कोरोनाविरुद्ध खोपको सिरिन्ज अभाव हुन थालेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार भण्डारणमा खोपको मात्राअनुसार सिरिन्ज छैन ।
‘भण्डारणमा जति खोप छ, त्यति सिरिन्ज छैन । सिरिन्ज आउन ढिलाइ भएको छ,’ शाखाका प्रमुख सुरेन्द्र चौरासियाले भने, ‘सिरिन्ज आउने क्रममा छ । केही दिनमा आइपुग्छ ।’
केन्द्र र प्रदेशमा गरेर १ करोड २० लाख डोज खोप भण्डारणमा छ । तर, कति सिरिन्ज छ भन्नेबारे शाखाले खुलाउन चाहेन । ‘सिरिन्ज प्रदेश र केन्द्रमा धेरै छैन, थोरै छ,’ उनले भने, ‘सिरिन्जका कारण खोप प्रभावित हुने अवस्था छैन ।’
अन्तर्राष्ट्रिय बजारमै सिरिन्ज अभाव
खोपको मात्राअनुसार सिरिन्ज नआएका कारण कम भएको उनी बताउँछन् । ‘खोप बनाउने कम्पनी र सिरिन्ज बनाउने कम्पनी फरक हो । खोप र सिरिन्ज आउने बाटो फरक छ,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमै सिरिन्जको अभाव रहेको उनले बताए ।
‘नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय मार्केटमै सिरिन्जको अभाव छ,’ उनले भने, ‘विश्व बजारमै सिरिन्जको माग धेरै छ ।’
खोपको मात्राअनुसार सिरिन्ज कम हुनुको अर्को कारण प्रयोग गर्ने क्रममा ५ प्रतिशत ड्यामेज भएकाले पनि हो । ‘केही सिरिन्ज ड्यामेज भएको हुन्छ । अहिले ७५ लाख सिरिन्ज कलकत्तामा आइपुगेको छ,’ खोप शाखाका प्रमुख सागर दाहालले भने, ‘केही केही जिल्लामा सिरिन्ज कम भएको छ । सिरिन्जको माग आएको छ । केही दिनमै समाधान हुन्छ ।’
प्रदेश १ मा अभाव
प्रदेश १ मा खोपको मात्रा अनुसार सिरिन्ज कम भएकाले खोप अभियानमा बाधा पुग्ने देखिएको छ । ‘भेरोसिल खोपको सिरिन्ज अपुग हो । हाल सिरिन्ज आएको छैन । केन्द्रसँग माग गरेका छौँ,’ प्रदेश १ को स्वास्थ्य निर्देशक ज्ञानबहादुर भण्डारीले भने, ‘खोप अभियान भने रोकिएको छैन । अभियानमा बाधा नहोस् भनेर सिरिन्ज माग गरेका हौँ ।’
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी खोपअनुसार सिरिन्ज खरिद गर्न नसक्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोरी रहेको बताउँछन् । ‘एक करोड खोप खरिद गर्दा चार-पाँच करोड सिरिन्ज खरिद गर्नुपर्ने हो । १० प्रतिशत सिरिन्जले काम गर्छ भन्ने छैन । कति ल्याउँदा नै बिग्रिएको हुन्छ,’ उनले भने, ‘यस्तो कुरामा राज्यको दूरदर्शिता देखिएन ।’
कति खोप आयो, कतिले लगाए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप नेपालले प्राप्त गरेको छ । जसमा १ करोड २२ लाख ५१ हजार १ सय ८३ ले पहिलो मात्रा र ९७ लाख ३७ हजार ३ सय ३३ ले दोस्रो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ १४:५६