नेटफ्लिक्सको चर्चित वेब सिरिज हाउस अफ् कार्ड्सकाे मूख्य पात्र फ्र्यांक अन्डरवुडले एउटा प्रसंगमा भन्छ– ‘ती मुर्खहरू हुन्, जो पैसा धेरै भएपछि स्वतः शक्ति मिल्छ भन्ने ठान्छन् । खासमा शक्ति आउने भनेको सत्ताबाट मात्रै हो । शक्ति प्राप्त भएपछि पैसा त्यसको पछि लागिहाल्छ ।’
सिरिज हेर्नेहरूलाई थाहा छ– फ्रयांक अर्थात् फ्रान्सिस अन्डरवुड अमेरिकाको शक्तिमान राष्ट्रपति पदको आकांक्षी हो । याे काल्पनिक पात्र अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने दौडमा हुन्छ । प्रतिद्वन्द्वीलाई परास्त गर्न उसले सबै उपाय, तिकडम लगाउँछ । उसको प्रयास कुन परिणतिमा पुगेर टुंगिन्छ, त्यो बुझ्नका लागि त सिंगो सिरिज नै हेर्नुपर्छ ।
६ सिजनसम्म बनिसकेको यो सिरिज हेर्नका लागि ठुलै फुर्सद चाहिन्छ । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रलाई सिरिज हेर्ने त्यो समय मिल्न सक्छ । इतिहासले सिंहासनबाट पर धकेलिसकेपछि पनि उनको आशा मरिसकेको छैन भन्ने बुझाउन आज फूलपातीका दिन उनले जारी गरेको भिडियो वक्तव्य पर्याप्त छ । मरुभूमिमा पानी भेटिने मृगतृष्णाभन्दा कम्ति हुँदैन सत्ताको सुदीर्घ तृष्णा । दुई–दुईपल्ट राजा बन्न पाएका इतिहासका विरल पात्र ज्ञानेन्द्रलाई यसबीचमा कतिसम्म लागेको हुँदो हो, सत्ताको तिर्खा !
उसो त व्यापारी राजाको रुपमा सुनाम/बदनाम कमाएका यी राजालाई लोकतन्त्र मासेर प्रत्यक्ष शासनका लागि सच्चितशमशेर राणा, भरतकेशर सिंह र अनि केशरजंग रायमाझीले उक्साउँदा उनले जवाफ दिएका थिए रे– त्यसो गर्दा मलाई के फाइदा हुन्छ ? पंक्तिकारले यसलाई एक नेताको मुखबाट ठट्यौलीका रुपमा सुन्न पाएको थियो । हुन पनि सच्चा ‘बिजनेसम्यान’ त्यो हो, जसले हर कोही प्रोजेक्टमा आफ्नो खुद नाफा हेर्छ । राजा वीरेन्द्र र उनको वंशविनाशपछि राजा बन्न पाएका ज्ञानेन्द्रलाई संवैधानिक राजा बनेर नपुग्ने, प्रत्यक्ष शासन गर्ने राजा बन्दा अरु व्यापार परियोजनाहरू अभरमा पर्लान् भन्ने कत्रो चिन्ता थियो होला !
तर कुरो त्यसो होइन । हाउस अफ् कार्ड्समा फ्रयांकले भनेको जस्तै शक्तिको तिर्खा दौलतको तिर्खाभन्दा कता हो कता माथि हुन्छ । फोर्ब्समा नाम छपाइसक्दा पनि कहिले एमाले, कहिले कांग्रेस बनेर सांसद बनिराख्नुपर्ने विनोद चौधरीको तृष्णा त्यस तिर्खाको परिचायक हो । तर उनी, राजेन्द्र खेतान, उमेश श्रेष्ठभन्दा पनि ठूलो दृष्टान्त भने उनै ज्ञानेन्द्र हुन् ।
नत्र यत्रो कोभिड महामारी केही मत्थर भएसँगै सारा नेपाली दसैंको उत्साहमा झुमिरहँदा, अनि हरेक दिन वाक्युद्धमा सामेल केपी ओली, प्रचण्डहरूसमेत फूलपातीको छेक पारेर पर्वमय शुभकामना वक्तव्यहरू निकाल्दै गर्दा ज्ञानेन्द्रलाई चाहिँ किन ‘हाम्रोजस्तो देशमा राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन’ भन्दै आफ्नै गीत गाउनुपरेको होला ?
सत्य कुराे के हाे भने, मविवि शाहदेखि जी शाहसम्मले ‘प्रजा’ र ‘तन्त्र’ बारे जति गीत लेखे/गाए पनि उनीहरू भित्रबाट जनतालाई शक्तिशाली बनाउनेतर्फ कहिल्यै उद्दत थिएनन् । एकीकृत भुगोलभित्रको मुखिया बनिराख्नका लागि उनीहरूलाई ‘देश’ चाहिने नै भयो । हामी इतिहासमा राजाहरूले भूगोल जोगाउन गरेका क्रिया–कर्महरूबारे जानकार नै छौं । ज्ञानेन्द्रको इच्छा त्योभन्दा किमार्थ पर होइन । त्यस्तो हुन्थ्यो भने उनी किन सक्रिय राजा बन्ने कुबाटोमा लाग्ने थिए र !
हिजोआज एकथरी ज्ञानी राजावादीहरू ०४७ को संविधान फर्काउनुपर्ने बताउँछन् । तर तत्कालीन देउवा सरकार दोस्रोपल्ट अपदस्थ गरेर राजाले शाही शासन लादेसँगै राजविराजमा थुनिएका तत्कालीन उद्योग वाणिज्य आपूर्तिमन्त्री ईश्वर पोखरेलले आफ्नो पुस्तक ‘माघ १९’ मा लेखेका छन्ः राजा अनि उनका आसेपासेहरू त्यही ०४७ को संविधानसमेत मासेर अन्तरिम संविधानको तयारी गरिरहेका रहेछन् । पोखरेलले सेना र सुरक्षाको उच्च सूत्रबाट आफू, तत्कालीन महासचिव माधव नेपाल, उपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतले माघ १७ तिरै पाएको जानकारी उक्त पुस्तकमा लेखेका छन् । अर्थात् याे बुझाैं, ०४७ काे संविधान भनेर जसका लागि रटना गरिँदैछ, उनीहरूलाइ नै त्याे खासमा चाहिएकाे रहेनछ ।


माघ १९ लगत्तै नेताहरूलाई थुन्न, तिनको सार्वजनिक साख समाप्त गर्ने गरी तेजोबध गर्न दरबार कसरी प्रयोग भयो भन्ने इतिहास पढ्न धेरै टाढा जानु पर्दैन । अनि सात सालमा जनक्रान्तिपछि निर्वाचित बीपी कोइरालाको सरकारलाई सैन्यबलमा अपदस्थ गर्ने महेन्द्रको राजनीतिक अपराध, त्यसपछि प्रजातन्त्र पक्षधरलाई मार्ने, कुट्ने, बेपत्ता बनाउने, सर्वस्वहरण गर्ने, देशनिकाला गर्ने जस्ता क्रियाकलापबारे यहाँ चर्चा गरिसाध्य नै छैन । बहुदलीय व्यवस्था बहाली भइसक्दा पनि दरबारले कसरी दुःख दिइरह्यो भन्नेबारे बुझ्न दर्जनौं इतिहास दस्तावेज उपलब्ध छन् ।
मानिसको स्वभावै हो, हामीलाई तात्कालिक घटनाक्रमले बढी पिरोल्छ । आज पनि हेरौं न । हामीलाई शेरबहादुर देउवाको ताल हेर्दा झ्वाँक चल्छ । तीन महिनाअघिसम्म प्रधानमन्त्री रहेका केपी ओलीका बोली र कर्म सम्झिँदा रिस उठ्छ । प्रचण्ड, बाबुराम भट्टराईदेखि माधव नेपाल, उपेन्द्र यादवसम्मका क्रियाकलापसँग हामीलाई सयका सय चित्त बुझ्ने कुरै भएन । तर सिस्टम सिध्याएर एक्लै हिँड्ने राजाका अघिल्तिर यिनको गल्ती कत्ति पनि होइन । मतदाता र लोकलाजका लागि पनि उनीहरू नाङ्गै हिँड्ने हिम्मत गर्न सक्दैनन् ।
यिनलाई ‘गोरखपुरवादी’ ठहर्याएर आफूलाई मात्रै असली ‘गोर्खावादी’ देखाउन चाहनेहरू नेपाली समाजको अग्रगतिका लागि जति खतरनाक छन्, त्यो भन्दा बरु स्वयं अन्तिम शाह राजा ज्ञानेन्द्र चैं कम खतरनाक छन् । किनकि अब यी विचराले नेपाली नागरिकको अगाडि जान चाहने आकांक्षालाई अलिकति पनि हल्लाउन सक्दैनन् । नेपालीले आफूलाई देउवा, ओलीसँग चित्त बुझेन भन्नुको अर्थ त्योभन्दा बढ्ता ‘डेलिभरी’ चाहियो भनेको हो, हिजो राजाले के–के न दिएथे भन्ने निष्कर्ष पटक्कै होइन ।
अन्तिम राजालाई मेरो कुनै सुझाव छैन । हाउस अफ् कार्डस् हेरिसकेका दर्शकले कम्तिमा दौलत भएर पनि ज्ञानेन्द्र किन शक्तितिर सम्मोहित भएका होलान् भन्ने अनाडी प्रश्न गर्दैन ।
ज्ञानेन्द्रकाे भिडियो वक्तव्यसँग डराउनुपर्ने कारण भने केही छैन । भिजुअल कल्चरले दुनियाँ खाएका बेला उनीमात्रै किन ह्रस्वदीर्घ नमिलेका लिखित वक्तव्यमा अल्झिरहनुन् ! बाँकी रह्यो, राजावादीहरूको कुरो । राष्ट्रिय एकताको मियो उहाँहरूलाई चाहिएकै हो भने यहाँ बस्ने नेपालीहरू नै त्यस्ता मियो हुन् । विश्वको जुनसुकै भूभागमा रहेबसे पनि मातृभूमिको भलो चिताउने, त्यसका लागि गच्छेअनुसारको सघाउपघाउ गर्नेहरू असली राष्ट्रियताका सूत्रधार हुन् । तीन करोड नेपालीले बोक्दा देशै हलुंगो हुन्छ । यत्रो गह्रौं देश ज्ञानेन्द्र र पारसलाई बोक्न लगाएर तिनको श्रमशोषण नगरौं । त्रिसरामा नाच्ने, हार्ले डेभिड्सन बाइकमा गुड्ने स्वच्छन्द जीवनबाट उहाँहरूलार्ई बन्चित नगरौं ।
बरु अन्तिम राजालाई मेरो सुझावः नेपालीको साँच्चिकै चिन्ता लाग्छ भने अस्तिजस्तो कोभिड प्रोटोकल बिर्सेर कुम्भमेलातिर बरालिनु भएन । आफूलाई त कोरोना सर्छ, सर्छ (सर्यो पनि, अनि कोमल शाहलाई त निकै गाह्रो पनि भयो), जनतालाई कोरोना नसारौं ।
अन्तिम युवराज पारसलाई पनि एउटा सल्लाह छ । हुन त उहाँसँग सल्लाह लिनेदिने परिस्थिति अलिक बनिसकेको छैन । तै पनि, हेलमेट लगाऔं । ट्राफिक नियम पालना गरौं ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८ १९:३४