देश छाेडेर भागेका श्रीलंकाली पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर पुगेका छन् । देशमा जारी आर्थिक संकटमा जिम्मेवार ठहर्याउँदै आफूविरुद्ध उत्रिएका जनताबाट जोगिन उनी गत बुधबार बिहानै देश छाेडेर माल्दिभ्सको राजधानी माले पुगेका थिए । त्यहाा एक दिन पनि पुरा नबसी बुधबार राती नै उनी सिङ्गापुर पुगेका हुन् ।
आफ्नै देशभित्र असुरक्षा भएकोमा त्रसित राजापाक्षलाई भाग्नका लागि श्रीलंकाको सेनाले नै सहयोग गरेको थियाे । सेनाकै सहयोगमा जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन् । यसअघि उनकै अर्का भाइ तथा पूर्वअर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको थियाे । तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतीमा माल्दीभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ ।
सेनाले आफूखुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ । राजापाक्षसँगै उनकी श्रीमती र दुई अङ्गरक्षकसमेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् । उनीहरू चारैजनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो ।
हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ । प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्र्यु पनि लगाइएको छ । प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्याँस प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।
विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएका श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ । तर श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ ०७:१८