गत वर्षको बर्खामा सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोक जिल्लाले व्यहोर्नु पर्यो । उसो त सिन्धुपाल्चोकमा सधैँको बर्खामा ठूलो क्षति पुग्ने गरेको छ ।
यस वर्षको मनसुनको सुरुआतमै सिन्धुपाल्चोकमा ठूलो क्षति पुगेको छ । मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीले मानवीय क्षतिसमेत गरेको छ । हालसम्मको विवरण अनुसार बाढीमा परेर हेलम्बुका सात जना बेपत्ता भएका छन् ।
जसमध्ये एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । बाढीले अन्य कयौँ घर र पुलहरूमा क्षति पुर्याएको छ ।
गत वर्ष २६ असारमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५, जम्बुगाउँ नै बाढीले बगाएको थियो । गाउँको बीचबाट बग्ने यल्मु खोलामा आएको बाढीले गाउँ बगाउँदा १९ जना बेपत्ता भएका थिए ।
जसमध्ये २ जनाको मात्रै शव फेला पर्यो । बाँकीलाई बाढीले भोटेकोसी नदीमा विलय गरिदियो । २० भन्दा बढी घरहरू बगाएको थियो । बाँचेकामध्ये कतिपय शारीरिक रूपमा अशक्त भएका छन् ।
त्यसको करिब एक महिनापछि ३० साउनमा फेरि सिन्धुपाल्चोकको जुगल गाउँपालिको लिदी– २ मा उसैगरी पहिरोले वितण्डा मच्चायो । तामाङ सयुदायको बस्ती रहेको लिदीमा दुई सय ९ घरधुरी थिए । त्यसमध्ये २९ वटाघर पहिरोले पुर्यो ।
उक्त पहिरोमा परी ३९ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन गृहमन्त्री रामबहादु थापा ‘बादल’ हेलिकप्टर चेढेर आफैँ पुगे । उनीहरू बाढी पहिरोमा परि ज्यान गुमाउने पीडित परिवारलाई क्षतिपूर्ति र घरबारविहीन भएकाहरूलाई उचित व्यवस्थापन गर्ने आश्वासन बाँढेर फर्किए ।
तर, अर्को बर्खा र बाढी आउन सुरु हुँदा पनि सरकारले घोषणा गरेको कुनै बाचा पूरा गरेको छैन । असार लागेसँगै गत वर्षको बर्खामा आएको बाढी र मंलगबारको बाढीले जुलग र जम्बु बासीका घाउ बल्झाइदिएको छ । एक वर्षदेखि उनीहरू त्रिपालमुनि बास बसिराखेका छन् ।
असार लागेसँगै पहिरोले आफन्त गुमाएका परिवारको घाउ ताजा बनाएको छ । यो बर्खामा आफैँ कसरी सुरक्षित हुने भन्ने पिरलो उनीहरूमा थपिएको छ । कतिपय आफन्त गुमाएहरू त पलायनसमेत भएका छन् ।
लिदी पहिरोका घाइते पासाङ दोङ तामाङ असार लागेसँगै रात कसरी विताउने भन्ने चिन्तामा आफूहरू रहेको बताउँछन् । पहिरोमा ठूलो बुबाको परिवार नै गुमाएका पासाङ भने भागेर बाच्न सफल भएका थिए ।
उनको घर भने पहिरो पूर्णक्षति गरेको थियो । त्यसयता उनको परिवार जगुल गाउँपालिकाकै बासखर्कमा त्रिपाल टाँगेर बसेको छ ।
उनी भन्छन्, ‘एक वर्ष भयो त्रिपालमुनिको बास बसेको, हिउँद महिना त जसोतसो गरेर बसियो । तर, अब त दिनदिनै पानी मात्रै पर्छ त्रिपालले पानी कसरी थाम्ला र सर गाह्रो छ । दुःख छ । तपाईंहरूले पनि सरकारलाई भन्दिनु पर्यो ।’
सरकारले राहतको नाममा अहिलेसम्म दाल,चामलबाहेक अरु केही नदिएको गुनासो उनको छ । ‘यो बर्खामा त सरकारले सानो जस्ताको टहरो मात्रै बनाइदिए पनि ठूलो राहत हुने थियो,’ पासाङ भन्छन् ।
उनीजस्तै जम्मु बाढी र लिदीका पहिरोपीडित एक वर्षदेखि बिभिन्न ठाउँमा त्रिपालमुनि बसेका छन् । विभिन्न संघसस्था र व्यक्तिबाट आएको राहतले हिउँद कटाए उनीहरूलाई अब बर्खामा कसरी बाच्ने भन्ने पिर थपिएको छ ।
बाह्रविसे नगरपालिकाका नगर प्रमुख निमफुन्जे शेर्पा पनि गत वर्षको बाढीपीडितले पाउनुपर्ने राहत र उनीहरूको उचित व्यवस्थापन हुन नसकेको स्वीकार गर्दै यो बर्खामा उनीहरूको व्यवस्थापन नगरपालिकाले गर्ने बताउँछन् ।
‘हामीले पीडितको व्यवस्थापन नगरपालिकाले गर्ने भनेका थियौँ । त्यसै अनुसारको तयारी पनि भएको थियो । तर, पछि संघीय सरकार आफैँले गर्ने भनेर हामीले व्यवस्थान गर्न नसकेका हौँ,’ शेर्पा भन्छन्, ‘यो बर्खामा उनीहरूलाई उचित ठाउँमा अस्थायी रूपमा राखेर असार,साउन र भदौ तीन महिनाको खानबस्नको व्यवस्थापन नगरपालिकाले गर्ने गरी तयारी थालेका छौँ ।’
संघीय सरकारले गत वर्षको बाढी र पहिरोमा परेर आफन्त गुमाउने, तथा घरबारबिहीन भएकाको परिवारलाई जनही एक लाख किरिया खर्च घर निर्माणको लागि जग्गाबापत तीन लाख र निर्माणको लागि पाँच लाख दिने निर्णय गरेको थियो । तर, उक्त रकम उनीहरूले अझै पाएका छैनन् ।
जुगल गाउँपालिका अध्यक्ष होम नाराण श्रेष्ठका अनुसार पहिरोपीडित परिवारले लाभग्राहीका आधारमा सरकारी राहत पाउने हुँदा त्यसको प्रक्रियाका कारण ढिलो हुने पुगेको हो ।
‘लिदी पहिरोपीडितको राहत र व्यवस्थानमा केही ढिलो भएकै हो । त्यसकारण अहिले हामी सकेसम्म गत वर्षका पहिरोपीडितको व्यवस्थापनको लागि केही टहरा निर्माणको तयारी एक दुई दिनभित्र थाल्ने गरेर लागेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
टहराको निर्माण जतिसक्दो चाँडो गर्नुपर्ने भएकाले त्यसको जिम्मा नेपाली सेना वा सशस्त्र प्रहरीलाई दिनेकी भन्ने गृहकार्यमा रहेको उनले बताए ।
कार्यविधिका कारण ढिलाइ
गत वर्ष बर्खाको बाढी पहिरोबाट पीडित परिवारको व्यवस्थापन तथा राहत वितरणको काम देशभर नै ढिला भएको छ । यस वर्षको विपद्को तयारी गर्नुपर्ने बेलामा गत वर्षका पीडित परिवारलाई राहतको काम बल्ल थालिएको छ ।
राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणको कार्यविधि बन्न ढिलाइ हुँदा पुनर्निर्माण र पुनःस्थापनाको काममा ढिलाइ हुन पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलको भनाइ छ ।
कार्यविधिका आधारमा अनुदान बाँँडिने भएकाले सबै जिल्लाहरूमा राहतको काममा ढिलाइ हुन पुगेको छ ।
यसवर्ष सिन्धुपाल्चोकमा विपद्पछिको राहतभन्दा सकेसम्म उच्च जोखिममा रहेका बस्तीलाई मनसुन अवधिको तीन महिना अस्थायी रूपमा सारेर मानवीय क्षति कम गर्ने योजनामा सीडीओ पोखरेल लागेका छन् ।
त्यसको लागि सिन्धुपाल्चोको सबैभन्दा उच्च जोखिममा रहेका जुगल गाउँपालिका, बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका केही बस्तीको लागि बासखर्कमा अस्थायी टहार निर्माणमा गर्न लागिएको उनले बताए ।
‘बाढी पहिरोको सबैभन्दा बढी जोखि सिन्धुपाल्चोकका जुगल, बाह्रविसे र भोटेकोशी हुन । त्यहा जोखिममा रहेका बासिन्दाको लागि १५ दिनभित्र बन्ने गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले टहरा निर्माणको काम थालेका छन्,’ सीडीओ पोखरेल भन्छन्, ‘आवश्यक सामग्री खरिद भइसकेको छ । तीन महिना पुग्ने गरेर खाद्यान्न सामग्रीसहित उनीहरूको व्यवस्थान गर्छौं । यसले यो वर्ष मानवीय क्षति कम नर्ग सकिन्छ भन्ने हाम्रो अनुमान छ ।’
सिन्धुपाल्चोकका करिब ११ सय घरधुरी जोखिममा रहेको उनले बताए । यसरी नै सिन्धुपाल्चोकमा बाढी पहिरोले सडक अवरुद्ध हुने सक्ने भन्दै विपद्पछि सडक सञ्चालनमा समेत ध्यान दिँदै बाह्रबिसेमा सडक निर्माण युनिट राखिने बताए ।
त्यसबाहेक जिल्लाका अस्पतालहरूमा विपद्पछिको अवस्थामा अवस्यक पर्ने औषधि, रगतको अभाव हुन नदिन पूर्वतयारी गर्न निर्देशन दिएको उनको भनाइ छ ।
यो वर्ष १७ लाख मानिस प्रभावित हुने सरकारको अनुमान
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको बर्खाको मनसुनबाट देशभरका झण्डै १७ लाख मानिस प्रभावित हुने अनुमान छ ।
बाढी र पहिरो तथा मनसुनजन्य प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान प्राधिकरणले गरेको हो ।
स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार यस वर्ष बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने अनुमान गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको भनाइ छ ।
मनसुनको प्रभाव तराईका जिल्लाहरूमा बढी हुने उनको अनुमान छ । यस वर्ष पनि दोलखा र सिन्धुपाल्चोकका मावन बस्ती पहिरोको कारण बढी प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ ।
बाढी पहिरोबाट जोगिन प्राधिकरणले सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्वसुचना प्रणालीको विकास गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ ०८:३०