अहिले नेपाललाई श्रीलङ्कासँग तुलना गर्न थालिएको छ । पहिले अमेरिकी सहयोग परियोजना (एमसीसी) मा श्रीलंकाले अवलम्बन गरेको बाटोको विषयमा । अहिले श्रीलङ्काको आर्थिक परिदृश्यका कारण ।
श्रीलङ्काले एमसीसी फिर्ता गरेपछि राष्ट्रियताको महत्त्व श्रीलंकाबाट सिक्नुपर्ने एक थरीका विज्ञहरूको भनाइ थियो । एमसीसी परियोजना संसदबाट टुंगो लाग्नुअघि यो विषयमा निकै चर्चा भयो । जति बेला यो देशको आर्थिक अवस्था अहिलेको जस्तो दूर-अवस्था थिएन ।
अहिले राष्ट्र बैंक, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग वा अन्य निकायहरूमा समेत श्रीलङ्काको विषयमा उठान भएको छ । कारण त्यो देशको आर्थिक दूरावस्थाले । पछिल्लो समय चोक चौतारामा पनि नेपालको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुन थालेको हो भनेर बहस चल्न थालेको छ । विज्ञहरूले मात्रै होइन, नेपाल राष्ट्र बैंकले समेत अर्थ मन्त्रालयलाई श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिकेर समयमै उचित कदम चाल्न आग्रह गरेको छ ।
श्रीलंका गहिरो आर्थिक संकटमा फसेको र त्यस्तै अवस्था नेपालमा पनि आउन सक्ने विषयमा चिन्ता तथा विश्लेषण गर्न थालिएको छ । शोधनान्तर स्थिति अधिक ऋणात्मक हुनु र विदेशी विनिमय सञ्चिति उच्चदरमा घट्दै जानु चिन्ताको विषय बनेको छ । अहिलेको समस्याको मुख्य जड उच्च आयात नै हो । त्यसैले अर्थतन्त्रको सम्भावित संकट टार्न आयातमा झनै कडाइ गर्नुपर्ने देखियो,' सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर राष्ट्र बैंकका अधिकारीहरूले भनेका कुरा एक सीईओले सुनाए ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अहिलेको अवस्थाबाट सबै सचेत हुन आवश्यक रहेको बताए । 'अहिले हामी नियामक, सरकार, उद्योगी-व्यवसायी र स्वयम् जनता पनि सचेत बन्नुपर्ने बेला आएको छ । यस्तो शिक्षा लिन श्रीलंका काफी छ,' उनले शिलापत्रसँग भने ।
श्रीलंकाका लागि पूर्वराजदूत प्राडा विश्वम्भर प्याकुरेल श्रीलंकाको अहिलेको अवस्थामा आउनुअघिका धेरै पराकम्प पहिल्यै आएको बताउँछन् । 'अहिले श्रीलङ्काको जुन अवस्था आएको छ, त्यो एक महिना दुई महिनाको समस्या होइन, लामो समयदेखि यस्तो अवस्था आउन सक्ने संकेत देखिएको थियो,' प्याकुरेलले शिलापत्रसँग भने, 'समयमै उचित कदम नचालिँदा अहिले अत्यन्तै नाजुक अवस्थामा पुग्यो ।'
अहिले श्रीलंकामा मूल्य वृद्धिदर नियन्त्रणबाहिर छ । विदेशी वस्तु तथा सेवाका लागि १ महिना पुग्ने पनि सञ्चिति छैन । विदेशी ऋणको ब्याज तिर्नसमेत सकेको छैन ।
प्याकुरेलले केलाएका समानता
- श्रीलंकाले जुन गतिमा सार्वजनिक ऋण बढाएको थियो । नेपालको पनि त्यही गति रहेको छ । २०१९ अघि श्रीलंकाको पनि कुलगार्हस्थ्य उत्पादनको ६० प्रतिशत ऋण थियो । अहिले बढेर १०७ प्रतिशत पुगेको छ । नेपालको सन् २०१९ सम्म २७.२ प्रतिशत सार्वजनिक ऋण थियो । २०२१ सम्ममा ९ प्रतिशतले बढेर ३६.४ र पछिल्लो १ वर्षमा थप ६ प्रतिशतले बढेर ४२ पुगेको छ ।
- श्रीलंकाको मुख्य वैदेशिक मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन थियो । २०१९ को टेरिस आक्रमणपछि त्यहाँ पर्यटकीय गतिविधि घट्दै गए । नेपालमा पनि वैदेशिक मुद्रा आर्जन गर्ने भरपर्दो क्षेत्र पर्यटन हो । आतंककारी हमला नभए पनि पर्यटकीय गतिविधि निकै सुस्त छ ।
- स्वदेशी मुद्रा कमजोर भएका कारण श्रीलंकाको वैदेशिक ऋणको दायित्वको चाप थप बढेको हो । नेपाली मुद्रा अबमूल्यन हुँदा नेपालमा पनि अवस्था त्यस्तै छ । ११८ रुपैयाँ डलरको मूल्य हुँदा लिएको ऋण अहिले हामीले १२१ रुपैयाँमा तिरेका छौँ ।
- वैदेशिक सञ्चिति घटेपछि त्यहाँ पनि आयात बन्देज लगाइएको थियो । पछि मूल्य वृद्धिदर थग्नै गाह्रो भयो अहिले नेपालको अवस्था पनि त्यस्तै देखिएको छ ।
- वैदेशिक कूटनीतिक कमजोर भएको कारण समन्वयन गरेर काम गर्न श्रीलंकाले सकेन नेपालको पनि अवस्था त्यस्तै छ ।
- आर्थिक मुद्दालाई सरकार र संसदले बेवास्ता गर्यो नेपालमा पनि अवस्था त्यस्तै छ ।
असमानता
- वृद्धिदरको गति उस्तै देखिए पनि नेपालमा श्रीलंकाको तुलनामा नेपालमा वैदेशिक ऋण निकै कम छ ।
- श्रीलंकाले व्यावसायिक ऋण उच्च ब्याजमा दुई पक्षबाट लिए पनि नेपालले त्यस्तो ऋण लिएको छैन ।
- सुधारको बाटोमा गएपछि तीव्र सुधार गर्ने क्षमता श्रीलंकाले राख्छ । तर, नेपालको त्यस्तो छैन ।
- निर्यातमा श्रीलंकाका उत्पादन प्रतिस्पर्धी छन् । नेपालका छैनन् ।
- श्रीलंकाको पूर्वाधार विकास गुणस्तरीय भएका कारण उत्पादन लागत न्यून हुन्छ । तर, नेपालको उत्पादन लागत बढी छ ।
- समुद्रबाट श्रीलंकाले सहज आयात निर्यात गर्न सक्छ तर नेपाललाई त्यस्तो सुविधा छैन ।
निस्फिक्री सरकार
नेपालको अहिलेको अवस्था आउनु न त रुस–युक्रेनको द्वन्द्वका कारण मात्रै हो, न त नेतृत्व कमजोर भएका कारण मात्रै हो । अर्थविद् प्याकुरेल अहिलेको अवस्था आन्तरिक तथा बाह्य दबाबको घुलन भएको बताउँछन् ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ १४:५५