मकवानपुरको थाहा नगरपालिका– ६, वज्रबाराहीका सशिन कर्माचार्य व्यावसायिक चेरी टमाटर खेतीमा व्यस्त छन् । उनले इजरायलमा कृषिसम्बन्धी अध्ययन र रोजगारी गर्दा सिकेको सीपलाई नेपालमा चार वर्षदेखि सदुपयोग गर्दै आएका छन् ।
इजरायलमा आफू रोजगारीमा कार्यरत हुँदा कम्पनीले १२ हजार चेरी टमाटर दानाको बिउ उपहारस्वरुप दिएको थियो । त्यही चेरी टमाटर नेपालमा उत्पादन गर्न थालेका हुन् सशिनले ।
कर्माचार्यले उनीसहित पाँच जनाको सहयोगमा ‘एगभानिया एग्रो फार्म’ दर्ता गरी थाहा नगरपालिकाको माझगाउँमा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
फार्ममा टमाटर, काउली, क्याप्सिकम, क्राँको र भेडे खुर्सानी उत्पादन गरिरहेको उनले बताए । ‘इजरायलमा हिब्रु भाषामा गोलभेँडालाई ‘एगभानिया’ भनिन्छ । त्यसैले सोही नामबाट फार्मको नाम जुराएँ,' उनले भने, 'इजरायलमा कृषिसम्बन्धी अध्ययन गरेर फर्किएपछि जापान र यूएईबाट फर्किएर यहीँ बसेर व्यापार–व्यवसाय गर्दै आएका दुई युवालाई साथमा लिएर अहिले कृषि व्यवसाय गरिरहेको छु,’ कर्माचार्यले भने ।
उनले आफ्नो फार्ममा लाम्चो आकारका पहेँला, राता र सुन्तला रङका गोलभेँडा उत्पादन गरिरहेका छन् । अधिकांश काठमाडौँमा अनलाइनबाट बिक्री भइरहेको उनको भनाइ छ ।
चेरी गोलभेँडा प्रतिकेजी १ सय २० देखि २ सय ७० रुपैयाँमा फार्मबाटै बिक्री हुने गरेको उनी बताउँछन् । अनलाइनबाट माग गर्नेलाई धेरै परिमाणमा बिक्री गर्दा केही कम मूल्यमा र खुद्रा बिक्री गर्दा केही बढी मूल्यमा बिक्री गर्दै आएको उनले बताए । उनको फार्ममा तीनै रङका गोलभेँडा उत्पादन हुने गरेका छन् ।
गत वैशाखमा पाँच सय गोलभेँडाका बिरुवा तीनवटा टनेलमा लगाएकोमा गत वर्षको उत्पादनका आधारमा प्रतिबोट पाँच केजीभन्दा बढी फल्दा ३ हजारदेखि ३५ सय केजीसम्म एक सिजनमा उत्पादन हुने उनको अनुभव छ ।
इजरायलमा यही जातिको बिउबाट प्रतिबोट २० केजीसम्म गोलभेँडा उत्पादन हुने र बोट अग्लो हुने भएकाले व्यवस्थापन गर्न समस्या हुनेगरेको अनुभव उनले सुनाए ।
एक दाना गोलभेँडाको बिउलाई ४०/४५ रुपैयाँसम्म पर्छ । विदेशमा यही जातको गोलो आकारको गोलभेँडाको माग बढी हुन्छ । नेपालमा भने गोलो गोलभेँडा कम बिक्री हुने गरेको उनले बताए ।
‘नयाँ प्रजातिको गोलभेँडा खेती गर्ने प्रयास र परीक्षण सफल भयो । बजारको माग हेरेर अर्को वर्षबाट अलिक बढी क्षेत्रफलमा अन्य खेती विस्तार गर्ने योजनामा छु । यो सिजनमा २ सय केजी चेरी गोलभेँडा बिक्री भइसकेको र अरू धमाधम निस्किँदै छ,’ कर्माचार्यले भने, ‘टमाटरसँगै रातो, हरियो र पहेँलो रङको भेडे खुर्सानी उत्पादन गरी सुरुमा प्रतिकेजी १ सय ७० रुपैयाँमा फार्मबाटै बिक्री गर्दै आएको छु । धेरै उत्पादन भएको बेला फार्ममा आउने ग्राहकलाई प्रतिकेजी ७० रुपैयाँमै समेत बिक्री गर्छौं ।’
हाल, ७५ वटा टनेलमा निजी रूपमा सरिता जातको गोलभेँडा उत्पादन हुने तयारीमा छ । गत चैतबाट जेठसम्म फरक–फरक समयमा लगाएको ८० टनसम्म गोलभेँडा उत्पादन हुने र अहिले सरिता जातको टमाटर दिनैपिच्छे प्रतिकेजी ३०–३५ रुपैयाँमा सय केजीभन्दा धेरै बिक्री भइरहेको कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार चेरी गोलभेडा खाँदा मुखै रसिलो हुन्छ । सुरुमा केही अमिलो, पछि अमिलो–गुलियो दुवै स्वाद आउँछ । पाकेपछि गुलियो स्वाद आउँछ । यो टमाटरलाई इजरायलमा सलादको रूपमा धेरै प्रयोग गरिने कर्माचार्यको भनाइ छ ।
चेरीको रङ मात्र फरक होइन, १२ आकारको गोलभेँडा फल्ने बिउ आफ्नो फार्ममा रहेको उनको भनाइ छ । बिउसमेत रङ र आकारअनुसार फरक हुन्छ । सबै टमाटर राम्रै उत्पादन भइरहेको र बजारमा मागसमेत बढिरहेको उनले जानकारी दिए ।
फार्म सञ्चालनका लागि करोडभन्दा माथि नै लगानी पुगेको छ । सुरुवाती चरणमै भएका कारण आयस्रोतभन्दा पनि कृषि व्यवसायलाई टिकाउन र प्रविधिमैत्री भएर काम गर्न प्रयासरत भइरहेको उनी बताउँछन् ।
सबै खर्च कटाएर तरकारीको सिजनमा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुन्छ । तर, आयस्रोत पनि फार्ममै लगानी गरिरहेको उनले जानकारी दिए ।
उनको फार्ममा पाँच जना सहयोगी कामदार छन् । नेपाल कृषि प्रधान देश मात्र होइन, विश्वको कृषि अध्ययन देश पनि बन्न सक्ने उनको बुझाइ छ । नेपालमा उत्पादन भएको कृषि सामग्री विश्वबजारमा व्यापार गर्न सकिने र यसका लागि आधुनिक खेतीका किसानलाई सरकारले तालिम दिनुपर्ने उनको सुझाव छ ।
अनुदान र कृषिमा योजना बनाएर मात्र यो क्षेत्रमा परिवर्तन नहुने, कृषिलाई अर्थतन्त्रको पाटो बनाउन हरेक स्थानीय तहमा कृषिसम्बन्धी तालिम केन्द्र खोल्नुपर्ने कर्माचार्य बताउँछन् । अझै पनि नेपाली किसानहरू परम्परा खेतीमै अल्झिएको उनको बुझाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ ०६:२८