बैतडीको एउटै गाउँमा ३ हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका-८, खोड्पेका २९ घरपरिवार किसानको २ सय रोपनीमा ३ हजार मेट्रिक टन आलु फलेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाएपछि २९ घरपरिवार किसानले पूरै गाउँमा सामूहिक आलु खेती गरेका हुन् । यो वर्ष हिमपात र पानी परेका कारण सोचेभन्दा बढी आलु फलेको सिद्धसिगास आलु पकेट विकास समितिका संयोजक नरबहादुर विष्टले बताए ।
आलु फलाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५ लाख रूपैयाँ बराबरको बीउ, मल, प्रविधि र मिनिटिलर अनुदान पाएपछि पूरै गाउँमा व्यावसायिक आलु खेती गरिएको विष्टले बताए । बन्दाबन्दीका बेला धेरै आलु फले पनि बिक्री गर्न बजार बन्द भएको र भण्डारण गर्न चिस्यान केन्द्र नहुँदा किसानलाई उल्टो समस्या भएको छ ।
आलु ढुवानी गरेर बजारीकरण गर्न पनि समस्या भएपछि किसानले कृषि ज्ञान केन्द्रसँग गुहार मागेका छन् ।
आलु फलाउन अनुदान दिएको कृषि ज्ञान केन्द्रले आलु ढुवानी गर्न गाडीको व्यवस्था गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताए ।
सुदूरपश्चिममा पहाडी आलुमध्ये बैतडीको खोड्पेको आलु धेरैले रुचाउने गरेका छन् । खोड्पेको आलुको बजार मूल्य अहिले ६० रूपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।
किसानले फलाएको आलु जिल्लाभित्र र प्रदेश राजधानी धनगढीसम्म ढुवानी गर्न किसानलाई गाडीको व्यवस्था र अनुदानसमेत दिने तयारी भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ ०६:२९