कैलालीको धनगढी उपमहानगरपालिका– ८ धनगढीगाउँका खुशीराम चौधरी बिहान खेतमा खुसी हुँदै काम गर्दै थिए । असार महिनाभरि पानी नपरेर हैरान भएका उनी बुधबार बिहान वर्षा भएपछि खुसी भएका छन् ।
असारमा जसोतसो गरेर बोरिङको पानीले धान रोपाइँ गरेका किसानलाई पानी नपरेपछि धान सुक्छ कि भन्ने चिन्ताले सताएको थियो । एक बिगाह जमिनमा धान खेती गरेका खुशीरामलाई असारमा पर्याप्त पानी नपरेपछि धेरै खर्च गरेर खेती गर्नुपरेको थियो ।
‘असारमा जसोतसो धान रापेका थियौँ । तर, त्यो धानलाई बचाउन सकिँदैन भन्ने चिन्ता थियो, आज पानी परेपछि अलि सहज भएको छ', उनले भने । असारमा पानी नपरेकै कारण महँगो डिजेल हालेर बाेरिङमार्फत पानी लगाएको उनको भनाइ छ ।
धनगढी १२ जुगेडाका ध्रुवराज जोशीले १५ कट्ठा जमिनमा धान रोपेका छन् । समयमै पानी नपेरपछि बाेरिङको पानीले धान रोपाइँ गरेका उनलाई साउनको पहिलो साता परेको वर्षाले बाली सप्रिन्छ कि भन्ने आशा जागेको छ ।
धनगढी ९ बंगराकी बासमती चौधरीले पनि वर्षा भएपछि धानखेती सप्रिने भन्दै खुसी छिन् । ‘पानी नपरेपछि चर्को गर्मीका कारण धान सबै पहेँलै हुन थालेका थिए, अब पानी परेपछि सहज भयो,’ उनले भनिन् । असारमा पानी नपरेपछि १० कट्ठा जमिनमा करिब १० हजार खर्च गरेर बोरिङबाट पानी लगाएको उनले बताइन् ।
कहिले पानी नपरेर कहिले पानी बढी भएर किसानलाई समस्या हुने गरेकाे उनी बताउँछिन् । हिसाब किताब गरियाे भने खर्च र उत्पादन बराबरै हुने उनले बताइन् ।
धनगढीगाउँका रामप्रशाद चौधरीले असार महिनाभरिको चर्को घामले धान पुरै पहेँलै भएकाे बताए । ‘एकदुई दिन लगातार पानी परेपछि धान सप्रिने थियो', उनले भने । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यसवर्ष कैलालीमा ६७ हजार चार सय ३६ हेक्टरमा धान रोपाइँ गरिएको छ । सूचना अधिकारी जनकराज बोहरा भने, ‘लामो समयसम्म पानी नपर्दा चर्को घामका कारण रोपिएको धान सुक्न थालिसकेको थियो । पानी परेपछि केही राहत भएकाे छ ।’
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १०:३४