मनसुन चाँडै सुरु भएपछि देशभरका किसानलाई धान रोपाइँको चटारो छ । एकातिर मनसुन समयमा सुरु भएपछि धान रोपाइँ सुरु गर्नुपर्ने बाध्यता छ । अर्कोतिर समयमा मल नपाएका कारण रोपेको धान खेतमै मर्ने हो कि भन्ने त्रासमा छन् किसान ।
शनिबार धादिङको धार्केमा किसानले रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुईवटा ट्रकबाट मल खोसेर लगे । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल खोसेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौँदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरूले ट्रक रोकेर मल खोसेको विभागले जनाएको छ ।
गत वर्ष पनि किसानले चितवन, विराटनगर र पर्साका कृषि केन्द्रहरूले खरिद गरेर ल्याएको मल बाटोमै गाडीबाट खोसेका थिए । धान रोप्ने समयमा मल नपाएपछि किसानले बर्सेनि कृषि केन्द्रबाट मल खोस्दै आएका छन् । तर, सरकारले विकल्प भने खोज्न सकेको छैन ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र २ लाख मेट्रिकटन रासायनिक मल (डीएपी र युरिया) आवश्यक पर्छ । हाल सरकारसँग ५० हजार मेट्रिकटन मल पनि मौज्दात छैन । कृषि मन्त्रालयको अध्ययनअनुसार वार्षिक ८ लाख मेट्रिकटन मल खपत हुने गर्छ ।
अन्तर्राष्ट्रिय बजारमै मल अभाव
सरकारले असार अन्तिमसम्म १ लाख ५० हजार मेट्रिकटन रासायनिक मल भारतसँग भएको जीटुजीको माध्यमबाट ल्याउने बताउँदै आएको छ । भारतमा धान रोपाइँसँगै मौसमी तरकारी खेती सुरु भएका कारण मलको अभाव भइरहेको छ ।
पछिल्लो समय रुस–युक्रेन युद्धका कारण रुसबाट भारत आउने मलमा ४० प्रतिशत गिरावट भएपछि टेन्डरमार्फत मल खरिद गर्दै आएको कम्पनीले बताइरहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मलमध्ये १७ हजार मेट्रिकटन डीएपी मल गत साता ल्याएको छ ।
२२ हजार मेट्रिकटन युरिया मल आगामी असारको पहिलो दोस्रो सातामा आउने कर्पोरेसनले जनाएको छ । कर्पोरेसनको गत माघ महिनादेखि रित्तो गोदाममा यही सातामा मल भित्रिएको थियो ।
कर्पोरेसनले २० हजार मेट्रिकटन डीएपी र २२ हजार मेट्रिकटन मलसहित १ लाख मेट्रिकटन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । जसमा ३ हजार मेट्रिकटन भारतको कोलकाता बन्दरगाहमा आइसकेको कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेश झालेले जानकारी दिए ।
यस्तै, रासायनिक मलको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीले खरिद गर्ने ५० हजार मेट्रिकटन युरिया असारको दोस्रो साता मात्र नेपाल भित्रिने बताए पनि हालसम्म मल नै खरिद नभएको कम्पनीका एक कर्मचारी बताउँछन् ।
साथै, २० हजार टन डीएपी असारको तेस्रो हप्तादेखि खरिद प्रक्रियाअनुसार ल्याइने बताइए पनि अन्तर्राष्ट्रिय बजारमा मल नपाएपछि खरिद प्रक्रिया नै अघि नबढेको उनको भनाइ छ ।
हाल कृषि सामग्री कम्पनीसँग १५ हजार मेट्रिकटन मल मौज्दात छ । यो पनि यही साता सकिँदैछ । असार तेस्रो साता मल नभित्रिए गोदाम रित्तिने कम्पनीले जनाएको छ ।
दुई साताअघि कृषि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जीटुजीमार्फत भारतबाट ल्याउने भनिएको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डीएपी मल असार मसान्तसम्म आउने बताए पनि यो मल आउन साउन महिना लाग्ने भएको छ ।
मल खरिद गर्दै आएका टेन्डरवाला कम्पनीले भारतमा मल खरिद गर्न नपाएर टेन्डर किन गरिएछ भन्दै बसेको कृषि सामग्री कम्पनीका ती कर्मचारीले जानकारी दिए । ‘सरकारको नेतृत्वमा बसेका व्यक्ति मल आउँछ भनेर किसानलाई आश्वासन बाँडछन् । तर, भारतीय बजारमा मलको अभाव भएको विषयमा जानकारी लिँदैनन् । किसान मल आउँछ भनेर कृषि केन्द्र दिनहुँ धाउँछन्,’ उनले भने ।
असार मसान्तमा आउने भनेको मल अहिलेसम्म खरिद भएको छैन । जसका कारण असारमा मल आउने सम्भावना कम भएको उनको भनाइ छ ।
कोरोनाले विश्वव्यापी रूपमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय रूपमा मलको उत्पादन कम र माग धेरै भएका कारण आपूर्तिमा समस्या भइरहेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
मूल्यवृद्धि, समयमा मल सप्लाई नहुनु र रुस–युक्रेन युद्धलगायतका कारण विश्वबजारमा रासायनिक मलको आपूर्ति समयमा भएको छैन । नेपालमा पनि त्यस्तै समस्या देखिएको कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए । ‘सरकारले मलको आपूर्ति गर्न सकेजति संयन्त्र प्रयोग गरिरहेको छ । मल ल्याउन दैनिक छलफल र सम्बन्धित पक्षसँग पहल भइरहेको छ,’ उनले भने । मलको समस्या समाधान गर्न मन्त्री र सचिवस्तरबाट सबै उपाय लगाइरहेको उनको भनाइ छ ।
समयमै मल आयातका लागि सम्बन्धित निकायले टेन्डर गरे पनि अन्तर्राष्ट्रिय बजारमै मल अभाव भएका कारण भनेको समयमा मल खरिद गरेर ल्याउन नसकिएको उनी स्वीकार्छन् ।
सरकारले रासायनिक मलको समस्या समाधान गर्न नेनो ब्रान्डको युरिया मलको विकल्प अघि सारेको छ ।
१ लिटरको ८ सय रुपैयाँ पर्ने र यसले १ बिघा जग्गालाई पुग्ने भएकाले आयातको प्रक्रिया अघि बढेको कृषि मन्त्रालयले जनाएको छ । गत साता संसदको बैठकमा जानकारी गराउँदै कृषिमन्त्री महेन्द्रराय यादवले भारतबाट ५० लाख लिटर आयात गर्न लागिएको बताए । उनले तत्काल ६१ हजार लिटर, वीरगञ्ज र विराटनगरबाट भित्रिएको उनले जानकारी दिए ।
किसानलाई मल प्रदान गर्न खडा भएका देशभरका सरकारी डिपो सबै मलविहीन छन् । मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सासंदको बैठकले गत आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन रुलिङसमेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १३:०८