कतारबाट ३ वर्षपछि दसैँ मनाउन स्वदेश फर्किंदै गरेका काभ्रेका जीवन गौतमले सोमबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ‘एलईडी’ टीभी र सुटकेस डोर्याएर बाहिरिँदै थिए ।
परिवारका सामान्य दुईवटा मोबाइल र घरमा आवश्यक ३२ इन्चको टीभी साथमा लिएर आएको गौतमले बताए । ‘कतारबाट दसैँ मनाउन आउँदा प्रविधिका सामान सस्तो मूल्यमा पाइने भएकाले साथमा लिएर आएको हुँ । यहाँ पनि किन्न परिहाल्छ । त्यही भएर कतारबाटै लिएर आएको हुँ,’ उनले भने, 'प्रविधिका जुनसुकै सामान विदेशमा राम्रो र गुणस्तरीय पाइन्छ । फेरि नेपालभन्दा धेरै छुटमा किन्न पाइन्छ ।’ विदेशबाट आएको भनेपछि परिवारमा उपहारको आस हुने उनको भनाइ छ ।
यस्तै, विमानस्थलबाट बाहिरिँदै गरेका झापामा दीपक कार्कीले पनि साथमा परिवारका लागि मोबाइल, ब्ल्याङ्केट र एउटा टीभी लिएर फर्किएका छन् । दसैँ मनाउन घर फर्किंदा परिवारले विदेशी उपहारको आस गर्ने गरेको दीपकले बताए । यूएईमा विदेश नागरिकका लागि प्रविधिका सामानमा विशेष छुट दिइएको हुन्छ । त्यही भएर लिएर आएको हो ।’
यसैगरी, दक्षिण कोरियाबाट दसैँतिहार मनाउन आएका इलामकी नम्रता अधिकारीले पनि साथमा मोबाइल, ल्यापटप र एउटा टीभी बोकेर आएको बताइन् । ‘कोरियामा नेपालभन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ । त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत धेरै छुट मूल्यमा किन्न पाइन्छ । नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ । कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुट पनि पाइन्छ,’ उनले भनिन्, ‘घर फर्किंदा परिवारले मगाएको अथवा आफूलाई चाहिने प्रविधिको सामान लिएर आउने चलनजस्तै छ । विदेशमा विशेष छुट पाइने हुँदा धेरैले प्रविधिका सामान लिएर आउँछन् ।’
दसैँको टीका आउन एक साता मात्र बाँकी हुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमामा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदारको भीड नै देखिन्छ । गौतम, कार्की र अधिकारी त वैदेशिक रोजगारीबाट फर्किंदै गर्दा विमानस्थलमा भेटिएका प्रतिनिधि पात्रमा हुन् । उनीहरूजस्तै, घर फर्किने धेरै नेपालीले अनिवार्य ३२ इन्चसम्मको टीभी लिएर आउने गरेका छन् । ३२ इन्चसम्मको टीभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ । जसका कारण पनि विदेशबाट फर्किएका कामदारले साथमा अनिवार्य टीभी लिएर आउने गरेको पाइन्छ ।
नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शुल्क छुट भएका कारण पनि आफन्त र परिवारलाई टीभी तथा मोबाइल नै पहिलो रोजाइमा पर्ने गरेको विमानस्थलमा भेटिएका कामदारले बताउँछन् । विदेशमा नेपालमा भन्दा झन्डै आधा मूल्यमा टीभी, ल्यापटप र अन्य मोबाइल फोन किन्न पाइन्छ । जसका कारण धेरै स्वदेश फर्किनेको हातमा टीभी र मोबाइल लिएर आउने गरेको उनीहरूको भनाइ छ ।
सरकारले विभिन्न सामानमा भन्सार छुटको व्यवस्था गरेका कारण उनीहरूले सूचना पाएअनुसार छुटका सामान लिएर जानकारी दिन्छन् । भन्सार छुटका कारण धेरै विदेशीबाट फर्किएका कामदारले टीभी, मोबाइल र ल्यापटप लिएर आउने गरेको पाइन्छ ।
दसैँमा कति बेला परिवार र आफन्तसँग भेटेर खुसियाली मनाउन फर्किएका कामदारले साथमा ल्यापटप टीभी, मोबाइल फोन, ब्ल्याङ्केट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामग्रीहरू बोकेर आउने गर्छन् । दसैँसँगै तिहार मनाउन घर बिदामा फर्किने अधिकांशका साथमा आफ्नाे परिवार र आफन्तका लागि साथमा केही बोकेर फर्किने गरेका छन् ।
अर्थ मन्त्रालयको निजी, गुन्टा, झिटीसम्बन्धी प्रावधानअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक दुई वटासम्म मोबाइल फोन ल्याउन पाइन्छ । तर, विदेशबाट घर फर्किनेहरूले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन् । यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन । तीनवटा मोबाइल ल्याएर आए पनि विमानस्थलमा रहेको भन्सार फाँटमा कुनै पनि जाँचबुझ नहुने गरेको विदेशबाट फर्किने कामदारले बताएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा औसतमा नेपालीहरूको स्वदेश फर्किने संख्या विदेशिनेभन्दा चार गुणा बढी हुने गरेको विमानस्थलस्थित अध्यागमन कार्यालयले जानकारी दिएको छ । दसैँतिहार मनाउन दैनिक ३ हजार फर्किने गरेका छन् । कोरोना भाइरसका कारण दैनिक २ सय मात्र विदेशिने गरेको कार्यालयको अनुमान छ । विदेशबाट फर्किने नेपालीले परिवारका लागि उपहारस्वरुप प्रविधिका सामान बोकर आउने गरेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
सरकारले विभिन्न देशमा रहेका कूटनीतिक नियोगमार्फत के-के कति सामान लिएर आउँदा भन्सार लाग्ने र नलाग्नेबारेमा सूचित गराउँदै आएको उनको भनाइ छ । तर, कतिपयले भनसुनमा भन्सार छलेर लैजान पाइन्छ भन्ने आसमा लिएर आउँदा समस्यामा पर्ने गरको उनी बताउँछन् ।
राष्ट्र बैंकको आप्रवासनसम्बन्धी अध्ययनमा विदेशबाट फर्किएका कामदारले ह्याण्डक्यारीमार्फत वार्षिक ठूलो परिमाणमा सामान लिएर आउने गरेको जनाएको छ । बैंकको अध्ययनमा वार्षिक १ खर्बभन्दा धेरैको प्रविधिका सामान ह्याण्ड क्यारीमार्फत भित्रिने गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७ ०९:०९