नेपाल ओर्लिनुअगाडि चिनियाँ विदेशमन्त्री वाङ यी भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेका थिए ।
भारतका विदेशमन्त्री जयशंकर तिनै व्यक्ति हुन्, जो ०७२ मा नेपालको संविधान रोक्न भारतीय प्रधानमन्त्रीको दूत बनेर नेपाल ओर्लिएका थिए । पछिल्लो समय नेपाल चीनको कूटनीतिक ‘रडार’ को प्राथमिकतामा परे पनि उच्च तहका चिनियाँ नेताहरू नेपाल आउँदा भने भारत टेकेर आउँछन् ।
असोज ०७४ मा चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल आउँदा पनि भारतको बाटो हुँदै आएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने शिखर वार्ता गरेर चिनियाँ राष्ट्रपति नेपाल ओर्लिएका थिए ।
२०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री । तस्वीर : चिनियाँ विदेश मन्त्रालय
राष्ट्रपति सीकै पदचाप पच्छ्याउँदै चिनियाँ विदेशमन्त्री वाङ पनि भारतको बाटो हुँदै नेपाल आए । वाङले नेपाल आउनुअघि पाकिस्तानमा भएको इस्लामिक सहयोग संगठन (ओआईसी) को ४८औँ बैठकलाई सम्बोधन गरे । त्यहाँबाट बिहीबार अफगानिस्तान गएका विदेशमन्त्री वाङ बिहीबार साँझ नै भारत ओर्लिए ।
चीन र भारतबीच लद्दाखमा सीमा विवाद भएको करिब दुई वर्षपछि चिनियाँ पक्षले भारतमा उच्चस्तरीय भ्रमण गरेको यो पहिलो पटक हो । आफगानिस्तानबाट बिहीबार साँझ भारत पुगेका वाङले शुक्रबार बिहान भारतीय विदेशमन्त्री र सुरक्षा सल्लाहकारसँग भेटघाट गरेर नेपालका लागि उडान भरे ।
यसअघि भदौ ०७६ मा राष्ट्रपति सीको भ्रमणको तयारीका लागि तीन दिने नेपाल भ्रमणमा आएका थिए वाङ । त्यतिखेर उनी पाकिस्तानको भ्रमण सकेर नेपाल आएका थिए । भारतीय पक्षलाई भेटेर मात्र किन नेपाल आउँछन् चिनियाँ उच्च पदस्थ नेताहरू ? भन्ने प्रश्नको जवाफमा कूटनीतिज्ञहरू ‘चीनले सम्पूर्ण दक्षिण एसियालाई आफ्नो कूटनीतिक प्राथमिकतामा’ राखेको बताउँछन् ।
यही कारण चीनले उच्च तहका नेताको भ्रमण तालिका बनाउँदा दक्षिण एसियाका धेरै देश एकै पटकमा समेट्ने गरी बनाउने गरेको बताउँछन् ।
२०६८ मा तत्कालीन राष्ट्रपति रामवरण यादवसँग चिनियाँ प्रधानमन्त्री । तस्वीर : चिनियाँ विदेश मन्त्रालयअमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्टमा चर्को विरोध गरेको चीनले उक्त परियोजना संसदबाट पारित भएलगत्तै उच्चस्तरीय भ्रमण गरेर, चीनले नेपालमा आफ्नो बलियो उपस्थिति देखाउन खोजेको बताउँछन् कूटनीतिक मामिलाका जानकारी सुरेश चालिसे ।
तर, चीनले नेपाल मात्र नभई भारत र पाकिस्तानलाई पनि उत्तिकै प्राथमिकतामा राखेको चालिसेले बताए । चीनको यही प्राथमिकताका कारण वाङले नेपालसहित दक्षिण एसियाका चार देश एकैपटक भ्रमण गरेको चालिसेले बताए । चिनियाँ कूटनीतिलाई पछिल्लो समय ‘उल्फ वारियर’ नामक प्राविधिक शब्दावलीमा राखेर हेर्ने गरिन्छ । वाङको पाकिस्तान, अफगानिस्तान, भारत र नेपाल भ्रमणलाई यही सन्दर्भसँग जोडेर हेर्नुपर्ने बताउँछन् चालिसे ।
वाङले भ्रमण गरेका देशसँग चीनको स्वार्थ जोडिएको उनको भनाइ छ । पाकिस्तानसँग चीनको बलियो आर्थिक र सामाजिक सम्बन्ध छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि सबैभन्दा पहिला स्वागत गर्ने देशमा चीन अग्रस्थानमा थियो । भारतसँग चीनको सीमा विवाद केही वर्षअगाडि उत्कर्षमा पुगेको थियो । र, यो विवाद अहिले पनि कायम छ ।
२०७६ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति । तस्वीर: चिनियाँ विदेश मन्त्रालय‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’मा सम्झौता गरेको नेपालले चीनको चर्को आपत्तिका बाबजुद एमसीसी पारित गरेपछि चीन सशंकित भएको छ । यी सबै स्वार्थले डोर्याउँदै चिनियाँ विदेशमन्त्रीले पाकिस्तान, आफगानिस्थान, भारत र नेपाल भ्रमण गरेको चालिसेको भनाइ छ ।
सुरक्षा मामिलाका जानकार विनोद बस्न्यात पनि चीनले दक्षिण एसियालाई नै आफ्नो कूटनीतिक प्राथमिकतामा पारेको कुरामा सहमत छन् । उनी भन्छन्, ‘चीन अब दक्षिण एसियामा कुनै एक देशसँग मात्र नजिकिने मुडमा छैन । दक्षिण एसियामा चीनको पछिल्लो भ्रमण अभ्यास हेर्दा एक पटकमा एकभन्दा बढ्ता देश भ्रमण गर्ने नीति अपनाएको देखिन्छ ।’
त्यसो त ३० पुस ०६८ मा चिनियाँ प्रधानमन्त्री वेन जिया वाओ आधा दिने नेपाल भ्रमणमा आएका थिए । त्यसपछि उनी नेपालबाट भारत भ्रमणमा गएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८ १७:४४