कुरा कतार विश्वकपमा ब्राजिल र क्यामरुनबीच म्याच हुँदाकाे हो । मेरा एक साथीको सपरिवार खेल हेर्न बस्छ । उनीहरू ब्राजिलले जितेको देख्न चाहन्थे । खेल सुरु हुन्छ । निलो जर्सी लाउने टिमले पहेँलो मोजा लाउने टिमलाई पेल्न थाल्छ । बारम्बार पाेस्ट अटेम्ट गर्छ । यो त अचम्मै भो !
संसारकै सफल टिमलाई एउटा कमजोर टिमले त्यस्तो बिघ्न पेलेको देखेर उनीहरू हैरान हुन्छन्- हरियो जर्सी, पहेँलो मोजा लगाएका खेलाडीको खुट्टामा बल पर्दै पर्दैन त !
जे हाेस् खेल अवधिभर उनीहरू निलाे जर्सीवाला खेलाडीबाट तर्सिरहन्छन् ।
निर्धारित ९० मिनेट सकिन्छ । ९ मिनेट थपिन्छ । इन्जुरी समयको डेढ मिनेटमै पहेँलो मोजा लाउने अश्वेत खेलाडीले शानदार हेडर गोल गर्छन् । उनी रेड कार्ड खानेगरी जर्सी खोलेर दौडिन्छन् । मेरा मित्रको परिवारमा पनि एकाएक खुसी फैलिन्छ । मित्रले हतारहतार फेसबुकमा लेख्छन्- गोल, त्यो पनि ‘ए’ को पछाडि ५/६ वटा ‘एल’ झुण्डाएर । उनकी छोरी रमाउँछिन् । श्रीमती मुस्कुराउँछिन् ।
तर स्कोर बोर्डमा देखाउँछ- क्यामरुन १, ब्राजिल ० ।
मित्र हतारहतार यसको स्क्रिनसट लिन्छन् । फेसबुकमा शेयर गर्नुपर्यो नि- हेर त, फिफाले पनि यस्तो मिस्टेक गर्छ ।
तर एकछिनसम्म फिफाले त्यो सच्याउँदैन । सच्याओस् पनि किन, त्यहाँ कुनै मिस्टेक भएको हुँदैन । मित्र बिस्मात्मा पर्छन् । रमाइरहेका छोरी र श्रीमतीतिर हेर्छन् अनि फेसबुक फिड स्क्रोल गर्छन् । ब्राजिलले हारोस् भनेर कामना गर्नेहरूले खिसिटिउरी गर्दै राखेको स्टाटस देख्छन् । गुगलमा सर्च गर्छन्, क्यामरुन- १ ब्राजिल- ० नै देखाउँछ । अब उनी पक्का हुन्छन्, पहेँलो मोजावाला खेलाडी त क्यामरुन पो रहेछ !
उनले छोरी र श्रीमतीलाई रमाउने कार्य रोक्न आग्रह गर्छन् । अनि गोल खाने टिम ब्राजिल भएको जानकारी गराउँछन् । एकाएक खुसी खाेसिन्छ । एक अनौंठो सन्नाटा छाउँछ ।
आक्रोशको नजरले सानी छोरीले बुवातिर हेर्छिन् । अनुहार अँध्यारो पारेर श्रीमती सानी छोरीतिर हेर्छिन् । ब्राजिलका पुराना ‘फ्यान’ मेरा मित्र अवाक् हुन्छन् । त्यसपछि उनी फेसबुकमा लेख्छन्, ‘गोल भएपछि थाहा पाइयो, खाने त ब्राजिल पो रैछ !’ नेयमार मैदानमा नदेखिनुकाे 'साइड इफेक्ट' थियाे याे । म उनकाे स्टाटसमुनि कमेन्ट लेख्छु, 'याे सब जलवायु परिवर्तनकाे असर हाे ।'
अर्जेन्टिना च्याम्पियन भएको कतार विश्वकपका यस्ता कैयाैँ किस्सा छन् ।
सुनसरीका अर्का एक मित्र टिम जर्मनीका समर्थक हुन् । यसपालि जर्मनी समूह चरणबाटै ‘आउट’ भएपछि उनी स्वतन्त्र भए । त्यसैले फरक-फरक टिमलाई समर्थन गर्नुपर्ने नौवत आइलाग्यो । तर दुखद् के भने, उनले सपोर्ट गरेका टिम कुनैले पनि जित निकाल्न सकेनन् । उनी हरेक दिन आजको सपोर्ट फलानोलाई भनेर फेसबुकमा लेख्थे । परिणाम ठीक उल्टो आउँथ्यो । उनका पोस्टमुनि अक्सर अर्जेन्टिना समर्थकका कमेन्ट हुन्थे, ‘धन्न तपाईंले अर्जेन्टिनालाई समर्थन गर्नुभएन ।’
मेराे कमेन्ट त उही हाे, 'याे सब जलवायु परिवर्तनकाे असर हाे ।'
अर्का एक मित्र पोर्चुगलका ठूलै फ्यान । पोर्चुगलको होइन, रोनाल्डोका फ्यान । पोर्चुगल बाहिरिएपछि अर्जेन्टिना पनि बाहिरियोस् भन्ने उनको उत्कट चाहना थियो । त्यसैले उनी अर्जेन्टिनाले हारेको हेर्न आँतुर थिए । हारेन भने लज्जित भइन्छ भनेर ठ्याक्कै अभिव्यक्तचाहिँ गर्दैन थिए ।
अर्जेन्टिनाले गोल हानेका बेला चुपचाप बस्थे । अर्जेन्टिनाले गोल खाएका बेला च्याटमा हेलो कि हेलो भन्दै आउँथे । फेरि अर्जेन्टिनाले गोल हानेपछि म ‘हेलो’ भन्थेँ । अनि उनी भन्थे, ‘मेस्सीको अन्तिम विश्वकप हो, जितोस् अर्जेन्टिनालाई शुभकामना छ ।’
फेरि अर्जेन्टिनाले गोल खानासाथ उनी ‘एस, एस, एस’ भन्दै च्याटमा आइहाल्थे, त्यो पनि YES को पछाडि १०/१२ वटा ‘एस’ झुण्ड्याएर । थाहा हुन्थ्यो, उनी भित्रबाट चाहिँ अर्जेन्टिनाले हारेको हेर्न चाहन्थे । साउदी अरेबियासँग अर्जेन्टिनाले हारेपछि उनी दुई हात उफ्रेका थिए । अहिले उनलाई त्यति उफ्रिन लायो भने सक्दैनन् होला । अब तपाईं नै थाहा पाउनोस्, उनी कति खुसी भएका थिए त्यो बेला ।
गोठाटार बस्ने अर्का एक साथी त्याे राति साउदी अरेबिया र अर्जेन्टिनाबीचको गेम हेरेर सुतेछन् । खेल साउदीले २-१ ले जितेको थियो । अर्जेन्टिनाका समर्थक भएकाले उनलाई त्यो पत्यार नै लागेन । अनि सपना देख्न थालेछन्, जहाँ अर्जेन्टिनाले लगालग साउदी अरेबियाको पोस्टमा गोल ठोक्छ । उनलाई वास्तविक नतिजा सपनाझैँ लाग्छ । सपनाको नतिजा वास्तविकझैँ लाग्छ ।
उनी निन्द्रामै चिच्याउँछन् । यतिमै राेकिएकाे भए हुन्थ्याे नि, उफ्रिन्छन् पनि । अब खाटमा उफ्रेपछि के हुन्छ ?
भुइँमा खस्छन् डङ्ग्रङ्ग ।
हिजो विश्वकप फाइनलमा वास्तवमै अर्जेन्टिनाले उपाधि जितेका बेला उनले दुवै हात उचालेर खुसी मनाउन पाएनन् । देब्रे हातमा पट्टी भिरेका उनले खुसीमा हल्लिने जिम्मा दाहिने हातलाई लगाए ।
सन् २०१८ मा मेरा एक मिल्ने साथी र एक बहिनी बाजाबाज गरेका थिए । ब्राजिलका समर्थक ती साथीले मेस्सीको विपक्षमा फेसबुक पोस्ट शेयर गरे । ती बहिनीलाई यो पचेन । एउटै अफिसमा काम गर्ने उनले अगाडि गएरै थर्काउन खोजिन् । मेरा साथीका तर्फबाट अर्की एक बहिनी मेसी फ्यान बहिनीसँग बाझिन् ।
ब्राजिलले हारेपछि यसपालि ती साथी शान्त बसे । ती बहिनीचाहिँ हिजो मजासित अर्जेन्टिनाको जितमा रमाइन् ।उनीहरूबीच मेलमिलापचाहिँ दुई वर्षअगाडि मैले नै गराएको थिएँ । यो ब्लग पढ्दैछन् भने उनीहरू पक्कै मुस्कुराउने छन् । अचेल उनीहरू त्यो किस्सा आफैँ निकालेर हाँस्छन् ।
अफिस होस् वा घर वा रेस्टुरेन्ट, विश्वकपमा आफूले समर्थन गरेको टिमबारे कुरा गर्न कम्ता मजा आउँदैन । अझ आफूसमर्थित टिम आउट नभएको समय होस् ।
नेता, व्यापारी, कलाकार, पत्रकारदेखि समाजका हर तह र तप्कामा रहेका व्यक्तिले विश्वकप फुटबलको मजा लिन्छन् । आफूले समर्थन गरेको टिमको पक्षमा शुभेच्छा प्रकट गर्छन् । यसै क्रममा कसैले हद पार गर्छन्, कसैले ठीकठीकै अनि कसैकसैले मनमनै समर्थन गरिरहेका हुन्छन् । मकवानपुरमा सागर घिमिरे नामका युवा त अर्जेन्टिनाकाे बबालै फ्यान रहेछन्, जसले जितका लागि ९ ग्रहको पूजा नै लगाए ।
जर्मनी, ब्राजिल, पोर्चुगल, स्पेनका समर्थकका लागि यसपालिको विश्वकप अपवादबाहेक खासै मजादायक रहेन । बरु सामाजिक सञ्जालमा उनीहरू र अर्जेन्टिनाका समर्थकबीचको छेडछाड भने रोचक थियो । भर्खरै चुनाव सकिएकाले कतिपयले विश्वकपलाई चुनावी शब्दहरूसँग पनि जोडे । अर्जेन्टिनाविरोधी ‘गठबन्धन’ रे ! निर्धारित समयमा गोल हानेको प्रत्यक्ष रे, पेनाल्टीमा गोल समानुपातिक रे !
कतिपय साथीहरूबीच छेडछाड यतिसम्म भयो कि, फेसबुकमा अनफ्रेण्ड गरागरदेखि बोलचाल बन्दसम्म भयो । अर्जेन्टिना समर्थक मित्र सबिन राईले फेसबुकमा लेखेअनुसार, मेस्सी र अर्जेन्टिनाको समर्थनमा लेख्दा उनलाई केही साथीले फेसबुकमा ब्लक नै गरेछन् । यस्तो भइरहन्छ । पहिला पनि हुन्थ्यो, अब पनि हुन्छ नै । यो सबै जलवायु परिवर्तनको असर हो ।
एक साथीले सोधे- यसपालि पुराना नायकहरू किन चम्किन सकेनन् ?
उनको आसय जर्मनी, ब्राजिल, स्पेनतिर थियो । मेरो जवाफ तयार छ, ‘जलवायु परिवर्तनको असर ।’ यो जवाफले तपाईं जुनसुकै प्रश्नलाई मत्थर पार्न सक्नुहुन्छ ।
असम्भव भनिएको कुरालाई सम्भव अनि सम्भवलाई असम्भव बनाउन सक्ने त जलवायु परिवर्तनबाहेक अरु के नै होला र !
पोर्चुगल क्वार्टर फाइनलबाटै आउट भयो । पोर्चुगल भन्नासाथ रोनाल्डो । यसपालि रोनाल्डाेको पनि अन्तिम विश्वकप थियो । उनका समर्थक चाहन्थे, पोर्चुगल पनि फाइनलसम्म पुगोस् । तर यस्तो भएन । क्वार्टरबाट पोर्चुगलको टिकट काटियो, सेमीफाइनलको होइन, घरतिरको ।
त्यसपछि पोर्चुगलका फ्यानले के भनेर मन बुझाउने ?
एकाएक केलिएन एम्बाप्पेको एक तस्वीर भाइरल भयो, जहाँ उनी आफ्ना ‘आइडल’ रोनाल्डोसँग देखिएका छन्, त्यो पनि सानै उमेरमा । २३ वर्षे एम्बाप्पे रोनाल्डोको ‘फ्यान’ भएको थाहा पाएपछि रोनाल्डो समर्थकहरूको मन पनि 'गार्डेन गार्डेन' भयो । अनि उनीहरू एम्बाप्पेलाई रोनाल्डोको चेला भनेर चित्त बुझाउन थाले । अर्जेन्टिनाविरुद्ध फ्रान्सले खेल्दा उनीहरू मैदानमा क्रिस्टियानाे रोनाल्डोलाई देखिरहेका थिए । मैले पनि त्यस्तै देखिरहेकाे थिएँ । के तपाईंले त्यस्तै देख्नुभएन ? जे होस्, उपाधि अर्जेन्टिनाले जित्यो, मन रोनाल्डोले जिते, ए होइन होइन, एम्बाप्पेले जिते ।
जे होस्, एम्बाप्पेले राेनाल्डाेका समर्थकहरूलाई निराश हुन दिएनन् । ट्रफी नजितेर के भो, सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट उनैले हात पारे । विश्वकप फाइनलमा ह्याट्रिक गर्नु चानचुने कुरा किमार्थ हाेइन । हिजाे राति सायद उनले 'एम्बाप्पे युग'काे ढाेका खाेलेका छन् । 'मेस्सी युग' त इतिहासकाे पानामा सुनाैलाे अक्षरमा लेखिइसक्याे ।
मेसी बुढो भयाे, कामै छैन भन्नेहरूको मुखमा पनि बुजो लाग्यो । ट्रफीसँगै उनले विश्वकपको सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे ।
कतार विश्वकपले सम्झिनालयक धेरै किस्साहरू छोडेर गयो । मेस्सीको टिमले ट्रफी चुम्यो । अर्जेन्टिनालाई मन नपराउनेहरूकाे मन यो देखेर अमिलो भयो । अर्जेन्टिनाका समर्थकहरूको मन यो देखेर ‘गार्डेन, गार्डेन’ भयो । जे भए पनि विश्वकप सकियो, याेसँग जाेडिएकाे रसरमाइलाे पनि सकियाे ।
विश्वकप चलिरहँदा हामीबीच भएको रमाइलो, छेडछाड भनाभन त रोचक नै थियो । तर मैदानमा केही भावुक दृश्य पनि नदेखिएकाे कहाँ हाे र ! उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोले रुँदै मैदान छोडेको देख्दा मन कटक्क भयो । क्लब फुटबलका तारा नेयमार रोएको देख्दा झनै भावुक भइयो । लुका मोडरिक, रोमेलु लुकाकु, सुआरेज, लेवान्डाेस्कीलगायत बाहिरिएको देख्दा नमीठो लाग्यो । जे भए पनि, यसपालि मेस्सीको निधारमा लेखिएको ‘श्री’ साबित गर्न यो सब हुनु नै थियो ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १०:३४