अघिल्लो वर्षको कात्तिकमा रौतहटको फरहदवा गाउँमा भेटिएका भयभीत एक व्यक्तिले यो प्रतिनिधिलाई अपर्झट सोधे, ‘सोले फिल्म हेर्नुभएको छ ?’
हेरेको प्रतिक्रिया पाएपछि उनले भोजपुरी भाषामा भने, ‘सोच्नोस्, भोलि जेलबाट छुटेर गब्बरसिंह आउँदैछ । अनि हाम्रो हालत के होला ?’
फरहदवा बमकाण्डका मुख्य योजनाकारको आरोपमा प्रहरीले मोहम्मद अफताव आलमलाई पक्राउ गरे पनि उनी छुटेर आएपछि प्रतिशोध साँध्न सक्ने भयका कारण स्थानीय मुख खोल्दैन थिए । तर, उनै व्यक्तिलाई छुटाउन आफू लागिपरेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुलासा गरेका छन् ।
राैतहटको गढीमाई नगरपालिका धरमपुरको महायज्ञमा बोल्दै देउवाले फरहदवा बमकाण्डका आरोपित मोहम्मद आफतव आलमलाई छुटाउन आफू 'लागिरहनेछु' भनेका छन् । अदालतको कुरा हो, धैर्य गरे परिस्थिति फेरिनसक्ने उनले बताएका छन् ।
आलम १३ वर्ष पुरानो हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा डेढ वर्षदेखि कारागारमा छन् । ०६४ पहिलो संविधानसभको निर्वाचनको पूर्वसन्ध्यामा 'बुथ कब्जा' गर्ने उद्देश्यले बम बनाउँदाबनाउँदै विष्फोट भएपछि घाइते भएकालाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गरेको उनीमाथि आरोप छ । उक्त विष्फोटमा रौतहटकै त्रिलोकप्रताप सिंह र ओसी अख्तर मारिएका थिए ।
अन्य भारतीय पनि मारिएको बताइए पनि जाहेरी भने दुई जनाका परिवारले मात्र दिएका थिए । घटनापछि प्रमाण मेटाउन उनले प्रहरी–प्रशासनलाई समेत हातमा लिएका थिए । प्रहरीले उनीविरुद्ध जाहेरी दर्ता नगरेर सहयोग गरेको थियो ।

फौजदारी मुद्दाका अभियुक्त छुटाउने पहल
गम्भीर फौजदारी मुद्दाको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिको प्रतिरक्षामा देउवा उभिनुलाई अनौठो मानिएको छ । स्मरणीय रहोस्, प्रमुख प्रतिपक्ष दलका नेतालाई ‘वेटिङ प्राइममिनिस्टर’ समेत मानिन्छ । त्यसमाथि सत्तारुढ दलभित्रको विवादका कारण देउवालाई संसद् पुनर्स्थापनापछिको सत्ता समीकरणमा प्रधानमन्त्रीको प्रमुख दाबीकर्ताको रूपमा समेत हेरिएको छ ।
उनले आफू परिआएमा प्रधानमन्त्रीको जिम्मेवारी लिनबाट पछि नहट्ने सार्वजनिकसमेत गरिसकेका छन् । अदालतमा विचाराधीन मुद्दामा ‘वेटिङ प्रधानमन्त्री’को खुलासाले धेरै अर्थ बोकेको छ ।
अर्को संयोग, संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको विषयमा भने देउवा ‘स्वतन्त्र न्यायपालिका’को कार्यक्षेत्रमा आँच आउने भन्दै टिप्पणी गर्न पन्छिरहेका थिए । संवैधानिक विषयमा आफ्नो धारणा राख्न अनकनाएका देउवाले फौजदारी मुद्दाका आरोपितलाई भने छुटाउन लागिरहने बताएका हुन् ।
‘मुसलमान समुदायलाई प्रभावमा पार्न देउवाले त्यस्तो कुरा गर्नुभएजस्तो बुझिन्छ,’ वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल भन्छन्, ‘नेताले अदालतमा विचाराधीन कुरा, त्यसमाथि यति गम्भीर अभियोगबारे सार्वजनिक रूपमा बोल्नु कानुनी राज्यको सिद्धान्त विपरीत हो ।’
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवाले बोलेका कुराबारे आफूले बुझ्न बाँकी नै रहेको बताए । ‘कुनै नेताले बोलेको सबै कुरा पार्टीको आधिकारिक धारणा हुँदैन,' उनले शिलापत्रसँग भने, 'उहाँले के बोल्नुभएको थियो भन्ने मैले बुझ्न पाएको छैन ।’ 
देउवाको बोलीपछि भयभीत पीडित
अहिले पनि मृतक त्रिलोकप्रताप सिंहको रौतहटस्थित घरमा प्रहरी सुरक्षार्थ तैनाथ छ । यो मुद्दाका जाहेरीवालासमेत रहेका शैलेन्द्र साहका अनुसार मृतकका बुवा श्रीनारायण सिंहलाई असुरक्षा भएपछि नै डेढ वर्षदेखि प्रहरी राखिएको हो । सुरुमा दुई प्रहरीको पहरा भएकोमा अहिले भने एक जना मात्रै खटाइएको छ । पीडित परिवारले दुई जना प्रहरीलाई खाना दिन नसक्ने भनेपछि एक जना मात्रै राखिएको हो । ‘राखेपछि कम्तीमा खाना खान दिनुपर्यो,’ साह भन्छन्, ‘गरिब परिवारले कसरी खुवाउनु ?’
फरहदवा हत्याकाण्डसँग जोडिएका श्रीनारायण एक मात्र यस्ता व्यक्ति हुन्, जसले अंगरक्षक पाइरहेका छन् । तर, पूर्वप्रधानमन्त्री देउवाको अफ्तावलाई छुटाउने अभिव्यक्तिले अन्य साक्षी र पीडित भने असुरक्षित महसुस गर्न थालेका छन् ।
‘जेलबाट अफतावलाई छुटाउने कुराले घटनाका साक्षी र पीडितको अवस्था के हुन्छ भन्नेमा हामी डराइरहेका छौं,’ साह भन्छन्, ‘दोषीलाई कानुनी कारबाही नहुने हो भने भोलि रौतहटका धेरै मानिसको उठीबास हुनेछ । यसको जिम्मा कसले लिने ?’
अफतावको रजगज कस्तो छ भन्ने बुझ्न पीडित परिवार र साक्षीले अदालतमा फेरेका बयानले पनि पुष्टि गर्छ । मृतक ओसी अख्तरकी श्रीमती अमना खातुन, बुवा र ससुराले अदालतमा बयान फेरेका छन् । ओसी अख्तर अहिले पनि विदेशमा रहेको भन्दै ०६४ मा घटना हुँदा उनी यहाँ नभएको बयान दिएका छन् । 
यो प्रतिनिधिसँग काठमाडौंमा प्रहरी संरक्षणमा रहेका बेला सफी अहमदले गाईवस्तु सीमा कटाउन लैजाने क्रममा आफू अफतावको घरअगाडि पुग्दा विष्फोट भएपछि बेहोस बनेको बताएका थिए । होस खुल्दा भारतको अस्पतालमा रहेको उनले बताएका थिए । उनको पेटमा चोट लागेको थियो । गोडाको मासु काटेर उनको पेटको घाउ पुरिएको छ । प्रहरी सुरक्षामै रहेका सफीले भनेका थिए, ‘कानुनी प्रक्रिया त टुंगिएला । त्यसपछि हाम्रो रक्षा के हुन्छ ?’
संभवतः आफ्नो जीवनरक्षाकै प्रश्नले पिरोलेर हुनसक्छ, सर्लाही गोडैताका साक्षी सफी अहमदले पनि अदालतमा पुगेर बयान फेरे । घटना भएको बेला आफू पञ्जाबमा रहेको र सख्खर बनाउँदा जलेर शरीरमा चोट लागेको बताएका छन्, अदालतमा ।
मुद्दा दायर हुनसाथै अफतावका मानिसले साक्षी गौरीशंकर रामलाई बन्धक बनाएर बयान फेर्न लगाएका थिए । उनलाई पनि पछि प्रहरीले संरक्षणमा राखेर अदालतमा उपस्थित गराएको थियो । अदालतमा पुग्दा रामले पनि घटना हुँदा आफू त्यहाँ नभएको भन्दै बयान फेरेका थिए । उनी अहिले भारत पुगेका छन् । फरहदवा काण्डका अक्सर मुश्लिम समुदायले अदालतमा बयान फेरेका छन् । मुश्लिम समुदायमार्फत अफतावले आफ्नो शक्तिको प्रयोग गरेको हुनसक्ने प्रहरीको विश्लेषण छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘घटना भएको बेला पनि राजनीतिको अपराधीकरण भएर उनी पक्राउ परेका थिएनन् । अब न्यायिक प्रक्रियामा गइसकेपछि पनि राजनीतिको अपराधीकरणको प्रभाव देखिने भयो ।’
रौतहटमा आलमको प्रभाव कतिसम्म छ भने उनका गलत कामबारे कोही खुलेर बोल्न चाहँदैनन् । यसमा लामो कालखण्डदेखि अफताव परिवारको यो क्षेत्रमा चलेको रजाइँले काम गरेको छ । पञ्चायतकालदेखि नै अफताव परिवारको बोलवाला थियो, यो क्षेत्रमा ।
जमिनदार परिवारका अफताव आफ्ना काका शेख इद्रिसको बलमा राजनीतिमा आएका हुन् । मनत्ती समेत बनेका इद्रिसको मृत्युपछि अफताव जहिल्यै शक्तिमा आए । काकाको मृत्युपछि नै चुनाव जितेर उनी राज्यमन्त्री बनेका थिए । त्यसपछि कांग्रेस सत्तामा रहँदा अक्सर उनी मन्त्री बन्न छुटेनन् । लामो समय राज्यमन्त्री बनेका ०६६ को माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी श्रम मन्त्री पाए ।
चुनाव जित्न भने अफतावले ठूलो दलबलको प्रयोग गर्थे । ०५६ मा त चुनाव जितेपछिको खुशियाली मनाउन अफतावले हवाई फायर नै गरेका थिए । सधैँ शक्तिमा रहेकोले अफतावविरुद्ध बोल्ने हिम्मत कसैको हुँदैन । उनी पुनः शक्तिवान पदमा फर्कनेमा राजपुरबासी विश्वस्त भएकाेले पनि उनकाे त्रास कायमै भएकाे हाे ।
जेलभित्रैबाट आफ्ना मानिस परिचालन गरेर अफतावले मुद्दा मिलाउन खोजेको पीडित र साक्षीको बयान अस्वभाविक रूपमा फेरिनुले पुष्टि गर्छ । यस्तोमा कांग्रेस सभापति देउवाले आफू अफताव छुटाउन लागिपरेको बताउँदा झनै अर्थपूर्ण बनेको छ ।
‘अब सरकार ढल्छ । त्यसपछि तिमीहरूको सुरक्षा कसले गर्छ हेरौँला भन्दै अफतावले हामीलाई धम्कीपूर्ण सन्देश पठाइरहन्छ,’ जाहेवरीवाला साह भन्छन्, ‘इजलासमै सरकारी वकिललाई धम्काउने मानिस छुटेमा के होला भनेर हामी त सोच्न पनि सक्देनौँ ।’
देउवाको बोली
लामो कुरा गर्दिन । हाम्रा यहाँका साथी शेख अफताव आलम जेलमा हुनुहुन्छ । आफ्नातर्फबाट उहाँलाई छुटाउन पहल गरिरहनेछु । अरु कानुन व्यावसायी साथीहरु पनि लागिपर्नु भएको छ । अहिले अदालतको कुरा हो । धैर्य राखेर उहाँले चिन्ता नलिई बस्नुभयो भने परिस्थिति बदल्न सकिन्छ । त्यसका लागि पनि निर्धक्कसाथ बस्नुहोला भन्ने म चाहन्छु ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ २१:४१