कोरोनाको पीसीआर टेस्ट गराइदिन आग्रह गर्दै टेकु अस्पताल पुग्नेको भीड थाम्नै नसकिने गरी बढेपछि अस्पतालले प्रभावित क्षेत्रबाहेकका मानिसलाई परीक्षणका लागि नआउन आग्रह गरेको छ ।
बिहानैदेखि उपत्यका मात्र नभई आसपासका जिल्लाबाट समेत परीक्षण गराउन माग गर्दै मानिस आएपछि अस्पतालले भीड थेग्न नसकेको जनाएकाे छ ।
अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार लक्षण नै नभएका र प्रभावित जिल्ला वा संक्रमितको सम्पर्कमा नआएका समेत अस्पताल आएपछि सुरक्षा चुनौती झन् थपिएको छ ।
उनका अनुसार परीक्षण माग्दै आएका २० जनाको स्वास्थ्य परीक्षण गर्दा ५ जनाको मात्र पीसीआर गर्नुपर्ने अवस्था देखिएको छ ।
‘बिहानैदेखि अनावश्यक मान्छे आए, हामीले थाम्नै सकेनौँ,' प्रवक्ता बाँस्तोलाले शिलापत्रसँग भने ।
उनका अनुसार हालै उपत्यका छिरेका व्यक्तिलाई कोरोना परीक्षण नगराई घरबेटीले घरमा छिर्न नदिएको भन्दै मानिसहरू परीक्षणका लागि आग्रह गरिरहेका छन् ।
‘घरबेटीले घरमा छिर्न दिएन, कोरोना परीक्षण गरिदिनुपर्याे भन्दै मानिस आएका छन्, यो भीड अब हामीले थेग्नै नसक्ने गरी बढेको छ,’ डा बाँस्तोलाले भने ।
उनले थपे, ‘प्रभावित क्षेत्रभन्दा बाहिरका अस्पताल नआउनुस्, उपत्यका र आसपासमा बसिरहेका पनि नआउनुस् भनेका छौँ । तर, हामीले भनेर थाम्ने अवस्था छैन ।’
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७ १२:१८