सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने बताए ।
विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एसईईका बारेमा मन्त्रिपरिषद्को निर्णय पूर्ण रूपमा आएपछि मात्रै बोर्ड बैठकबाट यस विषयमा धारणा बनाउने प्रतिक्रिया दिए । विद्यालयले मनपरी तरिकाले विद्यार्थीको मूल्याङ्कन गर्न सक्ने र त्यसको प्रमाणीकरण गर्ने जिम्मेवारी मात्रै बोर्डलाई दिने हो भने सकारात्मक सन्देश जान कठिन हुने उनको भनाइ छ ।
विद्यालयलाई नै विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी दिने हो भने प्रमाणीकरणका लागि मात्र बोर्डमा आउनुपर्ने अवस्था राख्न नहुने उनको सुझाव छ । धेरै अध्ययन गर्न पाएको छैन तर अन्तिम मूल्याङ्कन विद्यालयले गर्ने हो भने फेरि प्रमाणीकरणका लागि मात्रै विद्यालयलाई किन दुःख दिनु ? प्रा. डा. पौडेलले भने ।
प्रमाणीकरण गर्न नपर्ने अवस्थामा विद्यार्थीको मूल्याङ्कनमा विद्यालय र प्रधानाध्यापकलाई जिम्मेवार बनाउन कठिनाइ हुने उनको तर्क छ ।
विद्यालयले प्रयोगात्मक विषयको अङ्क भारमा विद्यार्थीको शतप्रतिशत नै अङ्क पठाएबाट पनि आफूहरू आजित भएको प्रा. डा. पौडेलकाे दुःखेसो छ । सरकारको लिखित निर्णय हेरेपछि मात्रै बोर्डले आफ्नो काम अघि बढाउने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ ०७:०९