मोरङ बेलबारीका मनोज कार्की कतार एयरलाइन्सबाट रोजगारीका लागि आजै कतार जाँदैछन् । मनोज कतारको ‘कियूसी साइन’ होटलमा कार्यरत थिए । दसैँ बिदामा घर आएका उनी चुनावको एक दिनअघि कतार फर्किँदैछन् । जसलाई भोट दिए पनि अन्तिममा जानुपर्ने अर्कै देश भएकाे भन्दै उनले विदेश जान लागेकाे बताए । राजनीतिमा चासो नभएकै कारण मतदानकाे अघिल्लो दिन विदेश हिँडेको कार्कीले जानकारी दिए ।

उनले भने, 'मैले दिएको भोटले देशमा के परिवर्तन आउला । एक जना नेता होला, त्यही भएर भोट हाल्न नबसेको हुँ ।'
‘देशभित्र बेरोजगार भएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । यहाँ जति गरे पनि नेताको बुद्धि पलाउँदैन् । त्यही भएर भोट किन दिने ? भोट दिए पनि अर्काकाे देशमा काम गर्न जानुपर्ने बाध्यता हट्दैन ।’ उनले भने, ‘गरिबी र रोजीरोटीका नाम जहिले राजनीति मात्र भयो । यो समस्या समाधान गर्न राजनीतिक पार्टीले कहिल्यै ध्यान दिएनन् । विकास त गर्छन् भनेर आस गर्ने ठाँउ छैन । त्यही भए भोटको मतलब छैन ।’
उनले आफू कतार बसेको ७ वर्ष भएकाे बताए । त्यहाँको विकास आफ्नै आँखा अगाडि देखेकाे उनले बताए । उनले भने, 'कतारले मरुभूमिमा हरियो सागसब्जी उत्पादन गर्न थालेको छ । तर, नेपालमा त्यसको ठीक विपरीत भइरहेको छ ।'
कार्कीजस्तै, दक्षिण कोरिया वैदेशिक रोजगारीमा हिँडेका लमजुङ बेंशीबजारका विनोद गुरुङलाई पनि आइतवार हुने मतदानकाे मतलब छैन । पहिला गाँउमा सात वर्ष कुनै पार्टीको कार्यकर्ता भएर समय खेर फालेकोमा उनीलाई अहिले पछुताे छ ।
उनले भने, 'युवा राजनीतिक लाग्नु भनेको भविष्य बिग्रानु हो । राजनीतिक पार्टीले आफ्ना लागि मात्र भोटमा जनतालाई प्रयोग गर्छ ।'

सत्तामा पुग्ने पार्टीहरूलाई भोटको भन्दा विदेशीनेको नोटसँग मात्र सरोकार भएको उनले बताए । ‘देश रेमिट्यान्सले चलेको छ । यहि विषयलाई राजनीतिक मुद्दा बनाएका छन् । तर, वैदेशिक रोजगारीको विकल्प अहिलेसम्म कुनै पनि दलले खोजेका छैनन् ।’ उनले भने, ‘युवाको पसिना बेचेर राजनीति भइरहेको छ । रेमिट्यान्सबाट आएको पैसाले समेत राजनीति गरेका छन् । त्यही देशको अर्थतन्त्र धान्ने युवा जहिले उपेक्षित छन् ।’
विकास गर्ने, बेरोजगारी समस्या समाधान गर्ने, रोजगारी सिर्जना गर्ने र देशभित्रै कृषिमा उत्पादन बढाउँ भन्ने पार्टी नभएका कारण मतदान गर्न नबसेको उनको भनाइ छ ।
यस्तै, इलाम सन्दकपुरका विक्रम विक पनि मतदानकाे अघिल्लो दिन वैदेशिक रोजगारीमा साइप्रस जाँदैछन् । उनी परिवारसँग साइप्रस बसेको ५ वर्ष भयो । विमानस्थलमा भेटिएको विक तिहार मनाउन घर बिदामा नेपाल आएक थिए ।आजै ५ बजेको उडानमार्फत साइप्रस जान लागेको उनले जानकारी दिए ।
हाम्रो देशको राजनीतिले भ्रम मात्र फैलाएका कारण भोट हाल्न मन नलागेको उनले बताए । ‘साइप्रसमा निर्वाचनपछि त्यहाँको सबै क्षेत्रमा विकास हुन्छ । तर, नेपालमा चुनावपछि पहिलाभन्दा स्थिति बिग्रिने गरेको छ । नेपालको राजनीति विकाससँग जोडिँदैन । त्यही भएर राजनीतिक मात्र विकास भएको हो ।’ उनले भने, ‘साइप्रस पाँचवर्ष बस्दा त्यहाँ यति विकास भएको देखियो । त्यो हामीले कल्पना गरेभन्दा बाहिर कुरा हो । त्यहाँ जे बोल्छन् त्यो गर्छन् । नेपालमा बोल्छन् गर्दैनन् ।’

उनीहरू त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिलापत्रले भेटेका प्रतिनिधि पात्र मात्र हुन् । विक, कार्की र गुरुङजस्तै १ हजार ७ सय २४ जनाले चुनावकाे समयमा विभिन्न देश जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
आम निर्वाचनको प्रवाह नगरी युवाजमात वैदेशिक रोजगारीमा जानुकाे मुख्य कारण राजनीतिप्रति विश्वास गुमेको रोजगार विज्ञहरूले बताएका छन् ।

नेपालमा रोजगारीको अवसर नपाएर निर्वाचनको अघिल्लो दिन विदेशीनु भनेको राजनीतिक दलका नेताहरूसँग युवाहरूको विश्वास नभएको रुपमा बुझ्नुपर्ने पूर्व श्रमसचिव तथा रोजगारविज्ञ पूर्णचन्द्र भट्टराई बताउँछन् ।
वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरूलाई मतदान प्रक्रियामा ल्याउने बहस चलिरहेका बेला निर्वाचनकै मुखमा युवा विदेशीनुले राजनीतिक दलमाथि प्रश्न खडा गरेको उनले बताए ।
असोज महिनामा ४४ हजार ३४ जना कामदारले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत) श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । विभागका अनुसार भदौमा ५७ हजार ९ सय ९३ जना विदेशिएका छन् ।
गत साउनयता वैदेशिक रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर करिब ३ लाखभन्दा धेरै नेपाली विभिन्न देश पुगेको विभागको तथ्यांकमा छ । गत आर्थिक वर्षमा साढे ६ लाख नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।


प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १४:४२