देशकै ध्यान खिचेको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजालीसहितको बार लगाइएको छ । चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको ब्लक ‘सी‘ मा हुने मतगणनास्थललाई सुरक्षित बनाउन फलामको बार लगाइएको हो ।
अघिल्लो स्थानीय चुनावमा मतगणनास्थलमै मतपत्र च्यातिएपछि यसपाली थप मजबुत बनाइएको छ । २०७४ सालको स्थानीय चुनावमा भरतपुर १० मा रहेको कभर्डहलमा मतगणना गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकृत पुरुषोत्तम पौडेलका अनुसार मतगणनास्थलको आवश्यक सुरक्षा र भौतिक पूर्वाधारको तयारी पूरा भएको छ ।

मतगणनास्थल र बाहिरी परिसर क्षेत्रलाई कैद गर्ने गरेर आठवटा सीसी क्यामेरा जडान गरिएको पौडेलले बताए । बत्ती जान नदिन, मतपत्र सुरक्षित राख्न र अवान्छित गतिविधि हुन नदिन आफूहरू सचेत रहेको उनले बताए । मतपेटिका आइसकेपछि सुरुमा एउटामात्रै गणक टोलीले मतगणनाकाे सुरुवात गर्ने उनले बताए ।

‘पहिलो दिन एउटा टोलीबाट सुरु गर्छौं । त्यसलाई बढाएर आठवटा गणक टोलीले मतगणना गर्ने गरी तयारी गरेका छौँ’, उनले भने । भरतपुरका २९ वडाकै मतपरिणाम एक हप्ताभित्र आइसक्ने गरी तयारी थालिएको उनले जानकारी दिए ।
भरतपुरमा महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् । भरतपुरमा महिला मतदाताको संख्या ९६ हजार ८ सय ६७ रहेको छ भने ८८ हजार ८ सय ८४ पुरुष रहेका छन् । यस्तै एक जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १३:१७