‘चलाख त चलाख नै हुन् प्रधानमन्त्री’, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले संवैधानिक इजलासमा प्रधानमन्त्रीमाथि व्यंग्य कसेपछि इजलासमा हाँसो त रोकिएन । तर, इजलास रोकियो ।
थापाले आफू र केपी ओलीले पहिलो संविधानसभा निर्वाचनमा एउटै पार्टीबाट चुनाव लडेर हारेको प्रसंग उप्काएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास रोक्ने निर्देशन दिए । इजलास ‘अब भोलि’ भन्नुअगावै राणाले थापाको स्वरमा स्वर मिलाउँदै थपिहाले, ‘पशुपतिमा पूजा गर्या भन्नुभएन त ?’
अक्सर हतारोमा देखिने इजलास आजचाहिँ ढुक्कै देखियो । विषयवस्तुबाहिर बहकिएर लामालामा बहस हुने, कुरा दोहोरिने र वकालतनामाको संख्या बढी भएकाले इजलासले ४ माघदेखि बहसको समय ३० मिनेट निर्धारण गरेको थियो ।
त्यसपछि प्रधानन्यायाधीश राणाले बहसकर्तातालाई यो नियममा कडाइ गरेका थिए । तर, उनले आज भने कसैलाई समयको पावन्दी लगाएनन् ।
इजलासमा बसेका अधिवक्ता, प्रत्यक्ष प्रसारण सुनिरहेका कानुन व्यवसायी वाक्कदिक्क भइसक्दा पनि राणा भने दिक्दार देखिएनन् । इजलासले समय कटाउँदै छ कि भनेर कानुन व्यवसायीले नै शंका गरे ।
आइतबार १५ मिनेट समय लिएर बोल्न सुरु गरेको वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले आज सोमबार पनि बहस गरे । आइतबार नै पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले बहसका लागि दुई मिनेट समय माग गर्दा प्रधानन्यायाधीश राणाले १ सेकेण्ड पनि हुँदैन भन्दै रोकेका थिए ।
तर, सोमबार भने पोखरेलले डेढ घण्टा बिताइदिँदा पनि इजलासले रोकेन । बिहान साढे ११ बजेदेखि बहसमा उभिएका पोखरेल दिउँसो १ बजेर ११ मिनेटसम्म थाकेनन् ।
यो अवधिमा न्यायाधीशले पनि आफैँ किटेको समय सीमा सम्झिएनन् । बरु न्यायाधीश नै प्रश्न दोहोर्याउन थाले । न्यायाधीश सपना प्रधान मल्लले पोखरेललाई सोधिन्, ‘संविधानसभाका अध्यक्ष र अग्निजीले बाहिर बोलेका कुराले संविधानको मनसाय देखाउँछन् कि, संविधानसभाभित्र भएका छलफल, अवधारणापत्र, मस्यौदापत्रमा लेखिएका कुराले ?’
उनले अर्को प्रश्न पनि जोडिन्, ‘मैले तपाईंलाई सोध्न खोज्या के भने दस्तावेजलाई संविधानको मनसाय मान्ने कि बाहिर बोलेका, पत्रिकाका लेखलाई ?’
यस्तै प्रश्न मल्लले ५ माघमा अधिवक्ता सरोजकृष्ण घिमरेलाई पनि सोधेकी थिइन् ।
संसद र संसदीय दल रहँदासम्म प्रधानमन्त्रीले मेरो विकल्प छैन भन्दै संसद विघटन गर्न नपाउने जिकिर गरिरहेका पोखरेललाई प्रधानन्यायाधीश राणाले सोधे, ‘प्रधानमन्त्री छनोट गर्न नसकेर संसद विघटन भएको उदाहरण कतै छ ?’
पोखरेलको बहस लम्बिदै जाँदा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय शम्भु थापा र शेरबहादुर केसी भने घरिघरि कानेखुसी गरिरहेका देखिन्थे । थापा त केही बेर इजलासमा झोक्राए पनि ।
यता, सरकारी पक्षका अधिवक्ताको नेतृत्व गरिरहेका महान्यायाधिवक्ता अग्नि खरेल भने ढुक्क देखिन्थे । कुर्सीमा देब्रे ढल्किएका खरेल र उनका सहयोगी आनन्दसाथ उपरखुट्टी लगाएर बसेका थिए ।
करिब २ घण्टामा पोखरेलेको बहस सकिएपछि थापाको पालो आयो । थापा उभिनसाथै प्रधानन्यायाधीश राणाले सोधे, ‘कति समय लिनुहुन्छ ? २० मिनेटमा सक्नुहुन्छ ?’
‘गर्दै जाऊँ श्रीमान्, कति सयम लाग्छ त कसरी भन्नु ? म कुरा दोहोर्याउँदिनँ’, थापाले भने ।
राणाले चिया विश्राम लिएर थापाको बहस सुन्ने इच्छा व्यक्त गरे । तर, थापाले एकैछिन भन्दै बहस सुरु गरिहाले । प्रधानन्यायाधीश राणाले छिटो सक्नाेस् है भने ।
सुरुवातमै थापाले इजलास, प्रधानमन्त्री, राष्ट्रपति र महान्यायाधिवक्तामाथि व्यंग्यवाण प्रहार गरे ।
‘म गफ गर्दिनँ श्रीमान्’, थापा अघि बढे, ‘कुरा उनै हुन्, श्रीमान्हरू, राष्ट्रपति र महान्यायधिवक्ता सबैले संविधान पल्टाइरहनुभएकै छ । तपाईं हामीसँग भएको संविधान त्यही हो, अब प्रधानमन्त्रीसँग अर्को संविधान छ भने अर्कै कुरा ।’
त्यसपछि प्रधानन्यायाधीश राणाले चिया विश्राम घोषणा गरे । साढे २ बजे फेरि इजलास सुरु भयो । बहसमा उनै थापा उभिए । सधैँझैँ चिया विश्रामपछि महान्यायधिवक्ता खरेल इजलासमा देखिएनन् ।
ब्रेकपछिको बहसको सुरुवातमा थापाको व्यंग्यवाण झन् धारिलो सुनियो । उनले राष्ट्रपतिमाथि व्यंग्य गर्दै भने, ‘राजपत्र हामीले पछाडि प्रकाशित गरेको भन्दा भइहाल्थ्यो नि, हामीलाई थाहै छ ।’
बहसमा पनि थापाले साथीभाइ शैलीको ‘यार’ शब्द प्रयोग गरे । उनले भने, ‘महान्यायाधिवक्ता पनि मान्छे नै हुन् । मुद्रण विभागका पनि मान्छे नै हुन् । राष्ट्रपति पनि मान्छे नै हुन्, यार । इजलासमा कुरा उठेपछि राजपत्र ९ माघमा प्रकाशित गरेको भन्दा हुन्छ क्या !’
इजलासमा अधिवक्ताहरूले राजपत्रमा संसद विघटन भएको सूचना नआएको कुरा कोट्याएपछि ९ माघमा विभागले आफ्नो वेबसाइटमा राखेको थियो, जसमाथि अहिले शंका भइरहेको छ । राजपत्रको आधिकारिकता जाँच गर्न संवैधानिक इजलासमा निवेदन पनि परेको छ । आइतबार त्यही विषयमा बोल्न पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले २ मिनेट समय मागेका थिए ।
पञ्चायतबाट सुरु भएको अतिरिक्तांक नामको राजपत्र गणतन्त्र आउँदा पनि नसकिएको भन्दै थापाले फेरि व्यंग्य कसे, ‘भाषण गर्न जान्नेले काम गर्न पनि जान्नुपर्यो ।’
त्यसछि ‘श्रीपेचधारी’लाई मात्र परमाधिकार हुने सन्दर्भ कोट्याए थापाले । परमाधिकार प्राप्त व्यक्तिले मात्र मनलाग्दी संसद विघटन गर्न पाउने भन्दै उनले घुमाउरो तरिकाले सोधे, 'कतै हाम्रो राष्ट्रपतिलाई पनि परामाधिकार पो छ कि ? प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले सदर गरेको सूचना हेर्दा परामाधिकारप्राप्त व्यक्तिले गरेको जस्तो देखिने थापाले कटाक्ष गरे ।'
संविधानको धारा ७६ को व्याख्या गर्दै थापाले भने, ‘श्रीमान्बाट विघटन त छ भन्ने कुरा आयो तर मन्त्रीमण्डल बनाउन नसकेमा मात्र हो । धारा ७६ को उपधारा ५ बमोजिम चुनिएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा । अर्को, संसदको पूरा कार्यकाल सकिएमा मात्र संसद विघटन हुन्छ ।’
यसपछि थापा फेरि राष्ट्रपतिले इजलासमा पठाएको जवाफमा फर्किए । ‘यस्तो पनि लिखित जवाफ हुन्छ ?’, थापा जंगिए, ‘धारा ७६ (१), (७) धारा ८५ मा विघटनको अधिकार छ रे, त्यहाँ छैन भने मूल्य मान्यतामा छ रे । त्यहाँ पनि छैन भने कार्यकारणीको अधिकारमा छ रे । अनि त्यहाँ पनि छैन भने अविशिष्ट छ रे । यस्तो पनि लिखित जवाफ हुन्छ, श्रीमान् ?’
जीवित संसदलाई मारेर प्रधानमन्त्री र राष्ट्रपतिले मुलुक/नागरिकलाई सजाय दिएको उनको भनाइ थियो । कानुनले बदला लिने तर्क गर्दै उनले संसद विघटनको सजायको बदला लिन आफू बहसमा उपस्थित भएको बताए ।
‘श्रीमान्हरूलाई परीक्षण गरेको संसद आज छैन’, थापाले भने, ‘श्रीमान्हरूलाई छान्ने, प्रधानमन्त्री छान्ने संसद मारियो । सजाय दिइयो ।’ आफूहरू कानुनले बाँधिएको तर्क गर्दै उनले भने, ‘उहाँले संविधानका दुई वटा धारा पल्टाइदिनुभएकाले हामी त्यसमा बाँधियौँ । कार्यकारी जन्माउने संस्थालाई मार्ने अधिकार कार्यकारीलाई छैन ।’
इजलासले प्रधानमन्त्री खोज्न नसक्ने तर्क गर्दै दायाँ हात उचालेर थापाले भने, ‘यो इजलासले अर्को प्रधानमन्त्री खोज्ने होइन । संसद्ले प्रधानमन्त्री दिइसक्यो । भनेपछि तपाईं (प्रधानमन्त्री/राष्ट्रपति)लाई विघटन गर्ने अधिकार कहाँ छ ?’
संसद विघटन प्रमाणित गर्दा राष्ट्रपतिले धैर्यता नदेखाएको थापाले बताए । तर, इजालसले बहस सुन्ने धैर्यता देखाएको भन्दै थापाले व्यंग्य गरे, ‘साँच्चै विशाल छ है, इजलासको धैर्यता ।’
त्यसपछि थापाले, प्रधानमन्त्रीलाई धुर्त र चलाखको संज्ञा दिए । ‘प्रधानमन्त्री धूर्त र साह्रै चलाख हुन् क्या ! हिजो सँगै एउटै पार्टीबाट चुनाव लड्या हुँ म पनि । माओवादीलाई सँगै गाली गर्यौँ । हिजो सबै माओवादी लडाकुलाई गाली गर्या हो । आज तिनै लडाकुलाई साथमा लिनु खोजिरहनुभएको छ । हो, प्रधानमन्त्री त साह्रै चलाख !’
अनि प्रधानन्यायाधीश पनि व्यंग्यमा उत्रिए । राणाले भने, ‘प्रधानमन्त्री पशुपति गएको कुरा त भन्नुभएन नि !’
त्यसपछि इजलास भोलिलाई सरेको राणाले बताए । थापाले पनि स्वर मिलाए, ‘आज कुरा सकिँदैन श्रीमान्, भोलि नै गरौँ ।’
समय सकिएको घोषणा हुनासाथै थापाले आफ्नो छेउमा बसिरहेका ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति इजलासको ध्यानाकर्षण गराए । ओलीले केही दिनअघि भण्डारीलाई लक्षित गर्दै ‘बाजे’ भनेर होच्याएका थिए । अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’को संज्ञा पनि दिएका थिए ।
‘यो उमेरको मान्छेलाई त्यसरी अनादर गरेर बोल्न मिल्छ ? श्रीमान्हरूले यसमा कारबाही गर्नुपर्यो’, भण्डारीले उभिएर भने, ‘यसमा त श्रीमान्हरूलाई पनि लाज लाग्नुपर्ने हो ।’
तर, श्रीमान्हरू मौनतामै उठे ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७ २१:५५