२ सातादेखि देशभर परेको अविरल वर्षाका कारण कृषिमा ठूलाे क्षति पुर्याएको छ । वर्षाका कारण विभिन्न गएको बाढीपहिरोका कारण देशभर ८९ हजार ३ सय ३४ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ । बाढीपहिरोमा परी १ हजार ५ सय ८१ वटा चौपाया तथा पशुपन्छी मरेका मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।
यो वर्ष बाढीले सबैभन्दा धेरै प्रदेश-२ मा धान रोपाइँ भएको जमिन डुबान भएको मन्त्रालयका प्रवक्ता डा केसीले बताए । ‘करिब ९ सय कुखुरा बाढीले बगाएको छ । भने साढे ५ सय अन्य पन्छी बगाएको विवरण मन्त्रालयमा आएको छ । हाल सम्म कृषि मन्त्रालयले ५ करोड रुपैयाँभन्दा धेरैको पशुपन्छी बगाएको मन्त्रालयको अनुमान छ,’ उनले भने, ‘देशभर बाढी पहिरोका कारण कति क्षति भएको छ भन्ने विवरण लिने काम भइरहेको छ । हाल बर्षा र बाढीपहिरो गाइरहेकाले विवरण लिन समस्या भइरहेको छ ।’
प्रदेश-१ र ३ मा बाढीपहिरोले कति क्षति पुर्याएको प्रारम्भिक विवरण मन्त्रालयमा नआएको उनको भनाइ छ । यी प्रदेशमा पनि बाढीपहिरोले डुबान, कृषि र पशुपन्छीमा क्षति पुर्याएको भए पनि विवरण लिन बाँकी रहेको मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिए ।
लगातार गएको बाढीपहिरोले देशभर ५ करोड रूपैयाँबराबरकाे पशुपन्छी बगाएको मन्त्रालयको अनुमान छ । अन्य नगदेबाली, बोटविरुवा र खेतीपातीमा क्षति पुर्याएको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार तराईमा दिनहुँ परेको पानी रोपाईं भएको जमिन डुबाए पनि धान बगाएकाे छैन । ८ सय हेक्टरमा पहिरोका कारण बालीमा क्षति हुन सक्ने मन्त्रालयको अनुमान छ । बाढीले कति जमिन कटान भएको छ भन्ने विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएकाे छ ।
कुन प्रदेशमा कति क्षति ?
लगातार परेको पानीले प्रदेश-२, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा धेरै क्षति पुर्याएको कृषि मन्त्रालयले जानकारी दिएको छ । प्रदेश-१ र ३ को क्षतिको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश-२ मा ८८ हजार ६ सय २९ हेक्टर जमिन डुबान भएको मन्त्रालयले जनाएको छ । जसमा ५० प्रतिशत धान रोपाइँ भएको जमिन डुबान भएको मन्त्रालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा १ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा बाढीपहिरोले नगदेबालीसँगै धान रोपाइँमा क्षति पुर्याएको छ । यो प्रदेशमा ५ सय पशुपन्छी बाढीपहिरोले बगाएको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश-५ मा १ सय ८७ हेक्टर क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । जसमा करिब ४ सय पशुपन्छी बाढीपहिरोले बगाएको मन्त्रालयकाे तथ्यांक छ । यो प्रदेशमा बाढीपहिरोका कारण धान, मकै बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा बाढीपहिरोले २ सय १२ रोपनीमा लगाइएको धान खेतमा क्षति भएको छ । सुदूपश्चिम प्रदेशमा ३ सय ५० ब्रोइलर कुखुरा र ५ वटा गाई बाढीले बगाएको छ ।
लगातार परेको वर्षाका कारण मानिसको दैनिकी कष्टकर बनाए पनि कृषिबालीमा त्यति ठूलो नोक्सानी नपुर्याएको मन्त्रालयका प्रवक्ता डा. केसीले जानकारी दिए । बाढीपहिरोले के कति क्षति पुर्याएको छ विवरण लिने काम भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७ १२:२५