमा पुरानो गठबन्धन भत्कँदै र नयाँ बन्दै गरेको कांग्रेसले भेउ नै पाएन । अहिलेको समीकरणको मार्गचित्र सुर्खेतको सुभ होटलमा पुस ८ गते बिहान ९ देखि साढे १० बजेबीचको अवधिमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेलबीच गम्भीर संवाद भयो ।
महरासँग माओवादी कर्णाली इर्न्चाज कालीबहादुर मल्लसमेत थिए । त्यसबेलासम्म प्रधानमन्त्रीको फस्ट इनिङ नेतृत्व प्रचण्डलाई दिने आफ्नो पहिलाको वाचाबाट कांग्रेस पछाडि हट्दै थियो । पहिला एमाले अध्यक्षा केपी ओलीसँग भएको सहमति तोडिँदा झस्केका अध्यक्ष प्रचण्ड सेकेन्ड इनिङ स्वीर्कान विश्वस्त हुने अवस्थामा थिएनन् ।
राजनीतिमा ट्र्याक वानभन्दा ट्र्याक टुमा सक्रियता धेरै हुन्छ । संवाद र सहमतिका लागि अध्यक्ष प्रचण्ड महरालाई सधैँ अगाडि सार्ने गर्छन् । पत्रकार महासंघको उद्घाटन कार्यक्रमको बहानामा ट्र्याक टु डिप्लोमेसीका लागि पोखरेल र महरा सुर्खेत पुगेका थिए । काठमाडौंको तरल र संगीन अवस्था सम्हाल्न कांग्रेस महामन्त्री एवं देउवाका ब्यूह रचनाकार पूर्णबहादुर खड्का भने गृहनगरमा भएको सबभन्दा ठूलो कार्यक्रममा पनि सहभागी भएनन् ।
राष्ट्रपतिबाट सम्मानपत्र ग्रहण गरिसकेपछि पत्रकार जन्मदेव जैसीले महरा सरले तपाईंसँग छुट्टै भेट्न चाहनुभएको छ भने । कार्यक्रमपछि बाहिर अलग्गै महराजीसँग कुराकानी भयो । उनले भावी दिनको राजनीतिक मोडको संकेत गरे । सुर्खेतमै भएको त्यत्रो ठूलो खेलको सुइँको सम्म देशैभरिबाट पुगेका सात सय ५० भन्दा ज्यादा पत्रकारले पत्तै पाएनन् । हावाको गन्ध सुँघेर समाचारको गर्भथलो पुग्ने वरिष्ठ पत्रकार किशोर नेपाल र किशोर श्रेष्ठसम्मले पत्तै पाएनन् ।
साँझको खाना मैले मित्र मंगल शाहीको घरमा खाएँ । रंगिन मुडमा कतै कुरा खुस्केला किजस्तो होसियार हुनुपर्यो । बिहानै किशोर श्रेष्ठ मेरो बसाइ होटल नमस्ते पुग्दा कतै विषयको क्लु पाएको त हैन ? भनेर झस्किए पनि । गोपनीयताको रक्षा सम्बन्धका आधार हुन्छन् । बिहान ५ देखि ११ बजेसम्म सँगै रहँदा पनि नेपालको सबभन्दा चर्चित खोजी पत्रकार किशोरलाई सूचना नपुगेको देखेर म भने ढुक्क भएँ । उनको ८ गते दैलेख भ्रमणले एउटा ठूलो स्कुप उम्केको थियो । किशोरसँग हामी काँक्रेबिहार र भीसी नन्दबहादुर सिंहको निवासमा पुग्यौँ ।
काङ्ग्रेस र माओवादीका आ–आफ्नै योजना र अभ्यास
कांग्रेस र माओवादीबीचको सम्झौता, सहमति भनेको सत्ता अंशियारी र विपक्षीलाई कसरी पछार्ने भन्ने दाउ मात्रै थिए । स्वत्वको लडाइँमा कसले, कसलाई, कहाँ प्रयोग गर्ने भन्ने हुन्छ । धेरैजसो सहमति र सम्झौता तेस्रो शक्तिको विरोधलक्षित र केन्द्रित मात्रै हुने गर्छन् । योग्य सेनापति भने ब्यूह रचना गर्दा ससाना विषयमा पनि ध्यान दिन्छन् ।
अन्तिम क्षण अझ महत्त्वको हुन्छ भन्ने कुरा विश्व फुटबल खेल फाइनल कांग्रेसले हेरेको भए फ्रान्सलाई कसरी अर्जेन्टिनाले पेनल्टी सुटमा पछार्यो भनेर सचेत हुन्थे । नत्र भने राजनीतिक पेनाल्टी पर्खेर बसेका अध्यक्ष प्रचण्डले कुनै पनि नयाँ दाउ खेल्न सक्छन् भन्ने चेत नहुन सदनको ठूलो दल कांग्रेसको राजनीतिक चतुरतालाई सत्ताको अहंकारले परिणामको आकलन गर्न दिएन ।
के देउवा सुरक्षित हुन सक्छन् ?
जितमा सबैको हाई हाई,
पराजयमा सबैको बाईबाई ।
धन र शक्तिको मौलिक चरित्र नै चञ्चलता हो । भनिन्छ– सक्छौ जित्नेको पछि लाग, नसके तटस्थ बस, तर किमार्थ हार्नेको पछि नलाग । ज्योतिषमा विश्वास गर्ने देउवा डिजुरे प्रधानमन्त्री थिए भने बालुवाटारको साँचो म्याडमको हातमा मात्रै थियो ।
सत्ता अहंकार बढेपछि राजनीतिक भूमिका र आन्दोलनमा कुनै साइनो नभएका नेतापत्नीहरू कांग्रेसमा महारानी बने । त्यसको प्रतिक्रिया त गृहमन्त्रीको पराजयले देखाइसकेको थियो ।
सत्ता अहंकार बढेपछि राजनीतिक भूमिका र आन्दोलनमा कुनै साइनो नभएका नेतापत्नीहरू कांग्रेसमा महारानी बने । त्यसको प्रतिक्रिया त गृहमन्त्रीको पराजयले देखाइसकेको थियो । संसदीय दलको नेतृत्व छान्न प्रजातान्त्रिक अभ्यास देखाएको कांग्रेसले गम्भीरखाले मिटिङमा भने दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको उपस्थिति आवश्यक ठानेन । अर्थात् हुकुममा परिस्थिति हाँकिन्छ र निर्देशन अध्यक्ष प्रचण्डले खुरुक्क आदेश पालन गर्नेछन् भन्ने आकलन गर्यो ।
जासुसी विभागको नेतृत्व गर्दा पनि अध्यक्ष प्रचण्डको योजनाको सुइँको नै पाउन सकेन कांग्रेसले । ४ बजे माधव नेपाललाई फोन गरे र भने, 'माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोन गरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्यो ।’ यो परिस्थिति सम्हाल्न अनुरोध गर्दैगर्दा समय घर्किसकेको थियो । त्यसबेला झल्याँस्स भए, जुन बेला बन्दुकबाट गोली छुटिसकेको थियो ।
देउवा अब पदीय रूपमा सुरक्षित हुन सक्दैनन् । उनको नेतृत्व क्षमतामा कांग्रेसभित्र प्रश्न उठिसक्यो– प्रधानमन्त्री बन्ने लोभले पार्टी डुबाए । गुटलाई ख्याल गर्दा जित्ने उम्मेदवारलाई टिकट दिएनन् । गठबन्धनका विभिन्न तर्क भए पनि प्रधानमन्त्री हुने मात्रै कारण बन्यो, गठबन्धन बचाउन सकेनन् । प्रचण्डलाई प्रधानमन्त्री दिएर पार्टीलाई सशक्त बनाउने कुशलता पनि उनमा रहेन । चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस, दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ । सबैभन्दा ठूलो पार्टी सत्ताबाहिरको कमजोर प्रतिपक्ष हुन पुग्यो ।
उनले राजनीतिको ह्याप्पी इन्डिङको अवसर पनि गुमाए । शक्तिले बनेका उनका गुटमा सार्वजनिक अपिल गर्ने नैतिक पुँजीका नेताहरू पनि रहेनन् । बफादारहरूको भिड जम्मा गरेर, लोभ देखाएर प्राविधिक समर्थन लिएर पुग्दैनथ्यो, गुटियारहरूको क्षमता पनि चाहिन्छ ।
सभापति देउवाले पुस २२ गते शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाए । तर, सतहबाट आएका कांग्रेसी प्रतिक्रिया थेग्न उनलाई गाहो छ । पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान भैसक्यो ।
कुरा नयाँ शक्तिका
नयाँ सरकारको औचित्यपूर्ण आधार अत्यन्तै कमजोर छन् । हिजोका तर्क थोत्रा भइसके । गठबन्धन बन्दा र भत्कँदा जेजति, जस्ता वक्तव्य बन्थे, क्रियाप्रतिक्रिया देखिन्थे, अब पत्याइने आधार रहेनन् । पुरानो गठबन्धन तोडेर नयाँ गाँठो कस्दा अब काम लागेन ।
आवेग नबनाई मान्छेलाई भिडमा फेर्न सकिँदैन । आवेगलाई विचार दिएर आदर्शको उत्तेजनामा फैलाएपछि एक जनाको सोच र अभियान सामाजिक ताकत बन्छ । त्यो तागत सङ्गठनमा फेरिएर नीति र योजना बनाएपछि सङ्गठित शक्तिमा फेरिन्छ । जबसम्म त्यो महत्वाकाङ्क्षाको साधन र सपनाको औजार बन्छ, तबसम्म आशाको नेतृत्व गर्छ । जब त्यही शक्ति कार्यान्वयनको थलोमा पुग्छ, एकातर्फ साधन र स्रोत कम हुन्छ भने स्वयम् अभिजात वर्गको संसर्गमा पुग्दा क्रमशः उतै ढल्न पुगेर जे नारा र आदर्श उठाएको थियो, त्यसैको विरोधी बन्न पुग्छ । परिस्थितिले उसलाई क्रमश: गाँज्दै जाँदा नायकबाट खलनायकमा फेरिएको थाहा नै पाउँदैनन् । त्यसको परिणाम जसको विरुद्ध ऊ थियो, उसैको सेवक र रक्षक बनेर सुविधाका तर्क कोरल्न थाल्छ । कुनै दिन कांग्रेस, एमाले, माओवादी, उपेन्द्र यादवजस्तै सीके राउत, रवि लामिछानेहरू क्रान्ति, विद्रोह वा असन्तोषका उपज थिए । तर, सत्ताका हात र मस्तिष्क भने धेरै लामा र चौडा हुन्छन् । काखमा राखेर खेलाउँदाखेलाउँदै सिध्याइदिएको चालै पाउँदैनन् ।
रवि लामिछाने र सीके राउतहरू सरकारमा नगएर पनि आफ्ना एजेन्डा लागू गर्न दबाब दिन सक्थे । उनीहरूका सामाजिक आवेगका नारा पनि अब मुकुन्डोधारीका चिच्याहट मात्र रहेछन् भन्ने भयो । सरकार बनाउन बाहिरबाट पनि समर्थन गर्न सकिन्थ्यो । सरकार सही बाटोमा हिँडे समर्थन र गलत दिशामा गए समर्थन फिर्ता भनेर सरकारलाई ट्र्याकमा राख्न सकिन्थ्यो । त्यसो नगरी सत्ता रोजेर मतदाताको विश्वासमा खरो उत्रिएनन् । राजनीतिमा नेताका नियत र चरित्र बुझ्न भित्रिया कार्यकर्ताले त सक्दैनन् भने आमनागरिकलाई त अझ धेरै समय लाग्छ ।
अब के होला ?
प्राविधिक सङ्ख्याले काम गर्दैन । समीकरण फेरिएर सभापति देउवाको संकट थपिनेछ । कांग्रेस धेरै समय प्रतिपक्षमा बसिरहन सक्दैन । सत्ताको नयाँ गठबन्धन तोड्न समग्र शक्ति खर्चिनेछ । २०५२ पछि एमाले र राप्रपा विभाजन त्यसका उदाहरण हुन् । हुन सक्छ, सदनमा सरकारलाई विश्वास मतमै खेलमा झेल हुन सक्ला । टुटफुटको पहिलो सिकार स्वतन्त्र पार्टी र जनमत हुनेछन । संसदीय फोहरी खेलका नाटक फेरि मञ्चन हुन सक्छन् । सरोकारवाला शक्ति पनि यस सामरिक संवेदनशील भूगोलमा मौन बस्ने छैन ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ ०७:२७