गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातविना नै चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।
मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर यहाँबाट प्रशोधन गरी भारत पठाउँदा निर्यात बढेको देखिएको विगतबीच साउनमा भने फरक परिदृश्य देखिएको हो ।
भन्सार विभागका अनुसार साउनमा कुल ९ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको छ, जुन २ अर्ब २७ करोड रुपैयाँको निर्यात भएको देखिन्छ ।
गत आवको साउनभर ८ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको थियो । जसमा महत्वपूर्ण हिस्सा पाम तेलको थियो । उक्त अवधिमा नेपालबाट एक अर्ब ७५ करोड रुपैयाँको पाम तेल निर्यात भएको थियो ।
सूचीको दोस्रो स्थानमा रहेको भटमास तेल भने केवल ४५ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । विभागका अनुसार चालू आवको साउनमा नेपालबाट पाम तेल निर्यात भएको छैन । निर्यातमा भारतको अस्थिर नीतिका कारण यतिबेला नेपालबाट पाम तेल निर्यात हुन सकेको छैन ।
यस वर्ष साउनमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुनेमा कालो चिया रहेको छ । नेपालले ७२ करोड ७८ लाख रुपैयाँको कालो चिया भारत निर्यात गरेको छ । त्यसपछि ४७ करोड ६२ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।
गलैँचा ३७ करोड ४५ लाख रुपैयाँको निर्यात हुँदा २७ करोड २८ लाख रुपैयाँको बुनेका कपडा निर्यात भएको छ । निर्यात भएका प्रमुख यी ५ वस्तुमध्ये गलैँचाबाहेक बाँकी सबै भारतमा मात्र निर्यात भएका वस्तु हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७ १२:१८