लेनदेन विवादले धनुषाको विदेह नगरपालिका–२ स्थित दुहबीमा पाँच वर्षीय बालकको हत्या भएको खुलेको छ । गएको बुधबार आफ्नै घर आगडि खेल्दै गर्दा अचानक हराएका जीवन राय आमातका पाँच वर्षीय छोरा अभिनन्दन रायको आफन्त पर्ने सोही टोलकी प्रमिला देवी अमातले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
मृतक बालकको नातामा बाजे पर्ने ब्रहमदेव र जीवनबीच आर्थिक लेनदेन विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो । सोही रिसइवी साँधेर ब्रम्हदेवकी जेठी छोरी २६ वर्षीया प्रमिला देवी अमातले बालकको हत्या गरेको खुलेको हो । हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।
प्रमिलाको प्रहरीलाई दिएको बयानअनुसार बुधबार बिहान करिब ९ बजे खेल्दाखेल्दै बालक अभिनन्दन प्रमिलाको घरमा पुगेका थिए । उनले अभिनन्दनलाई चाउचाउ खान दिएकी थिइन् । दिउँसो करिब १२ बजे बालकलाई निद्रा आउँदा उनले बालकलाई बुवा ब्रह्मेव सुत्ने खाटमा सुत्न पठाइन् ।
सुतिसकेपछि घरमा समेत कोही नभएको बेला दुवै हातले घाँटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरिक्षक बस्नेतले बताए । साँझ करिब साढे ६ बजे अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृतकको लाश उठाइ भैँसी बाँध्ने गोठघरमा सानो खाल्डो खनी मृत बच्चालाई खरानीले छोपी राखेको अवस्थामा शव बरामद भएको थियो ।
शुक्रबार प्रादेशिक अस्पताल जनकपुरमा बालकको शव पोष्टमार्टम भएको छ । हत्याका अभियुक्त प्रमिलामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७ २०:५८