कञ्चपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ठीक एक वर्ष पूरा भएको छ । यसबीचमा प्रहरीले हत्याको आशंकामा पाँच सय बढीसँग सोधपुछ गरिसकेको छ भने ७० जनाभन्दा बढीको डीएनए परीक्षणसमेत भएको छ ।
तर, अनुसन्धान भने जहाँको त्यहीँ छ । यही विषयमा केन्द्रित रहेर केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलसँग शिलापत्रका लागि कृष्णसिंह लोथ्यालले गरेको कुराकानी :
निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । अपराधी अझै पत्ता लागेको छैन । प्रहरीले कसरी अनुसन्धान गरिरहेको छ ? अनुसन्धान कहाँ पुग्यो ?
यसको अनुसन्धान कहाँ पुग्यो भन्दा पनि जारी छ, अनुसन्धानकै क्रममा छौं । अनुसन्धानका क्रममा हाम्रो अधिकतम साधन, स्रोत र जनशक्ति परिचालन गरिएकाे छ ।
प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । यसको निष्कर्षका लागि प्रहरी प्रयासरत छ ।
एक वर्षसम्म प्रहरीले अपराधी पत्ता लगाउन सकेन, यसलाई प्रहरीको असफलता भन्दा हुन्छ ?
होइन, नेपाल प्रहरीले १०–१२ वर्षपछि पनि ठूला–ठूला अपराधका घटनाका दाेषाी पत्ता लगाएको छ त्यसैले कहिलेकाहीँ अनुसन्धानको जटिलताले एक वर्षको अवधि भनेको केही पनि होइन । त्यसभन्दा धेरै पनि लाग्न सक्छ त्यसैले एक वर्षमा पत्ता लागेन, दुई वर्षमा पत्ता लागेन, तीन वर्षमा पत्ता लागेन, नेपाल प्रहरी गर्न सकेन भन्ने हिसाबले हेर्नु हुँदैन । त्यो सत्य होइन ।
काठमाडौंको रानीबारी हत्याकाण्ड हेर्नुहोस्, ललितपुरको बडिखेलको घटना हेर्नुहोस् । हामीले पत्ता लगायौं । केही घटनाको अनुसन्धान जटिलताका कारण समय लागे पनि नेपाल प्रहरीले पत्ता लगाएरै छोड्छ त्यसैले अहिले नै सफलता र असफलतातिर जोड्नु हुँदैन ।
भनेपछि निर्मला हत्याका अपराधी पत्ता लाग्न पनि रानीबारी र बडिखेलको जस्तै समय लाग्न सक्छ भन्न खोज्नुभएको हो ?
यसरी पनि नबुझौं । समय यत्ति नै लाग्न सक्छ भन्न सकिन्न । तर, पत्ता लगाउँदैन भनेर शंका गर्नुपर्ने जरुरी छैन, पत्ता लगाएर छोड्छौं ।
अपराधी पत्ता नलाग्नुको कारण के हो ? प्रहरी कसरी चुक्यो ?
प्रहरी चुक्यो भन्ने नै छैन । पत्ता लाग्छ । प्रहरीले अनुसन्धानमा एउटा बाटो समातिसकेको छ । प्रहरीले अब त्यो बाटोबाट अगाडि बढ्दै जाँदा खेरी केही समय लिन्छ । समयको प्रतीक्षा गर्नैपर्छ ।
अनुसन्धानमा राजनीतीकरण भयो भन्ने छ नि ? अपराध अनुसन्धानमा कसरी राजनीतीकरण भयो ?
सबै नागरिकले आफ्नो व्यक्तित्व समाजमा पहिचान गराउने अवसर र प्लेटफम खोज्छन् । अब त्यो सहज छैन् । यस्ता किसिमका घटनामा मानिस प्लेट फम खोज्ने गर्छन् र आफू चर्चामा आउन खोज्छन् । यो घटनामा पनि त्यस्तै प्रवृत्ति देखियो त्यसैले कठिन भएको हो ।
पीडितको पक्षमा बोलेकाे जस्तो गर्ने तर भित्री मनसाय आफू कसरी चर्चामा आउने भन्ने देखिन्छ त्यसकारण अनुसन्धानमा कठिनाइ भयाे । आफू चर्चामा आउने उद्देश्यले केही व्यक्तिले यस्तो गरेका छन् त्यसकारण अनुसन्धानमा अप्ठ्यारो परिस्थिति सिर्जना भएकै हो ।
एक वर्षको अवधिसम्म शंकास्पद व्यक्तिमाथि कसरी सोधपुछ भइरहेको छ ? कति जनासँग सोधपुछ गर्नुभयो ?
संख्याको कुरा मुख्य होइन, हामीले विभिन्न तरिकाले संदिग्ध व्यक्तिमाथि सोधपुछ जारी राखेका छौं । डीएनए परीक्षण गरेर घटनाको अनुसन्धान साँघुराे बनाउँदै छाैं ।
त्यसलाई खुला नै राख्ने हो भने अपराधीसम्म पुग्न र उसलाई कारबाहीको दायरामा ल्याउन सकिँदैन त्यसैले विभिन्न तरिकाले अनुसन्धान भइरहेको छ । आवश्यकताअनुसार नै भएको छ ।
हत्यारा पत्ता नलाग्नुको पछाडि डीएनए पनि एक हो । निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबमै त्रुटि छ । डीएनए परीक्षणमै पनि केही प्राविधिक कमजोरी भयो भनेर मानवअधिकार आयोगले भनिसकेको छ नि ?
होइन, अनुसन्धानकै क्रममा त्यस्तो दृष्टिकोण राखियो भने त्यसले अनुसन्धानलाई झनै मिसलिड गर्छ त्यसैले हामीले त्यो चिज भन्दा पनि हामीसँग भएका साधन, स्रोत र हामीले गरेका अनुसन्धानका विषयलाई विश्लेषण गरेर अनुसन्धानलाई साँघुरो पारेर निष्कर्षमा पुग्ने हो ।
क–कसले, कुन–कुन आयोग वा समितिले के भन्यो भन्दा पनि नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने मुख्य विषय हो । आफ्नो क्षमता र व्यावसायिकतालाई अधिकतम प्रयोग गरिरहेकाे छ ।
यसबाट नै एउटा निष्कर्ष निस्किने हो र सबैले भोलि नेपाल प्रहरीको क्षमतालाई झन् विश्वास गर्ने वातावरण बन्ने छ ।
अनुसन्धान गर्न प्रहरीसँग भेजिनल स्वाबबाहेक अरु प्रमाण छैन । त्यसमा पनि त्रुटि छ भनिएको अवस्थामा अब कसरी पत्ता लाग्ला ?
तपाईंको जस्तै अपराधी पत्ता नलागेसम्म कसरी लाग्छ भन्ने कौतूहलता सबैको छ । यता हेर्दा पनि केही कुरा आएको छैन । उता हेरे पनि केही कुरा आएको छैन भन्ने देखिन्छ ।
हिजो रानीबारी हत्याकाण्डका विषयमा पनि मानिसले कसरी पत्ता लाग्छ र ? केही पनि प्रमाण छैन भन्थे । तर, पत्ता लाग्यो त । त्यसको पछाडि निरन्तर लाग्ने हो भने परिणाम आउँछ । यसमा पनि त्यही हुन्छ ।
अभियुक्त भन्दै प्रहरीले एकपटक दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । डीएनए परीक्षणपछि उनी छुटे । मानवअधिकार आयोगले डीएनएमा त्रुटि छ भनिसको छ । प्रहरीको अनुसन्धान अब दिलिपमाथि हुन्छ कि हुँदैन ?
अहिले हामीले गरेको अनुसन्धानका विषय र प्रक्रियालाई सबै बाहिर ल्याउने हो भने विभिन्न टीकाटिप्पणी सुरु हुन थाल्छ । लेख्न थाल्छन्, बोल्न थाल्छन् । त्यसले फेरि अनुसन्धानमा मिसलिड गर्छ ।
अर्को कुरा अनुसन्धानका क्रममा के भइरहेको छ भनेर सबै भनिहाल्ने कुरा पनि होइन । हामी अनुसन्धानमै छौं, केही महत्त्वपूर्ण उपलब्धि हासिल गरिसकेका छौं । यसको निष्कर्षमा नेपाल प्रहरी पुग्छ, पुगेरै छोड्छ त्यसैले अहिले व्यक्तितिर नजाऔं ।
पछिल्लो समय दिलिप नै हो भन्ने धारणा बन्दै गएको छ भन्ने छ नि ?
होइन प्रहरीले धारणा बनाउने कुरा हुँदैन । यो सम्भावना हो, यो होइन भन्ने कुरा पनि होइन । हामी यस्तो भन्दैनौं पनि ।
अनुसन्धानको विषयमा एकपछि अर्को प्रमाण समात्ने, अर्कोबाट अर्को समात्ने, एक पछि अर्को गर्दै जसरी व्यक्तिका हिँड्ने पाइलाहरु हुन्छन्, त्यसरी नै अगाडि बढ्ने हो । प्रमाणले कसैलाई अभियुक्त देखायो भने कोही छुट्दैन ।