लोकोक्ति नै छ, १२ वर्षमा खोलो फर्किन्छ । लाग्छ, यो उक्ति राजनराज शिवाकोटीकै लागि बनेको हो । नत्र १२ वर्ष पुरानो ‘फूलबुट्टे सारी’ गीत आज एकाएक किन हिट हुन्थ्यो । यस गीतको पहिलो रेकर्डिङ १२ वर्षअघि हुँदा खासै चर्चा थिएन । तर, यसपालि औधि रुचाइयो । वर्षभरि चर्चाको शिखरमै रह्यो ।
एकाएक चर्चा हुनुको कारण रोचक छ । विभिन्न भाषाभाषीमा यो गीत घन्कियो । अनि मेल, फिमेल, चाइल्डदेखि, लिजेन्ड भर्सनसम्म यो गीत गाइयो । मेल भर्सनमा मार्मिक लामा, फिमेलमा मिलन नेवार, चाइल्डमा राजनराजकै छोरी आरिस्मा र लिजेन्डमा मदनकृष्ण श्रेष्ठले स्वर भरे ।
यी सबै भर्सनमा गाइएको गीत पारखीहरूको जिब्रोमा झुण्डियो । संस्कृत भाषामा समेत यो गीत सुन्न सकिन्छ । केएन स्वामीले अनुवाद गरेको संस्कृतमा आवाज जागरण घिमिरेले भरेका छन् ।
गीत/संगीतलाई न कुनै भूगोलमा स्थिर बनाउन सकिन्छ, न कुनै भाषामा बाँध्न नै । यसको भूगोल र भाषा दुवै अन्तर्राष्ट्रिय हुन्छ भनेझैँ राजनराजको ‘फूलबुट्टे सारी’ गीत अन्तर्राष्ट्रिय बन्यो । यो गीत देशीय बन्धन काटेर छिमेकी मुलुक भारतदेखि अफ्रिकी मुलुकसम्म गुञ्जियो ।
युगाण्डाकी बियोन्से फामासीदेखि भारत पञ्जाबका युवासम्मले गुनगुनाए, खुब आनन्द मानेर । पेसाले इन्जिनियर बियोन्से नेपाल आएको बेला गीत सुन्दा छोएपछि आफैँ गाउन अघि सरिन् । पञ्जाबका लक्की सिधुले बनाएको ‘कभर सङ’ राम्रै चल्यो ।
लोकशैली राजनराजको सिर्जनाको आधार हो । उनका बहुसंख्यक हिट गीत यही शैलीमा बुनिएका छन् । ‘सुर्के थैली खै’, ‘पूर्व–पश्चिम रेल’, ‘गोजीमा दाम छैन’, ‘टाकनटुकन’ जस्ता हिट गीतमा राजनराजले यही शैली पछ्याएका छन् ।
उनको ‘कुटुमा कुटु’ गीत त नेपालबाट युट्युबमा अपलोड गरिएका भिडियोमा सर्वाधिक हेरिएको कीर्तिमानधारी हो । यो गीतले हालसम्म १४ करोड ७५ लाखभन्दा बढी ‘भ्युज’ पाएको छ ।
कोरोना भाइरसको महामारीले गीतसंगीतक्षेत्र सुस्ताए पनि राजनराजले एक दर्जनभन्दा बढी गीत रिलिज गरे । जसमध्ये ‘मायालु तिमी कता छौ २’, ’मालिङ्गो’, ‘मायाले मलाई बोलायो’ गीत हिट सूचीमा दरिए ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७ १०:५४