अहिले बजारमा आँप जताततै देख्न सकिन्छ । नेपालकै उत्पादन तथा भारतीय आँप बजारमा प्रशस्तै देखिन्छन् । मानिसहरु पनि बजारमा आँप देख्नेबित्तिकै किनेर खान हतारिन्छन् ।
बजारमा जताततै देखिने आँपबारे हामी केही नसोची किनेर खाइरहेका हुन्छाैं । कुन जातकाे आँप हो ? कसरी पकाइएको हो ? यसले फाइदा हुन्छ वा बेफाइदा ? यी कुरा बुझ्न आवश्यक छ । मौसमी फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, आँप किनेर खाँदा सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् । काँचो आँपलाई चाँडै पकाउन प्रयोग गरिने कार्बाइडले स्वास्थ्यमा असर गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
काँचो आँपलाई पकाउन एथलिन स्प्रेको प्रयोग गरिने भएकोले यसले स्वास्थ्यलाई असर गर्ने प्राडा. उमा कोइराला बताउँछिन् । एथलिन एक हाइड्रोकार्बन हो । एथलिन स्प्रेको प्रयोगले काँचो आँप टिपेर राखेको २४ घण्टामा पहेंलो र गिलो बनाइदिन्छ । यस्ता औषधि प्रयोग भएका आँप खानु स्वास्थ्यका लागि खतरा हुने चिकित्सकहरु बताउँछन् ।
तर, बोटमै पाकेको आँप वा कुनै औषधिको प्रयोगबिना पाकेको आँपले मानिसको आँखालाई फाइदा हुने डा. कोइरालाको भनाइ छ । पाकेको आँपमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकोले रोग प्रतिरोधात्मक क्षमता बढाउन आँप प्रयोग गर्नु निकै फाइदाजनक मानिन्छ ।
कहाँबाट भित्रिन्छन् आँप ?
आँप उत्पादनको दृष्टिकोणले नेपालका सिराहा, सर्लाही, चितवन र झापा अग्रणी मानिन्छन् । साथै भारतीय आँप पनि नेपालमा प्रशस्तै मात्रामा भित्रिएका छन् । नेपाल तथा भारतबाट भित्रिएका आँप काठमाडौंलगायत नेपालका विभिन्न स्थानमा बिक्री हुँदै आएको छ ।
आँपमा विषादी छैन
बजारमा विषादीयुक्त आँप भित्रिएको भन्ने कुरा हल्ला मात्रै भएको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंले जनाएको छ । संघका अध्यक्ष अमर बानियाँले बजारमा आएको आँप विषादीरहित भएको दाबी गरेका छन् । अध्यक्ष बानियाँ भन्छन्, ‘विभिन्न जिल्ला तथा भारतबाट नेपाल फलफूल थोकमा काँचो आँप ल्याइएको आँपमा विषादी प्रयोग नगरीकन भट्टीमा हालेर पकाइएको हुनाले विषादीमुक्त छ त्यसैले आँप ढुक्कसँग खान सक्ने अवस्था छ ।’
कालीमाटी फलफूल तथा तरकारी थोक बजारले पनि बजारमा आएको आँप खानयोग्य भएको जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी थोक बजारका प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार कालीमाटीमा धेरै फलफूल आयात गरिँदैन । तर, आयातित फलफूलको परीक्षण गर्दा खानयोग्य भेटिएको छ ।
उनका अनुसार प्रयोगशालामा फलफूल र तरकारीमा प्रयोग गरिने सबैखाले विषादीको परीक्षण गर्न सकिँदैन । कार्बामेट र ओर्गानोफोस्फेट वर्गका विषादीको अवशेष मात्र परीक्षण गर्ने भएकोले नेपालमा बिक्री हुने फलफूल, तरकारी र अन्य खाद्य पदार्थ पूर्ण रूपमा विषादीरहित छन् भनेर ठोकुवा गर्न सकिँदैन ।
नेपाली आँप सकियो
बजारमा नेपाली आँप लगभग सकिएको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । जेठको मध्यतिरबाट बजारमा आएको नेपाली आँप एक महिनामै सकिएको संघको भनाइ छ । ढिलो पाक्ने कलकतिया आँप मात्रै बाँकी रहेको संघका सचिव महेश खड्का बताउँछन् ।
पछिल्लो साता भारतीय आँप पनि नेपाल भित्रिन नसकेकाले आँपको मूल्य अझै बढ्न सक्ने सचिव खड्का बताउँछन् । गत साता भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका सय बढी ट्रक नाकामै रोकिएपछि आँप पनि भित्रिन सकेको छैन । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि ती ट्रक नेपाल भित्रिन नपाएका हुन् ।
भैरहवा, काँकडभिट्टा, वीरगन्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल भित्रिन नसकेका व्यापारीले बताएका छन् । भारतबाटै विषादी परीक्षणको प्रमाणपत्र ल्याएका गाडीलाई भने नाकामा नरोकी नेपाल आउन दिइएको छ ।
विषादी परीक्षणमा ढिलाइ हुँदा केही तरकारी र फलफूल भारततिरै फर्काइएको छ । यसकारण, बजारमा आँप कम हुँदै गएको संघको दाबी छ । सरकारले तरकारी र फलफूलको विषादी परीक्षणका लागि कर्मचारी र प्रविधि थप गर्ने तयारी भइरहेको जनाएको छ ।
बजारमा दशहरी, हालदह, बम्बै ग्रिन, चौसा, तोतापरी, कृष्णभोग, फनलीलगायतका आँप पाइन्छन् ।
संसारका सबै मुलुकमा आँपलाई पौस्टिक फल मानिन्छ । खाँदा निकै स्वादिलो मानिने आँप मीठो मात्र होइन, शरीरलाई फाइदाजनक पनि छ । चिकित्सकका अनुसार आँप सेवन गर्नुका निम्न फाइदा छन् ।
१. आँपको प्रयोगले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोन क्यान्सर र ल्युकेमियाबाट बचाउँछ ।
२. दृष्टिशक्ति बढाउँछ र यसमा हुने भिटामिन ‘ए’ र रेटिनोलले आँखाको शक्ति बढाउँछ ।
३. आँपले पाचन शक्तिलाई राम्रो बनाउँछ किनभने यसमा फाइबर उल्लेख्य मात्रामा पाइन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
४. प्रजनन क्षमतामा वृद्धि गर्छ । आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
५. खनिजयुक्त आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
६. आँपमा हुने भिटामिन ‘ई’ले यौनक्षमतामा वृद्धि गर्छ । साथै यसले कोलेस्टेरोल घटाउन र मधुमेह लाग्नबाट बचाउँछ ।
७. आँप छालाका लागि निकै उपयोगी मानिन्छ । छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ‘ए’ र बेटा क्यारोटिनले छालाको पुनर्निर्माण गर्छ ।
आँप खानुका बेफाइदा
गर्भवती महिलाले यस्ता विषादीयुक्त आँप खाएमा पेटभित्रको मानव भ्रुणलाई असर गर्छ ।
औषधि प्रयोग गरिएको आँपले पाचन प्रणालीमा असर गर्छ । त्यस्तै, यस्ता आँपले टाउको दुख्ने, रिँगाटा लाग्ने, उल्टी हुने जस्ता समस्या निम्त्याउँछ ।
त्यस्तै, विषादीयुक्त आँप सेवका कारण शरीरको तापक्रममा वृद्धि गर्ने र शरीरमा घमौरा पनि निकाल्छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६ ०३:१४