नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा सोमबार तेस्रो दिन सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । त्यस्तै १३ कीर्तिमान भंग भएका छन् ।
चार सय मिटर पुरुष फ्रिस्टायलमा चार कीर्तिमान, सय मिटर बटरफ्लाईमा तीन, महिला सय मिटर बटफ्लाईमा एक र पुरुष दुई सय मिटर ब्रेष्टस्ट्रोकमा दुई कीर्तिमान भंग भएका छन् । त्यस्तै, महिला दुई सय मिटर ब्रेष्टस्ट्रोकमा एक, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा एक र चार सय मिटर फ्रिस्टायल रिलेमा एक कीर्तिमान भंग भयो ।
चार सय मिटर पुरुष फ्रिस्टायलमा नासिर हुसेनको नाममा १३औँ सागमा रहेको चार मिनेट ३३ः०५ सेकेन्डको कीर्तिमानलाई सोमबार चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले चार मिनेट ८ः६४ सेकेन्डमा आफ्नो रेकर्ड सुधार गर्दै स्वर्ण जिते । त्यस्तै रजत पदक जितेका एनआरएनएका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै चार मिनेट २२ः४५ सेकेन्डमा दूरी पार गरे । तेस्रो स्थानमा रहेका बागमतीका इरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै चार मिनेट २५ः७४ सेकेन्डको साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमानलाई उछिने । उनले चार मिनेट २५ः९२ सेकेन्डको समयमा दूरी पार गरेका थिए ।
बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको सय मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५औँ खुल्ला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९ः७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७ः८६ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते ।
दोस्रो स्थानमा रहेका एनआरएनएका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९ः६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पूर्व समयलाई सुधार गर्दै ५९ः७३ सेकेन्ड समयमा दूरी पूरा गरे ।
महिला सय मिटर बटरफ्लाईमा एनआरएनकी एस्ली सापकोटा डंगोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको एक मिनेट ९ः९७ सेकेन्ड समयलाई भंग गर्दै एक मिनेट ७ः७४ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । नेपाल पुलिसकी मेगन गुरुङले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन्।
पुरुष दुई सय मिटर ब्रेष्टस्ट्रोकतर्फ एनआरएनएका आशिष सापकोटाले दुई मिनेट २९ः६० सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । यस विधामा यसअघि सुभम श्रेष्ठको नाममा दुई मिनेट ३१ः१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोस्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै दुई मिनेट ३०ः७६ सेकेन्डको साथ रजत जिते । बागमतीका सेरेन सिंहले कास्य जित्न सफल भए ।
महिलातर्फको यसै विधामा सेनाकी डुवाना लामाले दुई मिनेट ४३ः२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण प्राप्त गरिन् । उनले सोमबार नै हिट चरणमा आफ्नै नाममा रहेको दुई मिनेट ४४ः६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाई भंग गर्दै एक मिनेट ४४ः२८ नयाँ रेकर्ड राखेकी थिइन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक पाए ।
पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७ः४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले सोमबार विहान भएको हिट चरणमा आफूले नै १३ औं सागमा राखेको २८ः०३ सेकेन्डको समयमा सुधार गर्दै २७ः५४ को नयाँ कीर्तिमान कायम गरेका थिए । एपीएफका तेन्जिङ नामदोल रायन गुरुङले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।
महिलाको ५० मिटर ब्याकस्ट्रोमा ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०ः८० समयका साथ दूरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।
पुरुष चार सय मिटर फ्रिस्टायल रिलेमा पनि सोमबार राष्ट्रिय रेकर्ड तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर हुसेन र एलेक्सजेण्डर शाहको समूहले तीन मिनेट ४५ः५१ सेकेन्डको कीर्तिमानसहित स्वर्ण जित्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले पनि तीन मिनेट ४६ः३७ सेकेन्ड समयका साथ रजत जित्यो । एपीएफले कास्य पदक पायो ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ २१:२२