युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई युक्रेन छोड्न जर्मनीले निर्देशन दिएको छ । तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनी सीमा नजिकै रुसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रुस र युक्रेनबीच फेरि तनाव बढेको छ ।’
‘हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि युक्रेनी भूगोल छोड्नुहोस्’, जर्मनीले आफ्ना नागरिकलाई भनेको छ ।
यता अष्ट्रेलियाले पनि युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ । 'युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ', प्रधानमन्त्री मोरिसनले भनेका छन् ।
उनले युक्रेनमा अशान्ति नहोस भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सिर्जना हुने खतरा देखिएको उल्लेख गरेका छन् । युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ ०६:२४