माधवकुमार नेपाल निर्वाचन आयोगको आँगनमा पार्टी दर्ता गराउन लाइन लागिरहँदा केपी शर्मा ओली भने च्यासलको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा पत्रकार सम्मेलन गर्दै थिए ।
बेग्लै र विशिष्ट आसनको कुर्सीमा बसेका ओलीले आफ्नो दायाँ-बायाँ पार्टी पदाधिकारीलाई राखेका थिए । पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका एमाले सचिव योगेश भट्टराई बुधबारको पत्रकार सम्मेलनमा उद्घोषकको भूमिकामा थिए । योगेशले अध्यक्ष ओलीको वक्तव्य र एमाले स्थायी कमिटीले पारित गरेको विशेष प्रस्ताव पढ्न प्रदीप ज्ञवालीलाई बोलाए । ज्ञवालीले ओलीको वक्तव्य र प्रस्ताव पढिसकेपछि पत्रकारले प्रश्न सोध्न सुरु गरे ।
एमाले नै राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह भएको दाबी गर्दै ओलीले प्रश्नको जवाफ दिन सुरु गरे । उनले आफू तथ्यमा आधारित रहेर जवाफ दिने भन्दै प्रश्नकर्तालाई आश्वश्त पारे । उनले भने, ‘तर्कका लागि तर्क, विर्तकका लागि वितर्क गर्दिन । समायानुकल होइन वस्तुपरक तथ्य प्रस्तुत गर्छु ।’
प्रश्नोत्तरको क्रममा आफू प्रधानमन्त्री हुँदा आफूले पनि अध्यादेश ल्याएको तर, गलत नियतले अध्यादेश नल्याएको दाबी गरे ओलीले ।‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो,’ ओलीले भने, ‘धोकापूर्ण ढंगले १२ बजे संसद अन्त गर्ने र भोलिपल्ट बिहानै अध्यादेश जारी गर्ने कामहरू मेरो नेतृत्वको सरकारले, मेरो सरकारले गरेको थिएन ।’
ओली नेतृत्वको सरकारले ०७७ वैशाखमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।
आफूले संविधानको कार्यान्वयन, संविधानको मर्म र लोकतान्त्रिक विधि पद्धतिमा रहेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको दाबी गरे ओलीले । संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान कार्यान्वयन गर्न कठिन भएको आफूले दुईमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए हुने व्यवहारिक कानुन ल्याएको उनको भनाई थियो ।
‘हामीले लोकतान्त्रिक अभ्यास, संविधानको मर्म अनुसार र संविधानले सांसदलाई दिएका अधिकारहरुलाई व्यवहारिक अर्थमा कार्यान्वयन हुन सकोस् भन्ने अर्थमा अध्यादेश जारी गरेका थियौं,’ ओलीले प्रष्ट्याउने प्रयास गरे ।
आफूले अध्यादेश ल्याउँदा विरोध भएको तर, अहिले नभएकोमा पनि उनले गुनसो गरे । ‘त्यतिबेला उधुम विरोध भयो । संसद छल्न खोजेको । अध्यादेशबाट देश, सरकार चलाउन खोजेको भन्ने कुरा भयो,’ ओली यतिमै रोकिएनन् । यसपछि उनले अध्यादेश ल्याउने कानुनी प्रक्रियाबारे धाराप्रवाह भनाई राखे । कानुन मन्त्रालय हुँदै विभिन्न चरण पार गरेपछि मात्र अध्यादेश आउने प्रक्रियाको बेलिबिस्तार लगाए ।
संसद अधिवेशन सकिएको, संसद विघटन भएको समयमा देशका लागि अपरिहार्य र तत्काल नभई नहुने भएमा मात्र अध्यादेश ल्याउनुपर्ने उनको जिकिर रह्यो । आफूले अध्यादेश ल्याउँदा के कस्तो अपरिहार्यता र तत्काल नभई नहुने आवश्यकता परेको थियो थियो भन्ने कुरा भने उनले भन्न सकेनन् ।
अध्यादेश जारी गर्ने काम असंवैधानिक नभएको तर अहिले अध्यादेश ल्याइएको समयप्रति भने उनले प्रश्न तेर्साए, ‘अहिले देश र जनताका लागि बिहानै के इमरजेन्सी के पर्यो ?’
एमाले फुटाउन र माधव नेपाललाई सजिलो हुनेगरी अध्यादेश ल्याइएको भन्दै उनले आक्रोश व्यक्त गरे । पत्रकारलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरुले सुन्नुभयो होला, ३५, ३०, २५ प्रतिशत गरौं कि ? ‘वा’ ‘र’ के गरौं भन्दै सोधेर अध्यादेश ल्याइयो ।’
यति भनेर उनी प्रधानमन्त्री शेरबहादुर देउवामाथि व्यंग्य गर्दै भने, ‘उहाँले सोझै माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्छ भन्या भए हुन्थ्यो, किन अलमलिनुभयो ? माधव नेपालजीले पार्टी विभाजन गरेपछि यो स्वत: रद्द हुने भन्ने कुरा पनि छुट्या छ ।’
देउवा सरकार र आफ्नो सरकारले जारी गरेको अध्यादेशको विधि, प्रक्रिया, नियत र उद्देश्य फरक रहेको दाबी गरिरहे ओलीले । ‘तपाईंहरुलाई थाहै छ, पहिलेको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया, नियत र हरेक कुरा सोधिरहनु पर्ने हो र ?’
सरकारले राजनीतिक पार्टीभित्र बद्नियतका साथ हात हालेको, अनुचित बाटोबाट प्रतिपक्षी दल फुटाउने जस्तो अनैतिक काम गरेको उनले आरोप लगाए । अध्यादेशको लम्बेतान व्याख्या गरेर ओलीले भने, ‘यो भन्दा बढी व्याख्या गर्नुपर्ला जस्तो लाग्दैन ।’
थप व्याख्या गर्दिन भन्दै अर्को प्रश्नको जावाफ दिन तयार भएका ओली फेरी अध्यादेशतर्फ फर्किए ।
‘देश जोगाउनका लागि अध्यादेश,’ यति भनेर उनी हाँसे, ‘यो अध्यादेश नआएको भए के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो? यो घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखेको पानी हो र फत्रक्क झरेर बिलाउने,’ ओली यतिमै रोकिएनन्, ‘भन्ने कुराको पनि एउटा हद हुन्छ नि देश जोगाउनका लागि अध्यादेश, हा, हा, हा ।’
अध्यादेश ल्याएर देउवा नेतृत्वको सरकारले वितण्डा मच्चाएको आरोप लगाए ओलीले ।
सरकारबाट अपदस्थ भइसकेपछि बार्दलीमा गएर आफूले चर्चामा आउनकै लागि बोलेको बताए ओलीले । ‘चर्चा नहुनका लागि बोल्या हो र मैले ?’ ओलीले आफ्नो चर्चा मोह सुनाए, ‘अहिले बोल्या कुरा पनि चर्चामा हुन्छ, चर्चा होस् भनेर बोल्या हो ।’
विगत नौ महिनादेखि देश र संसदको समय बर्बाद पारिएको आरोप लगाए ओलीले । ५ पुसको संसद विघटनपछि संसद र देशको समय मात्र बर्बाद भएको उनको टिप्पणी थियो । ‘देश, पार्लियामेन्ट अशक्त भयो । पार्लियामेन्ट चलेको छैन । पार्लियामेन्टले माखो मार्या छैन, केही गर्या छैन,’ ओलीले भने ।
संसार विज्ञान र प्रविधिको दौडमा तीव्र गतिमा दौडिरहेको समयमा नेपालको सरकार र संसदले भने समय मात्र बर्बाद गरेकोमा चिन्ता रहेको पनि देखाए ओलीले । आफ्नो सरकारलाई काम गर्न नदिएको तर, यो सरकारले थिति बिगारेको आरोप लगाए उनले ।
मेलम्चीमा बाढी जाँदा रोकिएको मेलम्चीको खानेपानीको सन्दर्भ पनि कोट्याउन भ्याए ओलीले । देउवा सरकारले बैशाखसम्म पानी ल्याउनै नसक्ने दाबी गरे ओलीले ।
‘उहाँरुले बैशाखसम्म मेलम्चीको पानी काठमाडौंमा ओराल्छौ भन्नुभयो । बैशाखसम्म ओराल्नुहुन्न,’ ओलीले ठोकुवा गर्दै भने, ‘गफले पानी पानी आउँदैन, पानी त कामले आउने हो । उहाँहरु काम गर्नुहुन्न ।’
यसपछि उनी जनादेश र परमादेशको शब्दजाल तर्फ मोडिए । २८ असारको फैसला पछि एमाले वृतमा जनादेश र परमादेश शब्द प्रचलित भएको छ । माधव नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवाले सार्वभौम सत्ता सम्पन्न जनताको हातबाट यो अधिकार खोसेर अदालतलाई सुम्पिएको आरोप लगाए ओलीले ।
‘जनादेशबाट सरकार नबन्ने परमादेशबाट सरकार बन्ने स्थिति ल्याउनु, शक्ति पृथकीकरणको सिद्धान्त खल्बलिनु, सन्तुलनको सिद्धान्त, नियन्त्रणको सिद्धान्त र व्यवहार खलबलिनु, संविधानको धारा कार्यान्वयन नहुनु, संविधानको स्पष्ट व्याख्या नहुनु, यो अग्रगमन हो ?,’ ओलीले चोर औंला तेर्स्याउँदै प्रश्न गरे । निर्वाचित सरकारलाई परमादेशको बाटोबाट विस्थापित गर्नु अलोकतान्त्रिक भएको पनि उनले टिप्पणी गरे ।
संसद विघटन सही थियो भन्न यसपटक पनि छुटाएनन ओलीले । संसद विघटन सदर भएको भए यतिखेरसम्म नयाँ सरकार बनिसकेको हुने थियो, भने ओलीले ।
एमालेले पार्टी नफुटोस् भनेर १४ जनालाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख अग्नि सापकोटाले रोकेर राखेकोमा पनि ओलीले रिस पोखे । ‘यो खालका पदीय मर्यादा, आचरण विपरीतका काम लोकतन्त्र हुन्छ, अग्रगमन हुन्छ ?,’ ओलीले आक्रोशित हुँदै प्रश्न गरे ।
१४ जनालाई कारबाही गरेको पत्र संसदमा जानकारी नगराएर सभामुखले लोकतन्त्रको हुर्मत लिएको आरोप लगाए ओलीले । ‘यो लोकतन्त्रको हुर्मत लिने काम । अलोकतान्त्रिक, असंवैधानिक, अनुचित काम हो,’ ओलीले भने ।
२८ असारको फैसलापछि आफूहरुको भुमिका परिवर्तन भएपनि यो खासै ठूलो कुरा नभएको उनको भनाई थियो । आगामी चुनाव आफ्नो पार्टीले नै जित्ने भविष्यवाणी समेत गर्न भ्याए ओलीले ।
यसपछि उनी माधव नेपालमाथि खनिए । नेपालले घरघरबाट मान्छे टिपेर लगेर रिसोर्टमा थुनेको आरोप लगाए ओलीले । रिसोर्टमा लगेर नेतालाई राख्ने चलनले संविधान मिचिएको, संविधान पेलिएको, अस्वस्थ फोहरी राजनीति सुरु भएको टिप्पणी गरे ओलीले ।
‘रिसोर्टटमा लगेर तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर लगेर थुनेर, रिसोर्ट पनि कहाँ, यहाँ नजिकै वरतिर परतिर होइन, उहाँ टाकुरामा लगेर,’ ओलीले आरोप लगाए, ‘त्यहाँबाट ढोक्सेमा हालेर (यत्तिकैमा ओली ढोक्सोको अर्थ बताउन थाले) (ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैन क्या !) ढोक्सोमा हालेर त्यो ढोक्से निर्वाचन अयोगमा लगेर घोप्ट्याउने काम लोकतान्त्रिक हुन्छ ?’
माधव नेपालले जबरजस्ती सांसदलाई चन्द्रागिरि पुर्याएको आरोप लगाए ओलीले । यसपछि उनी सञ्चारमाध्यममाथि कटाक्ष गर्न तम्सिए ।
माधव नेपालको समाचार कभरेजको सन्दर्भ कोट्याउँदै उनले कुटिल मुस्कानसहित भन्न सुरु गरे, ‘संचार माध्यमले पनि प्राय: के लेख्न रुचाउनुहुन्छ भने यस्तो क्रियाकलापलाई यो गठबन्धनवाला, अपवित्र गठबन्धनवालाले गर्या हुनाले मिटिङ चलिरख्या छ । बैठकक भैराख्या छ भनिन्छ ।’
चन्द्रागिरितर्फ औंलाले देखाउँदै उनले सोधे, ‘बैठक भैराख्याथ्यो त्यहाँ ? बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ । कि स्थायी कमिटीको, कि केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यहाँ पार्टीका साधारण सदस्यदेखि आफूलाई अध्यक्ष मानेकाहरु छन् । यस्तो पन बैठक हुन्छ ?’
यसपछि उनी फेरि सभामुखमाथि खनिए । आफूहरुले पार्टी नफुटोस् भनेर १४ जनालाई कारबाही गरेको तर, सभामुखले देख्या नदेख्यै गरेको भन्दै उनले आक्रोश पोखे । प्रचण्डले लेखराज भट्टहरूलाई पार्टीबाट निकाल्दा हतारहतार सूचना जारी गरेको सभामुखले अहिले नौ दिनसम्म पनि एमालेको सूचना जारी नगरेको भन्दै ओलीले रिस पोखे ।
‘एमालेले कारबाही गरेको नौ दिन हुँदा पनि उहाँले थाह पाउनुभएन । आठौं दिनमा त दाँत टाल्न जानुभएछ,’ उपस्थित पत्रकारले ओलीको कुरा नबुझेपछि उनले दाँततर्फ औंलाले देखाउँदै भने, ‘दाँत टाल्न जानुभएछ । मेरो शुकामना छ उहाँको दाँत राम्ररी टालियोस् । तर, आठौं दिन पो दाँत टाल्न जानुभयो, त्यस अगाडि के गर्दै हुनुहुन्थ्यो ?’
निर्वाचन आयोगले पठाएको पत्रको जवाफ दिन सक्ने सभामुखले एमालेले कारबाही गरेको सूचना किन नटाँसेको भन्दै ओलीले टिप्पणी गरे, ‘निर्वाचन अयोगलाई गोलमटोल जवाफ लेख्न दिर्नेशन गर्न सक्नुहुन्छ टालेका दाँतले । तर, एमालेले गरेको कारबाहीको सूचना टाँस्न सक्नुहुन्न ।’
निर्वाचन आयोगलाई संसद सचिवालयले एमालेले गरेको कारबाहीको पत्र विचाराधीन रहेको भन्दै पत्र पठाएको छ । उक्त पत्रप्रति असहमति जनाउँदै ओलीले प्रश्न गरे, ‘विचाराधीन राख्ने, त्यो अथोरिटी संविधान, कानुनले दिँदैन । उहाँलाई विचार गर्ने अधिकार दिदैन, उहाँलाई फैसला गर्ने अधिकार दिँदैन । कारबाहीको जानकारी पाएपछि सूचना पार्टीमा टाँस्ने वा संसदमा सुनाउने हो ।’
सभामुखले निष्पक्षता कायम राख्न नसकेको र एमाले विरुद्ध भैरहेको षडयन्त्रमा सामेल भएको उनले सभामुखको चर्को आलोचना गरे । सभामुखले गरेको काम संवैधानिक हो कि असंवैधानिक ? अग्रगमन हो कि प्रतिगमन भन्दै ओलीले प्रश्न गरे ।
उपस्थित पत्रकार र नेपाली जनताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै ओलीले भने, ‘तपाईंहरु र नेपाली जनताले विचार गर्नुपर्ने हो, उहाँहरु संवैधानिक तथा, कानुनी हिसाबले लोकतान्त्रिक बाटोमा चल्दै हुनुहुन्छ कि भष्मासुर बाटोमा चल्दै हुनुहुन्छ ।’
संविधान, कानुन र लोकतान्त्रिक पद्धति नमान्नु भनेको भष्मासुरको बाटो भएको उनको भनाई थियो ।
एमालेमा लंगर (ठूलो भोज) लाग्दा पनि माधव नेपाल समूहले अर्कोतिर गएर हाँडी बसाएको टिप्पणी गरे ओलीले ।
‘एमालेमा लंगुर लागे जस्तो छ तर, यत्रो (हातको इसाराले सानो भाँडो देखाउँदै) हाँडी परतिर बसाउन किन जानु पर्यो ?,’ ओलीले प्रश्न गरे । यसरी भाग घोप्ट्याउन जानेहरुको जिम्मा आफूले नलिने समेत उनले बताए । तर, पार्टी प्रमुख भएको नाताले आफूले विभाजन रोक्ने प्रयास गरेको, तर नसकेको उनले बताए ।
यही बीचमा ओलीले पत्रकारका प्रश्न टिपेको डायरी पल्टाउन आइपुग्छन् प्रदिप ज्ञवाली । अन्तिम लहरमा बसेका शंकर पोखरेल बारम्बार उँघिरहेका थिए । यता ओलीको बायाँ किनारमा बसेका रामबहादुर थापा बादललाई सोफा नभई फलामको कुर्सिमा राखिएको थियो । पत्रकार सम्मेलन अवधिभर उनी हात बाँधेर घोसे मुन्टो लगाएर बसिरहे ।
माधव नेपालले बृहत कम्युनिष्ट आन्दोलन बनाउँछौ भनेकोतर्फ संकेत गरे ओलीले । दायाँबायाँ हात फैलाउँदै, हाँस्दै उनले भने, ‘माधव नेपालले बृहत कम्युनिष्ट आन्दोलन बनाउने,’ यति भनेर उनी हाँसे, ‘यो भनेको त घर जलाउने अनि खरानी बेच्ने । घर जलाउने अनि भन्ने 'सहर बसाउँछु' । खरानी बेचेर सहर बसाउँछु भन्ने यी फाल्तु कुरा हुन् ।’
बृहत कम्युनिष्ट आन्दोलन बनाउँछु भन्ने नेपालको भनाई चटक भएको उनले टिप्पणी गरे ।
पार्टी विभाजन भएपछि चिन्तित हुनुहुन्छ, निन्द्रा लाग्छ कि नाई भनेर सोधिएको प्रश्नको जवाफ समेत दिए ओलीले ।
‘निन्द्रा लागेन भने मान्छे बौलाइहाल्छ नि,’ ओलीले भने, ‘अर्कोले बाटो बिराउने अनि मलाई निन्द्रा नलाग्ने, जसले बाटो बिराउँछ उल्लाई निन्द्रा नलाग्नु पर्ने ठाउँमा छ । रिसोर्टमा गएर घुरेर सुत्ने अनि म सही बाटोमा जाउँ भन्ने मान्छे चाहिँ ननिदाएर हुन्छ कहीं ।’
अन्तमा ओलीले फेरि एमाले नै लोकतान्त्रिक पार्टी भएको जिकिर दोहोर्याए । ओलीले लगभग सबै प्रश्नको जवाफ दिइसकेपछि उद्घोषक योगेश भट्टराई ले एमाले पार्टी एकताका लागि गरिएको १० बुँदे समझदारी माधव नेपालले नै नमानेको आरोप लगाएर पत्रकार सम्मेलन सकिएको घोषणा गरे ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८ १७:४७