२९ असोज २०७७, ३१ वैशाख २०७८, २१ जेठ २०७८ र ११ पुस २०७९ अर्थ मन्त्रालयमा लामो लाइन लाग्यो र नवनियुक्त अर्थमन्त्री स्वागत गरियो ।
अर्थमन्त्रीले हस्ताक्षर गर्ने नयाँ फाइल तय भयो र अर्थमन्त्रीबाट कर्मचारीलाई निर्देशन मागियो ।
यो ३८ महिनाको अवधिमा विष्णु पौडेल मात्रै चारपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । तीनपटक शिशिरकुमार ढुंगानाले फूलमाला लगाएर स्वागत गरे, चौथोपटक भने भने कृष्णहरी पुष्करले ।
३८ महिनाको अवधिमा १८ महिना अर्थमन्त्रीको जिम्मेवारी बाहिर रहेका पौडेले पुन: टुप्लुक्क अर्थमन्त्री रूपमा आएका छन् ।
उनले अर्थमन्त्रीको रूपमा अहिलेसम्म पाँचाैपटक शपथ लिएका छन् । तेस्रो र चौथोपटक भने २१ दिनको अवधिमा २ पटक शपथ लिएका थिए ।
यो बीचको अवधिमा जनार्दन शर्मा दुईपटक अर्थमन्त्री बने । रोचक कुरा के थियो भने यसअघि पाैडेलले एकपटक पनि राजीनामा नदिई वा मन्त्रीको जिम्मेवारी नखोसिए पनि तीनपटक लगातार शपथ लिनु परेको थियो ।
२०७४ को निर्वाचनपछि केपी ओली नेतृत्वकाे सरकारमा पहिलोपटक अर्थमन्त्रीको जिम्मेवारी पाएका युवराज खतिवडा दुई वर्ष राष्ट्रियसभा सदस्य रहेकै बेला र ६ महिनाको समय सांसद नभई नै गरी दुईपटक अर्थमन्त्री भएका थिए । त्यसपछि भने पौडेल अर्थमन्त्रीको जिम्मेवारीमा २९ असोज २०७७ मा आएका थिए ।
विगतमा पौडेल
२०७२ सालमा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका पौडेल वितरणमुखी बजेटको कारण पार्टीभित्र र कार्यकर्तामाझ प्रिय मानिन्छन् । अघिल्ला अर्थमन्त्री खतिवडालाई अर्थमन्त्री नियुक्त गर्दा ओलीको प्रशंसा भए पनि पछि खतिवडाले गरेको काम र ल्याएको बजेटका कारण उनको आलोचना भयो ।
नियुक्ति भएको एकै महिनापछिबाट विपक्षीको र केही महिनापछिबाट पार्टीभित्रैबाट आलोचित खतिवडापछि फेरि पौडेल अर्थमन्त्री बने । पौडेल अर्थमन्त्री बन्नु अघि खतिवडाले कसैका कुरा नसुनेको र निजी क्षेत्रको भावना नबुझेको आरोप लागेको थियो । तर पौडेलले अर्थमन्त्री बन्दा खतिवडाले छाेडेकाे विन्दुबाट काम सुरू गरे ।
खतिवडालाई विवादमा पारेको विद्युतीय गाडीलाई कर बढाउने निर्णय फिर्ता गर्नु, पुस्तकमा लगाइएको कर फिर्ताका साथै अघिल्लो बजेटमा परेका कार्यक्रम कार्यान्वयनमा चासो देखाउनु, कोभिड राहत तथा बीमाका विषयमा सरोकारवालासँग छलफल र निर्देशनको कारण पौडेल चर्चामा रहे ।
२९ असोज २०७७ मा सामान्य प्रकियाबाट अर्थमन्त्री भए पनि ओलीले दोस्रोपटक संसद विघटनपछि २१ वैशाखमा उनले पुनः अर्थमन्त्रीका रूपमा शपथ लिएका थिए ।
कुन-कुन फाइलमा हस्ताक्षर भए
यसअघि अर्थमन्त्री पौडेलले आफ्नो यात्रा ऋणको फाइलबाट सुरु गरेका थिए । कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा उनले हस्ताक्षर गरेका थिए ।
ऋणको फाइलबाट अघि बढ्यो अर्थमन्त्रीको यात्रा
३१ वैशाखमा अर्थमन्त्रीको पदबहालीमा उनले कम्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपागञ्जका लागि ५ करोड ८३ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।
अक्सिजन प्लान्टका लागि डडेल्धुरा, पाटन र भेरी अस्पताललाई ५ करोड ८३ लाख दिने निर्णय
२१ जेठमा पदभारको क्रममा सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडीयू जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिनेसम्बन्धी निर्णयलाई स्वीकृत गरेका थिए । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ बजेट स्वीकृत गरेका थिए ।
यी सबै पहिलो निर्णय कोभिड केन्द्रित भए पनि बजेटबाट गरिएको कतिपय नीतिगत निर्णयले दूरगामी असर पार्ने भन्दै आलोचना भएको छ ।
अहिले उनले मितव्यिताको नीति अघि बढाउने दाबी गरेका छन् । डिजिटल सेवा प्रवाहसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
सधैँ निजी क्षेत्र निरुत्साहित भएको समयमा अर्थमन्त्री
शपथ लिएका हिसाबले उनी पाचौँपटक अर्थमन्त्रीको रुपमा शपथ लिए पनि अर्थमन्त्रीको जिम्मेवारी भने भिन्न भिन्न समयका तीन परिस्थितिका बीच उनी अर्थमन्त्री भए । तर, तीनैपटक निजी क्षेत्रको आत्मविश्वास जित्ने र आत्मबल बढाउनुपर्ने समयमा उनको उपस्थिति भएको छ ।
जनमतको आधारमा अहिले जिम्मेवारीमा आएको उनले बताए पनि अहिले धेरैको अपेक्षा भन्दा बाहिरबाट उनी अर्थमन्त्रीका रुपमा आएका हुन् । किन कि हिजोको वाम लोकतान्त्रिक गठबन्धन नभत्किएको भए उनी अर्थमन्त्री हुने 'चान्स' थिएन र यसअघि नै उनले प्रतिपक्षी भूमिका निभाउने प्रतिक्रियासमेत दिन भ्याएका थिए ।
पहिलोपटक उनी अर्थमन्त्री बनेको समयमा भूकम्पको कारण अर्थतन्त्र तहसनहस थियो । जनताले राहात खोजेका थिए, निजी क्षेत्रले पनि राहतको प्याकेज । त्यो समयमा उनी अर्थमन्त्री भएपछि निजी क्षेत्रको आत्मबल बढाउने काम पौडेलले गरेका थिए ।
दोस्रोपटक युवराज खतिवडाको कारण ओली सरकार विवादमा परेको, निजी क्षेत्रको कुरा नसुनेको, लगानीको वातवरण खस्किएको, शेयर बजारमा पहिरो गएको समयमा २०७७ सालमा उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
अहिले माग, आपूर्ति, लगानी सबै घटेको सयमा उनी अर्थमन्त्री भएका छन् । उनी आफैँले अर्थतन्त्र संकटको डिलमा पुगेको बताउँदै आएका छन् । निजी क्षेत्रले अहिले आत्मवल घटेको महसुस गरेको छ । नेपाल उद्योग परिसंघले गरेको सर्वेक्षणमा उद्योगीहरूले अहिले गरेको लागानीमा पछुतो मानेको र थप लगानी विस्तार नगर्ने सन्देश दिएका थिए ।
धेरै साना तथा मझौला उद्योग बन्द भएको, ठूला उद्योगले क्षमताको ४५ प्रतिशत मात्रै उत्पादन गर्न बाध्य भएको, निजी क्षेत्रले लगानीको माग नै नगरेको र व्याजदर र अन्य नीतिको कारण आन्दोलन गरेको समयमा टुप्लुक्क अर्थमन्त्रीको जिम्मेवारीमा पौडेल आएका छन् ।
पौडेल पनि यसअघि विवादमा नै परेका पात्र हुन् । यद्यपि उनलाई बजारले सकरात्मक रुपमा लिने गरेको छ । उनी अर्थमन्त्री बन्दा हरेक पटक शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार उनी अर्थमन्त्री हुने हल्लाकैबीच लगातार ओरालो लागेको नेप्से परिसूचक उच्च अंकले बढ्यो, कारोबार पनि दोब्बर भयाे ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ २०:२८