प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, इन्चार्ज नागेन्द्र यादवलगायतका नेता प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागे पनि जिल्लास्तरमा भने प्रचण्ड-नेपाल समूहकै वर्चश्व देखिएको छ ।
प्रदेशका आठ वटा जिल्लामध्ये सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बाराका अध्यक्ष प्रचण्ड-नेपाल समूहतर्फ खुलेका छन् । तर, धनुषा र पर्सा जिल्ला कमिटीका अध्यक्ष भने ओली समूहमा उभिएका छन् ।
सप्तरीका अशोक मण्डल, सिरहाका रामकुमार यादव, महोत्तरीका राजु खड्का, सर्लाहीका रेवती पन्त, रौतहटका कमल यादव र बाराका जिल्ला अध्यक्ष छत्रबहादुर श्रेष्ठले संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध उत्रिएका प्रधानमन्त्री ओलीविरुद्ध सम्पूर्ण शक्ति संघर्षमा खर्चिने बताए । यस्तै, धनुषाका अध्यक्ष राजकिशोर यादव र पर्साका अध्यक्ष प्रभु हजारा ओली समूहमा लागेका छन् ।
प्रधानमन्त्री ओलीको कदमलाई सकारात्मक भन्दै दुबै अध्यक्ष उनको बचाउमा उत्रिएका छन् । यस्तै, प्रदेशका सात जिल्ला कमिटीका सचिव प्रचण्ड-नेपालसँग छन् भने महोत्तरी जिल्ला कमिटी सचिव सौकीलाल यादव तटस्थ बसेका छन् ।
निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेश नआउन्जेल तटस्थ बस्ने उनको भनाइ छ । ओली समूहले उनको नाम केन्द्रीय कमिटीको सदस्यमा चयन गरे पनि उनी सपथग्रहण समारोहमा उपस्थित भएनन् । सप्तरीका सचिव गोविन्द न्यौपाने, सिराहाका प्रमोदनारायण यादव, धनुषाका श्रवण यादव, सर्लाहीका डाचाराज वाग्ले, रौतहटका युवराज भट्टराई, बाराका सुन्दर विश्वकर्मा र पर्साका विजय महतोले खुलेरै प्रचण्ड-नेपालको समर्थन गरिरहेका छन् ।
नेकपा प्रदेश अध्यक्ष साह, सचिव प्याकुरेल, इन्चार्ज नागेन्द्र यादव लगायतका नेताहरूले ओलीसँगै लागे पनि उनीहरूको जिल्ला स्तरमा खासै प्रभाव देखिएको छैन । पहिलेदेखिकै निकटताका कारण धनुषाका अध्यक्ष यादव र पर्साका अध्यक्ष हजाराले प्रधानमन्त्री ओलीको साथ दिएका छन् । तर नेपाल र प्रचण्ड निकट मानिने जिल्ला स्तरका कुनै नेता ओली समुहमा गएका छैनन् । उनीहरू ओली समूहमा लागे पनि प्रदेशस्तरमा समेत प्रचण्ड-नेपाल समूहकै बहुमत छ ।
अध्यक्ष साहको प्रभाव र स्थायी कमिटी सदस्य मात्रिका यादवसँगको टसलका कारण पूर्वमाओवादीका चार प्रदेशसभा सदस्य ओली समूहमा लागेका छन् भने दुई जना अझै अलमलमै छन् । पूर्वमाओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका रामचन्द्र मण्डल, रुबी साह, कुन्दनप्रसाद कुश्वाहा र मो. समिर ओली समूहमा लागेका छन् ।
मात्रिका यादवसँगको पारिवारिक विवादका कारण पूर्वमाओवादीकै प्रदेशसभा सदस्य दिलिप साहसमेत ओलीतर्फ नै जाने चर्चा छ । तर, प्रचण्ड भारतबाट फर्किंदा छलफलपछि मात्र कित्ता स्पष्ट पार्ने साहले बताए । पूर्वमाओवादीकै अर्की प्रदेशसभा सदस्य फुलिया देवी सदायसमेत साह लाग्ने समूहतिरै जाने अडकलबाजी गरिएको छ ।
यद्दपि खुलेर विरोध र समर्थन गर्ने नेताहरूलाई दुबै समूहले आ-आफ्नोर्फ तान्ने प्रयास जारी राखेकाले कुन बेला को नेता कित्ता परिवर्तन गर्ने ठेगान नरहेको नेकपाका नेताहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७ १९:१९