कैलालीमा ७० वर्षीया वृद्धामाथि जर्बजस्ती करणी भएको घटनाको मिलापत्र गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै घटनाका आरोपितलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका- ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वडा नं. ४ का पूर्ववडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य, ५३ वर्षीय शिक्षक होमप्रसाद सुवेदी, ३४ वर्षीय राजु भट्टराई छन् । त्यस्तै जर्बजस्ती करणीको आरोप लागेका ३० वर्षीय प्रकाश सुवेदीलाई पनि इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ ।
मिलापत्र गर्ने अन्य केही फरार रहेको प्रहरीको भनाइ छ ।
सुवेदीमाथि गत मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया वृद्धालाई मदिरा सेवन गरी खेतमा लगेर जबर्जस्ती करणी गरेको आरोप छ ।
घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गराइएको थियो । तर ३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिरिएको प्रहरीको भनाइ छ ।
उक्त कसूरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ २०:३२