कालेकी आमा !
मलाई थाहा छ
हरायो भन्यौ होला
बिर्सियो भन्यौ होला
म त मेरा यादहरू समेत
कतै संक्रमित भएर
घरसम्म नपुगून् भनेर
दिमागलाई मर्फिनले लठ्याएर
बेहोस भएर लडिरहेको छु
क्वारेन्टाईनको कैदभित्र ।
म जस्तै बेखर्चीले
अचेत भएर पछारिइरहेको छ
मेरो मोबाइल पनि
खाकीको पाइन्टको खल्तीभित्र ।
अवस्य सोध्नेछ्यौ
- कस्तो छ क्वारेन्टाइनमा ?' भनेर
के भनुँ कालेकी आमा !
घरि लामखुट्टेले टोक्छन्
घरि आमाको अनुहारले टोक्छ
घरि आफ्नै टाउकोमाथि
थुप्रिँदै गएको ऋणले टोक्छ
उडुस र उपियाँले जस्तै ।
कोरोनाको ज्वरोले भन्दा
बढी थलिएको छु कहरको ज्वरोले
पचास डिग्रीको तातोभन्दा
चर्को छ चिन्ताको राप
भोकको रनाहाभन्दा
ठूलो छ यतिबेला शोकको राँको ।
मेरै बाटो हेरेर नबसेस् भुन्टेकी आमा !
अनि नढाँटेस् नानीहरूलाई
- 'बा चाँडै आउँछन् भनेर
यो मरुभूमिको तातो ज्वालामा
रपरपी पोलिएको छु ज्यूँदै चितामा
कोभिडबाट मात्र होइन
ग्रसित छु अरू थुप्रै रोगबाट
बेरोजगारी/बेतलबी
बेखर्ची/तनाव
अनिद्रा/आत्मग्लानि
आदि इत्यादिबाट ।
आइसोलेसन वार्डमा
कुनै सुविधा छैनन् प्यारी !
आत्मविश्वासको भेन्टिलेटरभित्रबाट
लिइरहेको छु अक्सिजन आफ्नै निश्वासको
चलाएर अहिलेसम्म साहसको सलाइन
डोज लिइरहेको छु सान्त्वनाको सिटामोलको
जीत भएछ भने मेरा इच्छाशक्तिको
इम्युनिटीको
यदि झुक्किएरै भए पनि पासको पुर्जी
थमाइदियो भने मृत्युले
अवश्य आउनेछु
तर, अफसोस् ! आइहालेछु यदि भने पनि
छोरोले मलाई
- 'पापा खै बाबा ?' भनेर
खल्तीमा हात घुसार्दा
भेट्नेछ खालि बोर्डिङ पासको चिर्कटो
छोरीले मलाई
- 'नाना खै बाबा ?' भनेर
झोला खोतल्दा
भेट्नेछ केवल खुइलिएको पासपोर्ट
तब के मुख लिएर फर्कूं रित्तो हात
भन त कालेकी आमा !
कहाँ बिर्सेको छु र घर छाड्दाको चुहिने छानो
अक्षता मोल्न बेसाएको चामलको मानो
आमाको दमको ओखती
तिम्रो मक्किएको धोती
नानी-बाबुका खाली पैतालाहरू !
प्राण यतै गएछ भने पनि
खुसी हुनेछु एउटै कुराले कि-
पठाउनेछैनन् घरदेशमा
परदेशबाट काठको बाकस
आमा लड्न पाउनेछैनन्
बेहोस भएर मेरो लासमाथि
छाद हाल्न आउनेछैनौ तिमी
बतासिँदै मेरो छातीमा
अनि झुन्डिन पाउनेछैनन्
बालबच्चा घाँटीमा ।
के गर्छ्यौ त भुन्टीकी आमा !
चित्त बुझाउने बाटो न हो
……….
मलाई माफ गर है कालेकी आमा !
सामाजिक दूरी राख्ने भन्दै
न क्वारेन्टाइनबाट निस्कने अनुमति दियो पालेले
चिठी संक्रमित छ भनेर
न लिन मान्यो डाँकवालाले ।
कालेकी आमा !
अरू सप्पै बिर्से पनि
जिन्दगीले पढाएको एउटा पाठचाहिँ कण्ठ छ
- सास रहेसम्म आस मार्नुहुन्न ।
बाँची फर्केछु भने भेटौँला
चालीस कटेसि रमाऔँला ।
उही तिम्रो मनभित्रको मनको मान्छे
मनबहादुर नेपाली ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७ ०७:१९