बलात्कारजस्तो गम्भीर आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने अहिले पनि कप्तान नै छन् । आरोप लागिसकेपछि सन्दीपलाई तत्काल कप्तान र खेलाडीबाट निलम्बन गर्दै अनुसन्धानमा सघाउनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नियम कानुन मान्ने क्यान सन्दीपलाई तत्काल हटाउन हिचकिच्याइरहेको छ ।
२०२१ को अगस्टमा फ्रान्सेली खेलाडी तथा म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीविरुद्ध बलात्कारको उजुरी पर्याे । उनीविरुद्ध चार जनाले आफूहरूलाई बलात्कार गरेको र एक जना महिलाले आफूलाई यौन हिंसा गरेको भन्दै मुद्दा हालेका थिए । त्यसलगत्तै उनलाई इङ्लिस क्लब सिटीले निलम्बन गरेको थियो । अहिले पनि उनको मुद्दा चेस्टर क्राउन अदालत इङ्ल्यान्डमा चलिरहेको छ । उनी अहिले पनि हिरासतमै छन् ।
सन् २०२१ मा अस्ट्रेलियाका कप्तान टिम पेनले म्यासेजमार्फत यौन दुर्व्यवहार र गोप्य अंगको तस्वीरहरू एक कामदार महिलालाई पठाएको आरोप लागेपछि उनले कप्तानबाटै राजीनामा दिँदै क्रिकेटबाटै बिदा भए । बलात्कार तथा यौन हिंसा गम्भीर अपराध हो । सन्दीप निर्दोष होलान् अथवा दोषी नै होलान्, त्यो अनुसन्धानपछि आउने नै छ । तर, बलात्कारको आरोप लागेका सन्दीपलाई क्यानले तत्काल निलम्बन गर्न सक्नुपर्थ्याे । अन्तर्राष्ट्रिय नियम र अभ्यासलाई हेर्ने हो भने पनि तत्काल बर्खास्तीमा पर्छन् । क्यानले आरोपितलाई कानुनी सहयोग गर्ने हो कि निष्पक्ष छानबिनका लागि सहयोग गर्ने हो ?
आलोचित बन्दै क्यान
विश्व खेलकुद जगत्मा खेलकुदका हस्ती तथा स्टार खेलाडीहरूले बलात्कार तथा यौन हिंसा गरेका धेरै घटनाहरू बाहिर आइरहेका छन् । कति त दोषी ठहर हुँदै सजायको भागिदार पनि भइसकेका छन् । धेरैको मुद्दा अझै पनि अदालतमा चलिरहेको छ । विश्वमा सबैभन्दा अनुशासनको पालना हुने भनेको नै खेलकुदमा हो । खेलकुदमा जस्तो नियम कडा र पालना अरु क्षेत्रमा हुँदैन । खेलाडी पनि यही नियम पालना गरेर बस्छन् । आफ्नो करिअर बनाउँछन् ।
तर, कतिपय खेलाडी यस्तो जघन्य अपराधको आरोपमा जोडिन पुग्छन्, जसको कारण देशले शिर निहुर्याउँछ । क्यान अहिले पनि सन्दीपको पक्षबाट बोलिरहेको छ । आफ्ना खेलाडी भएपछि सन्दीपको पक्षमा बोल्नुपर्छ भन्ने क्यानलाई भएको हुन सक्छ । तर, अनुसन्धानका लागि प्रहरीलाई सघाउन क्यानले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘सन्दीपसँग निरन्तर कुरा भइरहेको छ । सन्दीपले कानुनी रूपमा सहजीकरण गर्न आग्रह गरेका छन् ।’ यता, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल सन्दीपसँग कुरा भएको भन्दै सन्दीपका कुराहरू राखिरहेका छन् । क्यानले आरोपित सन्दीपको मुद्दा बोकेर हिँड्ने कि अनुसन्धान गर्न स्वतन्त्र भएर सहयोग गर्ने ?
गत भदौ ५ गते सन्दीपले नाबालिकालाई पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको उजुरी छ । ५ गते दिउँसो सन्दीपले ती नाबालिकालाई घुम्नका लागि नगरकोट लगेका थिए । साँझ काठमाडौं फर्केर उनीहरू होटल इनमा बास बसेको र राति बलात्कार गरेको नाबालिकाले प्रहरीसामु बयान दिएकी थिइन् । यता, प्रहरीले अनुसन्धान बुधबारबाटै थालिसकेको छ । प्रहरीले सन्दीपविरुद्ध महत्त्वपूर्ण प्रमाण भेटेको पनि बताइसकेको छ ।
भदौ ६ गते केन्या गएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजपछि वेस्ट इन्डिज गएका थिए । अहिले उनी क्यारेवियन प्रिमियर लिग खेल्न जमैका तालावाजमा आबद्ध छन् । आफू निर्दोष रहेको भन्दै सन्दीपले भनेको क्यानले उल्लेख गरेको छ । सीपीएल क्रिकेट सकेर स्वदेश फर्किने पनि क्यानले बताएको छ ।
सन्दीपविरुद्ध आरोप मात्रै लागेको हो, तत्काल कारबाही नगर्ने तर अनुसन्धानमा सघाउने क्यान बैठकले निर्णय गरेको थियो । यो निर्णय नै ठीक छैन । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने बलात्कारको संगिन आरोप लागेपछि तत्कालका लागि निलम्बन गर्ने प्रचलन छ । नैतिकताका आधारमा पनि आरोप लागेका खेलाडीलाई तत्कालका लागि हटाउनैपर्छ ।
सन्दीप वेस्ट इन्डिजमा छन् । नेपालमा अनुसन्धान सुरु भइसकेको छ । अब सन्दीपबिना अनुसन्धान अघि बढ्न नसक्ने अवस्था पनि आएको छ । तर, सीपीएल सकाएर मात्रै नेपाल फर्किन्छु भन्दै क्यानलाई सन्दीपले सन्देश पठाएका छन् । क्यानले त निष्पक्ष छानबिनमा सहयोग गर्नका लागि सन्दीपलाई तत्काल नेपाल ल्याउन प्रयास गर्नुपर्ने हो ।
सन्दीप र नेपाली क्रिकेट
सन्दीप भन्नेबित्तिकै नेपाली क्रिकेटको सिंह अनुहार अगाडि आउँछ । अन्तर्राष्ट्रिय क्रिकेट जगत्ले हेर्ने पनि यही हो । इन्डियन प्रिमियर लिग (आईपीएल) देखि बिग ब्यास हुँदै सीपएलसम्मको यात्रामा उनकै कारण नेपाली क्रिकेट र खेलाडीका बारेमा अन्य खेलाडी र देशले चिनेको छ । सन्दीप बदनाम हुनु भनेको देश बदनाम हुनु हो ।
यतिबेला सन्दीपको समाचार विश्वभरि फैलिएको छ । नेपाली खेलाडीप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ । यस कारण क्यानले सन्दीपलाई छिटो नेपाल बोलाएर अनुसन्धानमा सघाउनुको विकल्प छैन । चौतर्फी तारिफ हुने सन्दीपको यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा दुई कित्तामा मान्छेहरू विभाजित भएका छन् । एक पक्षले सन्दीपको वकालत गरिरहेका छन् भने अर्का जमातले पीडित नाबालिकाको पक्षमा बोलिरहेका छन् । यसरी सामाजिक सञ्जालमा गरिने पोस्टहरूले दुवै पक्षलाई नराम्रो चोट पुगेको हुन सक्छ । त्यस कारण यो दोषी ऊ दोषी भन्दै ओलचना गर्नुभन्दा छानबिनपछिको सत्यलाई स्वीकार्नु नै उत्तम हुन्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १४:००