देशमा कम्युनिस्टका नाममा अनेक दल हुन मिल्छ भने वैकल्पिक भनिने दलहरू मात्रै किन अपवाद हुन्थे !
जसै विवेकशील पार्टी र साझा पार्टी जुटे, फुटे । फेरि जुटे, जुट्ने क्रममै फेरि फुटे । या भनाैँ, केही नेता र कार्यकर्ताहरू नजुटेरै बसिरहे । उनीहरू कर्मा तामाङ, अजिता राई, विजयबाबु खत्री आदिकाे नेतृत्वमा सानाे समूहमै छन् । बाँकी नेताहरूले रवीन्द्र मिश्र, मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शनाहरूसँगै जाेडिएर विवेकशील साझा पार्टी बनाए ।
विवेकशील साझा पार्टीको राजनीतिक दिशा के हो, बौद्धिक वृत्तमा तर्कवितर्क चलिरहन्छ । यसका नेताहरू सकी नसकी आफ्नो वैचारिक लाइनबारे आश्वस्त तुल्याउन खोजिरहेकै हुन्छन् । कसैले दक्षिणपन्थी भन्दिन्छन्, कसैले सुधारवादी । कसैले वैकल्पिक भन्न पनि बेर लाउँदैनन् । शहरी पार्टी, फेसबुककाे पार्टी, यस्तैयस्तै ।
केही साताअघि मेरो टेबुलमा यो सादा हरियो मास्क आइपुग्यो विवेकशील पार्टीको नाममा । यसमा बाहिरपट्टि लेखिएकाे थियाे, पारदर्शिताका लागि सूचनाकाे हक । मुन्तिर आरटीआई डट विवेकशील डटकम ।
सुरुमा म मिश्र र मिलनकै पार्टीबाट याे आएछ भनेर झुक्किएँ । पछि बुझ्दा त्यसाे हाेइन रहेछ । विवेकशीलका केन्द्रीय सदस्य शशिविक्रम कार्कीले मसँग फाेनमा कुरा गर्दै मास्क आफूहरूले पठाएकाे पुष्टि गरे । काेभिड हेल्प डेस्क बनाएकाे पनि जानकारी दिए । 'विगतदेखि नै हाम्रा अभियानहरू यस्तै रचनात्मक खालका नै छन्, अहिले काेभिड संकटका बेला सक्दाे मेहनत गरेर जनतासँग जाेडिने निर्णय गरेका छाैँ,' उनले भने ।
नलगाऊँ भने कोभिडकालमा फेला परेको मास्क किन खेर फाल्ने ? लाऊँ भने सिधै पार्टीको प्रचार छ । पत्रकार भएपछि पार्टीको सामग्री किन भिरेर हिँड्ने ? त्यो पनि मुखैमा । पत्रकारिताको भाषामा भन्ने हो भने 'मास्टहेड'मा ।
म धुकचुक मान्दै, अल्मलिँदै अफिसको घर्रामा त्यसलाई थन्क्याएर बसिरहेँ ।
पत्रकार देवेन्द्र भट्टराईले केही दिनअघि ट्वीट गरेको एउटा फोटोले भने मलाई निर्णय बदल्न सहज गरायो । भट्टराईले विवेकशील साझाले दिएकाे हटलाइन नम्बरकाे फाेटाे राख्दै ट्वीटमा लेखे, 'यो सबैको परीक्षणको घडीसमेत हो, सकेको सहयोग गरौँ । कम्तीमा ‘भगौडा’ नबनौँ । थाहा छैन– आजको यो आपत्मा सामाजिक-सञ्जालमा उनिएको यो आह्वान कति हितकारी हुन सक्ला ? कति साझा वा विवेकशील हुन सक्ला ? तैपनि सद्भाव- प्रयास अनुकरणीय छ । परिणाम भोलिका दिनमा देखिएला नै !'
उता विवेकशील साझाले पनि सकेकाे काम गरिरहेकै रहेछ । ठीकै छ, प्रतिस्पर्धा भएकाे राम्राे । अब चैँ काेभन्दा काे राम्राे भन्नेमा प्रतिस्पर्धा हाेस् ल । नत्र त यहाँ काेभन्दा काे बाहुबली हुने, संविधान र सिस्टम फाेड्ने भन्नेमा दाैड चलिरहेछ । सिंहदरबारदेखि लुम्बिनीसम्म यही त भइरहेकाे छ । एकदम बाेर हुन्छ, लाेकतन्त्रकाे नाममा यी दृश्यहरू हेर्नु ।
एमालेहरू सत्ताको छिनाझपटीमै लागिरहेका बेला, अनि कांग्रेसहरू पार्टीभित्रको सत्ता क्याप्चर गर्न महाधिवेशनका लागि कोभिडसोभिड बिर्सेर भिड्दै गर्दा विवेकशीलको शैली अलिकति भिन्न देखियाे । अस्ति मात्रै अग्रगमन र प्रतिगमनका जुलुसहरूले आन्दोलनका नाममा शहरभरि फोहोर गरे । ओलीको दरबारमार्ग रोड शोदेखि माधव–प्रचण्ड पक्षको कार्यक्रमसम्मै त्यो कुरुपता देखियो ।
विवेकशील र विवेकशील साझा पार्टीहरू भने आफूले गरेको फोहोर आफैँ सफा गर्छन् ।
यसका वैचारिक नीतिहरूले भोलि राजकाजको मौका पाए भने कस्तो प्रभाव पार्लान् ? या यी विवेकशील र साझाका नेताहरू पनि उही ड्याङका मूला होलान्, त्यो त समय क्रममा देखिएला नै । तर, सिर्जनशील सुरुवातका लागि उनीहरू साधुवादका पात्र छन् ।
अब जनमतसंग्रह टाइपका सन्दर्भ गुमाइसकेका मागहरू छाडेर राजनीतिमा नवीन उत्साह दिइराख्ने, अनि हरेक दिन जनतासँग जोडिने काममा लागिराखे पार्टीलाई राम्रै होला । हामी त साक्षीभावले हेर्न इच्छुक हुनेछौँ ।
राजनीतिमा फाेहोर निकै भयाे । भाेलिका दिनमा पनि केही न केही फाेहोर बाँकी रहला । शक्तिकाे खिचातानी हुने याे विधामा सयका सय सफा खाेज्ने काेसिस बेकार हाेला । विवेकशील र साझाहरूसँग राम्राे गर्नेमा मूलधारका पार्टीहरूले प्रतिस्पर्धा गरून् ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ १९:४८