उडेरै छुन्थेँ - आकाश
दौडेरै परिक्रमा गर्थें - पृथ्वी
आँखैले टिपेर घाम- डाँडापारि पठाइदिन्थेँ
हावाले सुसेलेर जान्थ्यो मीठो लय ह्रृदयमा
म त्यसैमा गीत घोलेर प्रेयसीलाई सुनाउँथेँ
उहिले–उहिले म पनि बाँचेकै थिएँ ।
तिमीले त बिर्सियौ होला !
मेरो खुट्टा थियो ।
हात थियो ।
आँखा थियो ।
कान थियो ।
आवाज थियो ।
उहिले–उहिले मसँग सबै थियो ।
तिमीले त बिर्सियौ होला ।
तिमीले छाडेको झोला
तिमीले त बिर्सियौ होला ।
के–के थियो झोलाभित्र ?
– सत्ता !
– व्यवस्था !
– निरंकुशता !
– अत्याचार !
– शोषण !
– अधिनायकत्व !
– स्वतन्त्रता !
– कि
– विद्रोह ?
के थियो झोलाभित्र ?
धूमिल देख्छु आफ्नै फोटा
पुछ्न सक्तिनँ आफ्नै आँसु ।
टाढो लाग्छ घरकै तगारो
सक्तिनँ बाट्न छोरीको चुल्ठो !
श्रीमतीले जतनसाथ खापामा राखेको रेडियोले
सुनाइरहेछ कि माइतीघर मन्डलाको समाचार ?
कि बजाइरहेछ मेरो आफ्नै गीत ?
'एउटा मात्र जुत्ता बेच्न, पसलेले मानेन
अर्को जुत्ता त्यत्तिकै छ, लाउने मान्छे भेटिनँ'
हर साँझ अँगेनामा भर्भराउँछ आगो
तर घरको सँघार नाघेर
मृत्यु कहिल्यै आइपुगेन ।
तिमीले त बिर्सियौ होला ।
मेरो खुट्टा थियो ।
हात थियो ।
आँखा थियो ।
कान थियो ।
आवाज थियो ।
उहिले-उहिले मसँग सब्बै थियो ।
'दशवर्षे द्वन्द्वका क्रममा कुनै पनि पक्षमा नलागेका तर दुवै द्वन्द्वरत पक्षबाट घाइते अपांग बनाइएका नागरिकहरूमा समर्पित
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७ ०७:१७