इजरायल, संयुक्त अरब इमिरेड्स (युएई) र बहराइनले ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भनेका छन् ।
इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भएको बताएका छन् । अमेरिकाको मध्यस्थतामा ३ देशबीच सम्झौता भएको हो ।
सन् १९४८ मा स्थापना भएयता इजरायलाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।
अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ। तर प्यालेस्टिनीहरूले इजरायलसँग सम्झौता गर्ने कदमको विरोध गरेका छन् ।
प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायलाई बहिष्कार गर्दै आएका छन्।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात् आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ।’
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, ‘यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।’
प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन्।
तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, ‘इजरायलको कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन।’
हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरायलमा दुईवटा रकेट प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ ।
यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डन इजरेललाई औपचारिक रूपमा मान्यता दिएका थिए ।
इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका थिए ।
उत्तर–पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मौरिटेनियाले सन् १९९९ मा इजरेलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो । तर उसले सन् २०१० मा सम्बन्ध तोडेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ १३:४७