लोकदोहारी क्षेत्रकी स्थापित गायिका हुन्, सुनिता दुलाल । झन्डै दुई दशकदेखि नेपाली गीत संगीतमा सक्रिय गायिका दुलालका दजनौं गीत चर्चित छन् ।
लोक स्टारको निर्णायकसमेत रहेकी दुलालका अब त मैले नि झुम्का लगाउँछु, तीज भनेकै नाच्न गाउन हो, नाचौं सरर’, फुलबुट्टे सारी, अलि फरक भाकी छु यसपालि’लगायत दर्जनौं तीज गीत चर्चित छन् ।
पछिल्ला केही वर्षयता तीज गीतमा मौलिकताभन्दा पनि अश्लीलता र भड्किलोपन बढ्दै गएको धेरैको गुनासो छ । तीज गीतमा अश्लीलता आएको हो ? तीज गीतले महिलाको संवेदनालाई कतिको छोएको छ ? यसै सेरोफेरोमा गायिका सुनिता दुलालसँग शिलापत्रले गरेको कुराकानीको सारसंक्षेपः
तीजको रौनक कतिको छाएको छ ?
पहिलेजस्तो मलाई तीज आएको अनुभूति भएको छैन र यो वर्ष तीजको शब्द संगीत भएको गीत सुन्न पाइएको छैन । यो वर्ष असारदेखि नै तीजका गीत रिलिज भए । तर, हँस्याैली र ठट्यौली खालका गीत मात्रै आएका छन् । कला र संस्कृतिलाई प्रतिनिधित्व गर्ने गीतहरु कमै आए ।
मलाई साउनको दोस्रो हप्तादेखि मात्रै तीज गीत आएजस्तो लाग्छ । मैले मेरा गीतहरु पनि चाँडै रिलिज गर्दिनँ । र, यो वर्ष पनि थुप्रै कलाकारले तीजका गीतहरु ल्याउनुभएको छ । तर, तीजको फ्लेबर सुन्न पाइएको छैन ।
पहिलेजस्तो तपाईंको तीजका गीतहरु सुन्न पाइँदैन नि ?
समयसापेक्ष परिर्वतन हुनुपर्छ । मैले यो वर्ष दुई वटा गीत रेकर्ड गराएँ । पहिलेजस्तो धेरै गीत गाएकी छैन । अहिले संख्यात्मकभन्दा गुणात्मकलाई ध्यान दिन थालेकी छु । पहिलेदेखि नै थोरै गीत गाउने राम्रो गीत गाउने भन्ने लाग्छ त्यसैले गीत गाउन कम गरेकी हुँ ।
म पहिलेदेखि नै ३–४ वटा तीज गीत गाउँथें । यो वर्ष दुई वटा गीत रेकर्ड गरेकी छु । याे गीतमा डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीत छ । यो एक दुई दिनमै रिलिज हुँदै छ ।
पहिलेका तीज गीतमा छोरी माइतीघरमा पीडा बोकेर दर खान गएकाे भाव पाइन्थ्याे । अहिले पार्टी प्यालेसमा बियर तान्दै तीज मनाउँछन् भन्ने गीतको सन्देश छ ।
त्यस्तै, छोरीलाई माइती आइन् भनेर दुःख मान्ने र बुहारी माइती जाँदाचाहिँ कति माइती गएकी होली भन्ने खालको व्यवहार हुन्थे । सन्देशमूलक लागेर गीत गाएकी छु । अर्काे पनि सन्देशमूलक गीत नै छ ।
तपाईंका पहिले चर्चित गीतहरु बजारमा आउँथे, अहिले कमै मात्रमा आउँछ । तपाईं अलि चुजी हुन थाल्नुभएको हो ?
मैले पनि शब्दहरुलाई ध्यान दिन थालेको छु । यो वर्ष मात्रै २५/३० वटा गीतहरुको अफर आएको थियो । नत्र सबै गाइहाल्थें त्यसैले गीतलाई छनाेट गरेर मात्रै गाएकी हुँ ।
अरुको भन्दा पनि आफ्नै तीज गीत गाउन मन लाग्छ । अरुको गीतको शब्द त्यति बुझ्न कठिन हुन्छ । त्यसैले पनि आफ्नै गीतहरु गाउन मन लाग्छ । मैले शब्दहरु सम्पादन गर्नुस् भन्दा उहाँहरुको मन दुख्ला भनेर तीजका आफ्नै गीतहरु गाउने गरेको छु । एउटाचाहिँ अरुको गीत रेकर्ड गरेकी छु । आफ्नोचाहिँ दुई वटा गरेकी छु ।
तपाईं लामो समयदेखि नेपाली लोकगीत संगीतमा हुनुहुन्छ । पहिले र अहिलेको तीजका गीतमा के कस्ता परिर्वतन भएका छन् ?
तपाईसँग यो कुरा गरिरहँदा म १० वर्षपहिलेका तीजका गीतका शब्द सम्झिन्छु । त्यो बेला महिलाको पीर, व्यथा वा वेदनाका टिपिकल गीतहरु सुन्न पाइन्थ्यो ।
साँच्चै, तीजका गीतहरु सुन्न पाउँदा तीज नै आएकाेजस्तो हुन्थ्यो । अहिलेचाहिँ यो पनि तीज गीत हो भन्ने सोचाइ आउँछ । किन यस्ता गीतहरु रचिएका होलान् जस्तो पनि लाग्छ ।
पहिलेको भन्दा संख्यात्मक रुपमा गीतहरू बढे पनि गुणात्मक गीत कमै रिलिज भएका छन् । अहिले प्रविधिसँगै विकृति पनि फैलिएको छ । तीजको गीत भन्दै अश्लीलता पनि भित्रिएको छ ।
किन यस्तो भइरहेको छ त ?
तीजको महत्त्व बिर्सिँदै गइएकाे छ । यो पर्वलाई लिएर अधिकाशंले व्यापारसमेत गरिरहेका छन् । गीत संगीत व्यापार मात्रै होइन, यसको आफ्नै महत्व हुन्छ । यस्तो व्यापारले हाम्रो संस्कृति मर्दै जान्छ । तीज महिलाको कथाको बोेकेको पर्व हो । अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । स्वच्छ प्रतिस्पर्धाले कमाएको पैसा र मान सम्मान मात्रै राम्रो हुन्छ ।
हँस्याैली ठट्यौलीजस्ता गीत तथा अश्लील शब्द र भिडियो सार्वजनिक गरिरहनुभएको छ । त्यो सस्तो लोकप्रियताका लागि तीजको महत्त्व नबुझेर गरिएकाे हाे । यसाे गर्नु हुँदैन ।
पछिल्लो समय कलाकारहरु ट्रेन्डिङमा ल्याएर पैसा कमाउनको लोभले व्यापार गर्न थालेका छन् । त्यसले नेपाली गीत र संस्कृतिका लागि हानि गर्छ ।
तीज महिलाका लागि विशेष महत्त्वको पर्व हो । पछिल्लो समय तीजका गीतले महिला संवेदनालाई कतिको छोएको छ ?
पछिल्लो समयमा देश तथा विदेशमा विभिन्न खालका तीज विशेष कार्यक्रम हुने गरेका छन् । यसले महिलाको आत्मविश्वास बढेको छ । महिला दिदीबहिनीबीच आत्मीयता कायम गरेको छ । यसले केही हदसम्म हाम्रो संस्कृतिलाई पनि जोगाउँछ । यो राम्रो पक्ष पनि हो ।
राम्रो पक्षसँगै नराम्रो पक्षहरु पनि नभएको हाेइन । अझै देशका कुनाकन्दराका महिलाका कथा उस्तै छन् । छोरी चेली माइती जान पाउँदैनन् । उनीहरुको पीडा उस्तै छ । त्यो कथा तीजका गीतमा हराउँदै गएका छन् । यो दुःख लाग्दो कुरा हो । पछिल्ला केही वर्षयता महिलाको संवेदनालाई छोएको तीज गीत कमै सुन्न पाइन्छ ।
अन्तिममा ?
महिलाको कथा व्यथामा उनिएकोे गीतभन्दा पनि भड्किलो गीतहरु मात्रै आएका छन् । साँच्चै, यस्तै हो भने लोक संगीतको मौलिकता नै हराउँछ । अब सर्जकले पनि यो कुरालाई ध्यान दिन जरुरी छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६ १९:१३