बुटवलका एक युवाले ब्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । बुटवलका अंकित बराइलीले कार बनाएका हुन् । २२ वर्षीय बराइलीले स्पोर्टस् मोडलको कार २ वर्ष लगाएर बनाएका हुन् । उनले उक्त कारलाई ‘ड्रिम कार’ नाम दिएका छन् । उनले कारलाई अन्तिम स्वरुप दिन अझै समय लाग्ने बताएका छन् ।
रुपन्देहीको रुद्रपुरमा जन्मेका बराइली विगत १५ वर्षदेखि बुटवलमा बस्दै आएका छन् । २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका बराइलीले कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा तीन वर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कोर्स पढेका हुन् ।
बराइली आफैंले कारको स्वरुप डिजाइन गरेर यसको चेसिस, फेब्रिकेसन र सस्पेन्सन सिस्टम जडान गरेर कार बनाएका हुन् । ब्रेक र स्टेरिङ पनि आफैंले बनाएका हुन् ।
ग्राउन्ड क्लियरेन्स १ सय ५० एमएम, साढे ३ मिटर लम्बाइ, १.२५ मिटर उचाइ र ४५ इन्च चौडाइ भएको यो कार दुई सिट क्षमताको छ । कारको डिजाइनलाई मूर्तरुप दिन बराइलीले चेसिसलाई एक वर्षसम्म विशेष प्रकारको माटोले पुरेर आकार निकाली इबर ग्लासको ‘बडी’ बनाएका छन् ।
उनले कार निर्माणका क्रममा निकै दुःख भोग्नुपरेको अनुभव सुनाए ।
‘सरकारबाट कुनै सहयोग पाइएन, सामग्री खरिद गर्दा बिल पनि दिँदैन,’ उनले भने । विद्युत् र पेट्रोल दुवैबाट चल्ने यो कार प्रतिघण्टा करिब ४० किलोमिटर गुड्ने बराइली बताउँछन् ।
स्थानीय स्तरमा उपलब्ध लेथ मेसिनको प्रयोगबाट वेल्डिङ र वायरिङ गरेर कार तयार गरेको बराइलीले बताए । चार वटै पांग्रामा ब्रेक सिस्टम राखेका उनले यो कारलाई उकालोमा पनि कुदाएका छन् । बुटवलको सबैभन्दा उकालो सडक लक्ष्मीनगर र हिलपार्कको डाँडोसम्म चालकसहित दुई जनालाई कारले सजिलैसँग पुर्याएको बराइली बताउँछन् ।
कार बनाउन अहिलेसम्म करिब ६ लाख रुपैयाँ मात्र खर्च भएको र फिनिसिङसहित अन्तिम रुप दिन अझै २ लाख रुपैयाँ जति लाग्ने उनको भनाइ छ ।.jpg)
प्रकाशित मिति: बिहिबार, साउन २, २०७६, ०८:४५:००