क्रियाशील सदस्यताको विवाद अझै टुंगिएको छैन, यो अवस्थामा कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ कि केही समय सर्न सक्छ ?
महामारीको अवस्था आएन भने समयमै हुन्छ । समूहगत भेलामा हाम्रा नेता कृष्णप्रसाद सिटौलाले पनि हामीलाई महाधिवेशन पूर्वनिर्धारित समयमै हुन्छ, त्यहीअनुसार महाधिवेशनको तयारीमा लाग्नू भनेर निर्देशन दिनुभएको छ । हामी तयारीमा जुटिसकेका छौँ ।
यो पटक तपाईंहरू देउवा वा पौडेलमध्ये कुन समूहमा लाग्नुहुन्छ ?
हामी कतै पनि लाग्दैनौँ । हामी हाम्रै समूहमा रहेर चुनाव लड्छौँ । अघिल्लो महाधिवेशनभन्दा अहिलेको महाधिवेशनमा हाम्रो समूहले निकै फड्को मारिसकेको छ । पहिले पनि हामीले १० प्रतिशत मत पाएका थियौँ । यस पटक परिस्थिति पूरै फेरिएको छ । झण्डै ५० प्रतिशत नयाँ युवा मतदाता थपिएका छन् । उनीहरूले हाम्रो विचार समूहलाई मत दिने सम्भावना बढी छ । फेरिएको परिस्थितिमा पार्टी सभापतिमा कृष्णप्रसाद सिटौला निर्वाचित हुने निश्चित छ ।
पार्टी सभापतिमा सिटौला निर्वाचित हुने आधार के–के हुन् ?
शान्ति प्रक्रियादेखि अहिलेसम्म देशमा आएका संकट निवारण गर्न र पार्टीभित्र विवाद मिलाउन पनि सिटौलाको महत्त्वपूर्ण भूमिका छ । अहिले नेपाली कांग्रेसभित्र देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउने व्यक्ति पनि उहाँ नै हो । संविधान निर्माणमा सिटौलाको जुन योगदान छ, त्यसका आधारमा उहाँले भारतमा बाबासाहेव भीमराव अम्बेडकरले पाएझैँ सम्मान पाउनुपर्ने हो । तर, उहाँको योगदानले उचित सम्मान पाउन सकेको छैन । देशलाई हरेक संकटबाट निकास दिन सक्ने नेता सिटौला नै हो । त्यसैले सभापतिमा उहाँको जित सुनिश्चित छ । यो संकटको अवस्थामा कांग्रेसलाई हाँक्न सक्ने व्यक्ति सिटौला मात्रै हो ।
अहिले हाम्रा लागि धेरै हिसाबले अनुकूल समय छ । यतिखेर शेरबहादुर देउवाको समूह छिन्नभिन्न भएको अवस्था छ । रामचन्द्र पौडेलको समूहमा झन् तीन/चार जना सभापतिका उम्मेदवार छन् । तर हाम्रो समूहमा सिटौलाको एक्लो दाबी छ । उहाँ हाम्रो समूहको निर्विकल्प एक्लो उम्मेदवार हो । यो पनि हाम्रा लागि राम्रो पक्ष हो ।
सिटौला समूहका प्रभावशाली नेताहरू गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईंलगायतले यो समूह करिबकरिब छाडिसके भन्ने सुनिन्छ । यस्तो अवस्थामा सिटौला कसरी मूल नेतृत्वमा आउन सक्लान् ?
कसैले समूह छाड्छ कि भन्ने आशंका मलाई पनि थियो । तर, पछिल्लो पटकको समूहको बैठकमा सबै जनाले हामी कतै पनि जाँदैनौँ, जेजे गर्नु छ यही समूहमा रहेर गर्छौं भनेर प्रतिवद्धता जनाएका छन् । त्यसैले अब कोही पनि हाम्रो समूह छाडेर अरु समूहमा जाँदैनन् भन्नेमा म विश्वस्त छु ।
त्यसमाथि यो समूहबाट धेरै फाइदा लिने नेताहरूमा म र गगन थापा पर्छौं । सिटौलाले मलाई रक्षामन्त्री बनाउनुभएको थियो भने गगनलाई स्वास्थ्यमन्त्री । समूहमा रहेकैले अवसर पाएका हामीले त झन् यो समूह छाड्नै मिल्दैन ।
उसो भए सिटौलाको उम्मेदवारी फिर्ता हुँदैन, हैन त ?
हुँदैन । सिटौलाको मात्रै होइन, मैले बुझेअनुसार गोपालमान श्रेष्ठबाहेक कसैको उम्मेदवारी फिर्ता हुँदैन । पहिलो चरणमा सबै सभापतिका आकांक्षीहरू चुनाव लड्छन् । दोस्रो चरणको निर्वाचनमा बल्ल बार्गेनिङको खेल सुरु हुन्छ ।
शिलापत्रका लागि केशवराज जोशीले नेता प्रधानसँग गरेको भिडियो वार्ता :
प्रकाशित मिति: बुधबार, असार २३, २०७८ २१:२०