भिजिट भिसामा यूएई हिँडेका सप्तरीको सुरुङ्गा नगरपालिका– ५, सिधा बजारका लालमोहन सुनुवारलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनका कर्मचारीले फर्काए । उनी १० बजे टर्किस एयरलाइन्सको उडानबाट यूएई जाने तयारीमा थिए । सुनुवारलाई विमानस्थलमा खटिएका अध्यागमन प्रहरीले कागतजात नमिलेको भन्दै फर्काएको थियो ।
यूएई जान हिँडेका उनी फर्किनुपरेपछि राति १ बजे विमानस्थलमै अलपत्र परे । शनिबार बिहान ५ बजेपछि गौशालाको एक होटलमा फर्किएका उनी अहिले सप्तरीकै एजेन्ट रामधनुषको खोजीमा छन् ।
वैदेशिक रोजगार विभागमा भेटिएका सुनुवार आफूलाई रामधनुषले फसाएको बताउँछन् । 'त्यसले गरिबलाई झुक्याएर फसायो । कसरी पक्राउ गर्ने भनेर कानुनी उपचार खोज्न उजुरी दिन आएको हुँ,' सुनुवारले भने ।
घरबाट फूलमाला लगाएर वैदेशिक रोजगारीमा हिँडेको मान्छे काठमाडौंमा अलपत्र भएर बस्नुपरेको सुनुवार सुनाउँछन् । ‘म वैदेशिक रोजगारीमा जाने भनेर यूएई हिँडेको थिएँ । तर, एजेन्टले झुक्याएर भिजिट भिसामा पठाउन लागेको रहेछ । अहिले पो थाहा पाएँ,’ उनले भने, ‘एजेन्टले तीनपटक गरी २ लाख २७ हजार रुपैयाँ नगद लगेको छ । साहु काढेर आएको थिएँ । जान पनि पाइनँ । पैसा पनि डुब्यो ।’ उनी मंगलबार वैदेशिक रोजगार विभागको उजुरी शाखामा दुःखेसो पोख्दै थिए । आफूलाई एजेन्टले यूएईमा क्यासिनोको काममा लगाइदिने भनेर पठाउन पैसा लिएको उनले बताए ।
सुनुवारसँगै सप्तरीका अन्य पाँच जना युवालाई पनि प्रहरीले विमानस्थलबाट फर्काएको थियो । उनीहरू पनि एजेन्टविरुद्ध उजुरी गर्न विभागमा आएका थिए ।
सुनुवारसँगै उजुरी दिन विभागमा पुगेका लल्लु रावन पनि सेटिङ नमिलेकाले नै आफू फर्कनुपरेको दाबी गर्छन् । एजेन्टले विमानस्थलमा चेकिङ हुँदा प्रहरीसँग हातको औँला देखाएर मुसुक्क हाँस्नु भनेको रावन बताउँछन् । 'एजेन्टले भनेजस्तो गरी हाँस्दा प्रहरीले ‘हाँसेजस्तो भएन’ घर गएर हाँस्नू भन्दै फर्कायो,' उनले भने ।
आफूले एजेन्टलाई २ लाख ४० हजार रुपैयाँ बुझाएर भिजिट भिसामा यूएई जान लागेको रावन बताउँछन् । एजेन्टले यूएईमा सुरक्षा गार्डको रोजगारीमा लगाइदिने भनेर पठाउन खोजेको उनले बताए । विमानस्थलकै सेटिङमा भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गरिएको रावनको दाबी छ ।
भिजिट भिसामा यूएई हिँडेकी ललितपुर चापागाउँकी सरिता श्रेष्ठ (नाम परिवर्तन) लाई पनि गत बुधबार अध्यागमन प्रहरीले विमानस्थलबाट फर्कायो । उनलाई काठमाडौंस्थित सनराइज म्यानपावर प्रालिमा कार्यरत एजेन्ट डीके बिसुले भिजिट भिसामा यूएई पठाउन लागेका थिए । तर, कागजपत्र नमिलेपछि उनलाई अध्यागमन प्रहरीले फर्कायो ।
श्रेष्ठ यसअघि पनि यूएई गएकी थिइन् । त्यहाँ ४ वर्ष ब्युटीपार्लरमा काम गरेर फर्किएकी हुन् । भिजिट भिसामा पहिलाकै कम्पनीमा काम गर्न हिँडेको उनले बताइन् । तर, विमानस्थलका कर्मचारी र एजेन्टबीच कुरा नमिल्दा आफू रोकिनुपरेको श्रेष्ठको गुनासो छ ।
‘कागजात नक्कली बनाएको रहेछ । मलाई के थाहा ? प्रहरीले सोध्दा मुसुक्क हाँस्नु भनेको थियो । चेकिङको बेला एजेन्टले भनेजस्तै गरी प्रहरीसँग हाँसेँ । तर, चेकिङमा खटिएको प्रहरीले हाँसो मिलेन भनेर फर्कायो,’ उनले भनिन्, ‘मध्यराति भएकाले केही भन्ने अवस्था थिएन । तपाईंको भिसा र जाने प्रक्रिया नक्कली छ भन्दै प्रहरीले बेग्लै स्थानमा राख्यो । हाम्रो कुरासमेत सुनेन । मेरो रोजगारी त यूएईमा पक्का थियो ।’
भिजिट भिसामा नेपाली पठाउने एजेन्ट र विमानस्थलका कर्मचारीबीच सेटिङ रहेको तथ्य बेलाबेलामा उजागर हुँदै आएको छ । एजेन्टसँग सेटिङ मिले भिजिट भिसामा जाने व्यक्तिलाई रोकतोक नहुने श्रेष्ठको आरोप छ । उनी दुई दिन माइती नेपालमा बसेर घर फर्किएकी छन् ।
भिजिट भिसामा गएकाहरू विदेशमा अलपत्र पर्न थालेपछि सरकारले भिजिट भिसामा जानेहरूका लागि विभिन्न मापदण्ड बनाएर लागू गरेको छ । मापदण्ड पूरा गरेर मात्र भिजिट भिसामा विदेश जान पाइन्छ । तर पनि मानव तस्करी भने रोकिएको छैन ।
सेटिङ मिलाएर भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने क्रम बढेको गुनासो आइरहे पनि सरकारले यसलाई रोक्न नसकेको रोजगारविज्ञहरू बताउँछन् । आकर्षक रोजगारीको प्रलोभन देखाएर म्यानपावर र तिनका एजेन्टले भिजिट भिसामा युवा–युवतीलाई खाडीका देश हुँदै तेस्रो देश पठाउने गरेको गुनासो बढ्दै गएको छ । यो काम विमानस्थलका कर्मचारीको मिलेमतोबिना सम्भव नहुने जानकारहरू बताउँछन् ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत अध्यागमन कार्यालयका प्रवक्ता गणेश आचार्य त्यसलाई अस्वीकार गर्छन् । अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहयोग गरेको प्रमाण भए तत्काल कारबाही गरिने उनको भनाइ छ । केही महिनायता भिजिट भिसामा जाने नेपालीलाई कडाइ गर्न थालिएको आचार्यको भनाइ छ ।
फर्काइएकामा अधिकांश महिला
पछिल्लो समय फर्काइएका मध्ये अधिकांश महिला भएको अध्यागमनले जनाएको छ । अध्यागमनले फर्काएकामध्ये धेरै महिला पहिला नै यूएई गएर आएका छन् । उनीहरू भिजिट भिसामा फेरि त्यही काममा जान खोजेको विभागले जनाएको छ ।
मापदण्डविपरीत भिजिट भिसामा विदेशिन लागेका ३९ जना पुरुषहरूलाई प्रहरीले ८ भदौमा विमानस्थलबाट फर्काएको थियो । उनीहरू एजेन्टमार्फत रोजगारीका लागि यूएई हिँडेको अध्यागमन प्रहरीले जनाएको छ ।
गत साता १३ जना युवालाई कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाटै फर्काएको थियो । त्यस्तै, २० साउनयता यूएई हिँडेका ११४ जना युवतीलाई अध्यागमन प्रहरीले कागजपत्रमा शंका लागेपछि विमानस्थलबाट फर्काएको थियो । फर्काइएकामध्ये कतिपय महिला अहिले माइती नेपालमा छन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार २७ फागुनयता ४० हजार २५२ जना नेपाली भिजिट भिसामा यूएई गएका छन् । गत वर्ष ७१ हजार नेपाली भिजिट भिसामा यूएई पुगेको अध्यागनको तथ्यांक छ ।
फागुनयता कतार १ हजार ५२५ जना, साउदी १ हजार २१२ जना ओमान ८ सय, कुवेत ५२८ र बहराइन ३२२ जना नेपालीहरू भिजिट भिसामा गएको अध्यागमनको तथ्यांक छ । फागनुयता भिजिट भिसामा विदेशिने नेपालीमध्ये अधिकांश यूएई जाने रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १८:२३