सुदूरपश्चिममा शनिबार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिमका विभिन्न नाकाहुँदै भारतबाट फर्किएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका पाँच नाकाबाट १ हजार ७ सय ३२ जना स्वदेश फर्किएका छन् । नाकाबाट फर्किएका १ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी गौरीफण्टा नाकाहुँदै फर्किएकामा संक्रमण देखिएको छ । २४ घण्टामा गौरीफण्टाबाट भित्रिएका ९ सय ८० जनामध्ये ५ सय ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ७८ जनामा संक्रमण देखिएको हो ।
यस्तै गड्डाचौकी नाकाहुँदै फर्किएका ७१७ जनामा एन्टिजेन परीक्षण गर्दा ४५ जना र झुलाघाट नाकाहुँदै फर्किएका ३५ जनामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
शुक्रबार १ सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो । पछिल्लो केही दिनयता प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ २०:०२