लगभग ४ दशकपछि घर फर्किएर आएको परदेशी जस्तै अनि कयौँ वर्षपछि माइत फर्किएकी दुलही जस्तै देखिएको थियो पाटनस्थित पटको टोलको लक्ष्मीनारायणको मूर्ति ।
बिहानभरि धुम्म परेको आकाश बिस्तारै खुल्दै थियो । आज आकाश मात्रै होइन पाटनवासीको अनुहार पनि खुलेको छ । बिहानको ११ बज्नुअघि नै पाटनवासीहरू उत्सव मनाउन पाटन संग्रहालयमा भेला भइसकेका थिए । संग्रहालयको मूल चोकमा स्थानीय र मिडियाको भीड थियो ।
नहोस् पनि किन ? ३७ वर्षअघि पाटनको पटको टोलबाट चोरी भएर अमेरिकाको डल्लास म्युजियम अफ आर्टस् पुगेको लक्ष्मीनारायणको मूर्ति ६ महिनादेखि पाटन संग्रहालयमा रहँदै आएकोमा आज यथास्थानमा नै प्रतिस्थापन हुँदै थियो ।
यस्तो लाग्थ्यो, संग्रहालय मूर्तिका लागि केवल ‘वेटिङ रुम’ हो ।
‘जे भए पनि अमेरिका पुगेर आएको देउता पो हो त !’ भीडमा अपरिचित स्थानीयहरूको उत्साहको ध्वनि गुञ्जिएर भीडमै कतै मिसियो ।
लक्ष्मीनारायणको मूर्ति औपचारिक रूपमै लगेको प्रमाण राख्न मूल चोकमा वडाका पदाधिकारीहरू हस्ताक्षर गर्दै थिए । वरिपरि स्थानीयहरू धिमेलगायतका बाजाहरू बजाइरहेका थिए ।
मानिसहरू थपिने क्रम बढिरेहको थियो । चोकको भीड हेर्दा यस्तो लाग्थ्यो, यो कुनै वर्षौंदेखि मनाइँदै आइएको उत्सव हो । तर थपिइरहेको मानिसको भीडले यसलाई उत्सव मात्रै होइन, आस्थाको महोत्सव सावित गराइरहेको थियो ।
लक्ष्मीनारायणको मूर्ति एकैछिनमा पाटन संग्रहालयबाट बाहिर दरबार स्क्वाएर परिसरमा ल्याइयो र अघिदेखि ठिक्क पारी राखिएको खटियामा राखियो ।

परिसरलाई बायाँबाट घुम्दै लक्ष्मीनारायण मूर्तिको खटियालाई घुमाएर पटको टोलको मन्दिरसम्म पुर्याइयो । मानौँ आज मूर्ति नवविवाहिता दुलही हो । किनभने बाटोभरि स्थानीयहरू नाचीनाची हर्षोल्लासका साथ थपडी बजाउँदै मूर्तिसँगै लावालस्कर लागिरहेका थिए, जन्तीमा जस्तै ।
पाटनको साँघुरो गल्ली पूरै खचाखच थियो । स्थानीयहरू बुइँगलको झ्यालबाटै मन्दिरको सबै दृश्य हेरिरहेका थिए ।
मूर्ति एकचरण घुमाएर अलक्क आँगनमा ओरालियो । खटियामा बोक्दा लक्ष्मीनारायणको मूर्ति झर्ने हो कि भन्ने डरले होला, रस्सीले बाँधिएको रहेछ, फुकालियो । र विधिवत् रुपमा पूजाआजा गरी मन्दिरभित्र भित्र्याइयो ।
यता बिहान ११ बजेदेखि नै मन्दिरमा क्षमा पूजा भइरहेको थियो ।
थाहा छैन, चोरी भएर आफैँ अपहरणमा परेका भगवानसँग क्षमा माग्ने कि बिलौना गर्ने ? यो प्रश्नको अन्यौलतामा रुमल्लिने सुविधा पनि थिएन, पाटनवासीलाई आज । आफ्नै मन्दिरमा भगवान भेटिएकोमै खुसी थिए उनीहरू ।

‘यतिका वर्षसम्म हामीले नित्य पूजा गर्न सकेनौँ, खानेकुरा चढाउन सकेनौँ, नुहाइदिन सकेनौँ, हामीबाट कति पाप भएको होला ? प्राणप्रतिष्ठा गरिएको भगवानका लागि हामीले नियम टुटायौँ,’ मन्दिरमा क्षमा पूजा गरिरहेका पुजारी वासुदेव ज्वलन्त राजोपाध्यायसँग पनि बिलौनाका केही अवशेष मात्रै छन् यतिखेर ।
‘आफूलाई संरक्षण गर्ने भगवान स्वयम् हराउँदा कस्तो भएको थियो ? अब भेटिएको भगवानसँग कत्तिको आशावादी हुनुहुन्छ त ?’
प्रश्नले चसक्क दुखाएको हुनुपर्छ, ७० वर्ष नाघेका ध्रुव श्रेष्ठ र उनकी पत्नी बाला प्रधान श्रेष्ठलाई । निकैबेर घोतलिएपछि पनि आफूभित्र गतिलो उत्तर नपाएपछि फिस्स हाँसे र उनले भने, ‘मलाई त अझै पनि कताकता भगवान हराउने हो कि भन्ने डर लागेको छ । तर अब त सेन्सर र सीसीटीभी राखेको छ नि ।’
४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । अब एउटै मन्दिरमा लक्ष्मीनारायणका दुईटा मूर्ति भए ।

‘अब त ओरिजिनल मूर्ति फिर्ता भएर आयो, पुरानोलाई के गर्नुहुन्छ नि ?’ प्रश्न भुइँमा खस्न नपाउँदै स्थानीय ७९ वर्षीय भाइराजा श्रेष्ठले भने, ‘हिजोसम्म एउटा लक्ष्मीनारायणको पूजा गर्थ्यौं, अब दुईटै मूर्तिको पूजा गर्छौं । अर्को भेटियो भन्दैमा पुरानोलाई मिल्काउने कुरा त भएन नि ! हाम्रा लागि त दुवै भगवान हुन् ।’
आस्थाको प्राण भरिएपछि मूर्ति कसरी भगवान् बन्छ भन्ने गतिलो उदाहरण सावित भएको छ, लक्ष्मीनारायणको मूर्ति ।
मूर्तिमा आस्था नमाने पनि मूर्तिप्रतिको मानिसहरूको आस्थालाई भने अमेरिकी राजदूत र्यान्डी बेरीले पनि नजरअन्दाज गर्न सकेनन् । प्रतिस्थापन अवधिभर स्थानीयको उत्साहका प्रत्यक्षदर्शी भएरै बसे बेरी ।
यही टोलबाट चोरी भएर अमेरिकामा भेटिएको नेपालको लक्ष्मीनारायण मूर्तिबारे उद्घोष गर्दा कत्ति पनि धक नमानी उल्टै सम्पदा संरक्षणमा मिलिजुली अगाडि बढ्नुपर्ने धारणा पनि राखे उनले ।
‘हाम्रो संस्कारमा मूर्ति संग्रहालयमा, बगैँचामा सजाउने संरचना होइन, हामीकहाँ त मूर्तिसँग समाज जोडिएको छ, आस्था जोडिएको छ,’ भावविह्वल भएर सबै दृश्य हेरिरहेका सम्पदाप्रेमी रविन्द्र पुरीले भने, ‘नेपालको संस्कार भनेकै जीवन्त संस्कार हो ।’

अक्षता, फलफूल अनि धूपबत्ती गरिरहेका स्थानीयहरूको पूजाले नै मूर्तिलाई एकैछिनमा जीवन्त बनाइदिएको थियो । घण्टको आवाजले परिवेशमा थप ध्वनि थपिदिएको थियो ।
‘मूर्ति भेटिएपछि एकदमै खुसी लागेको छ,' एक समय एउटा पनि मूर्ति नभएको मन्दिरमा आज दुईटा मूर्ति देख्दा निकै खुसी लागेको स्थानीय दिलेन्द्र श्रेष्ठ बताउँछन् ।
खुसीको कुरा, वर्षौंदेखि आफूसँगै रहेको मूर्तिको गहनारुपी पोसाक ठीक हुने हो कि होइन भन्ने डर थियो, ध्रुव श्रेष्ठको परिवारलाई । जुन कहिल्यै पनि ‘रेप्लिका’ (लक्ष्मीनारायणको डुब्लिकेट) मूर्तिलाई ठीक हुँदैनथ्यो । आज कति वर्षपछि सो गहना लक्ष्मीनारायणको मूर्तिमा ठिक्क भएको देख्दा सबैभन्दा खुसी लागेको थियो, बाला श्रेष्ठलाई । ध्रुव परिवार सो मन्दिरको पुजारी हुन् ।
‘देवतालाई पनि सुरक्षा चाहिँदो रहेछ है,’ सम्पूर्ण पूजाआजा सकिएपछि सो मन्दिरको पूजा गर्ने परिवारकी बाला श्रेष्ठले लामो सुस्केरासहित भनिन् ।

‘हाम्रो संरक्षण चेतको गरिमा लक्ष्मीनारायणको प्रतिस्थापनले बढाइदिएको छ’
यसरी यथास्थानमा नै लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन हुनु वास्तवमै ऐतिहासिक क्षण भएको अभियन्ता रोशन मिश्र बताउँछन् । यसले अन्तर्राष्ट्रिय निकाय, म्युजियम, अक्सन हाउस र निजी संरक्षकलाई नेपालमा जीवन्त संस्कृति कसरी बाँचिरहेको छ भन्ने सन्देश दिएको मिश्रको भनाइ छ ।
‘उनीहरूका लागि यी फगत् मूर्ति होलान् हाम्रा लागि त देवता हुन्,’ उनले भने, ‘अब आइन्दा नेपाली मूर्तिको किनबेचको कुरा आउँदा अन्तर्राष्ट्रिय निकायहरूले दश पटक सोच्नेछन् । यो नै हाम्रो आर्जन हो ।’
हुन पनि लक्ष्मीनारायण मूर्ति जस्तै हालसम्म नेपाल हेरिटेज रिकभरी अभियानले चोरी भएर विदेशमा पुर्याइएका नेपालका सातवटा मूर्तिहरू पत्ता लगाइसकेको छ ।

यसअघि छरिएका एकल पहलहरू अब संरचनागत रूपमा अभियान चलाएर मूर्ति फिर्ता गराउन सक्ने आँट लक्ष्मीनारायणको मूर्तिले दिएको मिश्रले बताए ।
पटको टोलवासीदेखि अमेरिकी राजदूतसम्मले मूर्ति फिर्तीको उत्सव मनाइदिँदा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापनले संरक्षण चेतको गरिमा बढाएको ललितपुरवासी कनक दीक्षितले बताए ।
यसरी फिर्ता भएको थियो लक्ष्मीनारायणको मूर्ति
३७ वर्षअघि सन् १९८४ को एक मध्यरातमा पाटनको पट्को टोलबाट लक्ष्मीनारायणको मूर्ति चोरी भएको थियो । चोरी भएको उक्त मूर्ति एकाएक सन् १९९० मा अमेरिकामा लिलामीमा राखिएको पाइएको थियो ।
हुन त सन् १९८९ मा नै अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा यस मूर्तिको उल्लेख भएको थियो ।
लामो अनुसन्धान र कूटनीतिक पहलपश्चात् अमेरिकाको डल्लास म्युजियमले लक्ष्मीनारायणको मूर्तिलाई गत नोभेम्बर ३० मा एफबीआईमा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो ।
लामो प्रक्रियापछि मात्रै गत चैत ३० गते लक्ष्मीनारायणको मूर्ति नेपाल फर्किएको हो । सो मूर्तिलाई पाटन संग्रहालयमा संरक्षण गरी राखिएको थियो । स्थानीयको पहलमा नै लक्ष्मीनारायणको मूर्तिलाई शनिबार यथास्थानमा प्रतिस्थापन गरिएको हो ।
१५औँ शताब्दीको भनी आँकलन गरिएको लक्ष्मीनारायणको मूर्ति ठ्याक्कै कसरी चोरी भएर अमेरिका पुगेको थियो भन्नेबारे भने हालसम्म पनि अनुसन्धान भइरहेको छ ।

तस्वीरहरू : सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८ २१:०५