चीनको वुहानबाट फैलिएको कोरोनाबारे धेरैले अनेकौं तर्क र अनुमान गरेका छन् । बिना सेन्सरसिप सामाजिक सञ्जालले तत्काल भाइरल पनि बनाउँछ। मान्छेको कल्पनाशीलतामा शंका, उपशंका र लघुशंका मिसिएपछि थप बुझीनसक्नु भएको छ, कोभिड-१९ ।
भनिन्छ, मानव मस्तिष्कमा नकरात्मक विषयलाई छिटो टिप्ने र पत्याईहाल्ने विशेष क्षमता रहेको हुन्छ। जुनसुकै वा जोसुकैको कारणले भएपनि यो महामारी क्रमशः तेस्रो विश्वयुद्धमा परिणत बनेको प्रतित हुन्छ ।
यस डरलाग्दो विपदको हरेक पलमा संक्रमितको संख्या आकासिंदो छ। भाइरसले खोसेको जीवनको ग्राफ र त्रासदीपूर्ण मनोविज्ञानले सारा संसारलाई विचलित बनाइदिएकोछ। यस्तो लाग्छ, विज्ञान र प्रविधि लाचार हुँदैगर्दा हरेक मान्छेको ध्यान पुनः आध्यात्मतर्फ खिचिंएकोछ। मान्छेले आफू, वातावरण र पृथ्वीको सिमा र क्षमतालाई आत्माबोध गर्नुपर्ने भएकोछ। यसप्रकार, आजको एक्लो, व्यवसायिक र यान्त्रिक मान्छे क्रमशः पारिवारिक, सामाजिक र प्राकृतिक हुँदै आएको आभाष हुन्छ ।
विश्वव्यापीप्रभावरविश्लेषण
कुनै पनि प्रकारको भेदभाव विना वर्गहिन आक्रमण गर्ने कोभिड-१९ कोरोनाको इतिहास, कारण र प्रभाव छदैछ। "जीवनको लागि संघर्ष होस वा संघर्षका लागि जीवन", मानवसभ्यताको इतिहासनै जर्जर युद्ध, कहाली लाग्दो हार र जितको नेतृत्वबाट सिंचितछ। नदेखिने शत्रुको विरूद्धमा हरेक वर्गका व्यक्ति, संघ-संस्था र शक्ति सम्पन्न राष्ट्रहरूसमेत निरन्तर जुधिरहेकाछन् ।
समग्र विज्ञान र प्रविधियुक्त विकासलाई नै ठाडो चुनौति दिदैं लाखौं मानिसहरू संक्रमित भईरहेकाछन्। हजारौंले ज्यान गुमाएका छन् । मान्छेकै स्वभाव, लापरवाही, हेलचेक्राई, वाध्यता, अभाव, दवाव र जित्ने लालसाका कारण सामान्य भाइरस यतिबेला वैश्विक महामारीमा परिणत भएको छ ।
कोभिड-१९ कोरोना प्रकोपले विश्व इतिहासमा पोतेको विनास र अबरूद्ध भन्दा माथि उठेर मानवीय पुनरूत्थान र विकासको सिद्धान्त अनुरूप यसैका केही सकारात्मक परिवर्तनतर्फ विश्लेषण गर्नु श्रेयश्कर हुन्छ ।
कोरोना प्रकोपले विश्वलाई नै लकडाउन गरेपछि संसारभरका सरकार र निजी क्षेत्र बीचको भूमिका थप प्रष्ट भएको छ । निश्चय नै यो प्रकोप चुनौति मात्र एउटा नभई अपूर्व अवसर पनि थियो । संसारभरका सरकारले देखाएको जिम्मेवारी र उत्तरदायी भूमिकाले सरकारको निर्विकल्प र अनिवार्यतालाई पुनः स्थापित गरेको छ । सरकार र जनताबीचको सामाजिक करारको सिद्धान्तलाई ताजा बनाएको छ ।
सरकारकै भूमिकामा पनि यसले तात्विक परिवर्तन ल्याइदिएकोछ। नीजी क्षेत्रको सामाजिक उत्तरदायित्वतर्फ राहतकोषका पछिल्ला घोषणालाई अपवाद मान्ने हो भने नीजि क्षेत्र र तथाकथित धनाढ्य घरानाहरूको मौनताले उनीहरूभित्र लुकेको गरिबी छताछुल्ल पारेको छ ।
विश्वव्यापीकरणको प्रवाहमा राष्ट्रियता, अन्तर्निर्भरता, सरकारको जिम्मेवारी, निजी क्षेत्रको साझेदारी र उत्तरदायित्व, विज्ञानको सिमा, प्राकृतिक उपाय, चेत र स्वव्यवस्थापन, स्वाधिनता र नागरिक कर्तव्य आदिको पाठ बोकेर कोरोना विश्व चाहार्दै छ । आश्चर्य तब लाग्छ, जब यसले स्वघोषित विकसित र उन्नत पश्चछिमा मुलुकहरूको तुलनामा निकै कम विकसित नेपालजस्ता मुलुकमा बर्वादी मच्चाउन असफल भयो र गोर्खाली नागरिकको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदर्शन गरी विश्वसामु प्रमाणित गर्ने अपूर्व अवसर पैदा भयो ।
नेपालमाप्रभावरविश्लेषण
विरताको ईतिहासमा गोर्खालीको नामै काफी छ। कोरोनासँग लड्न नेपालको अद्धितीय हावापानी सहितको भुगोल, नाकाबन्दी खेप्ने अनुभव सहितको सहनशक्ति, लकडाउन सफल पार्ने धैर्य र सनातन आहार विहारसहितको संस्कार मजबुत देखियो। तथाकथित भ्रम र भयभन्दा धेरै माथी नेपाली समाज र अपनत्व छ ।
नेपालीको अदम्य शाहस, आपसी विस्वाससहितको साझेदारी र सहकार्यबाट नै विश्वजगतलाई एकपटक फेरि चकित पार्नु आजको आवश्यक्ता बनेकोछ।परिमाण (मात्रा) मा होइन परिणाम (नतिजा) मा मृत्युको हिसाबले नेपाली भु-भाग कोरोनामुक्त नमुना मुलुक बनेकोछ। भद्दा मजाक सहि, "चाइनाको गुणस्तरीय उत्पादनले परम्परा देखि नै नेपाली बजारमा प्राथमिकता पाएकोछैन।" नेपालको सन्दर्भमा कोरोनाले पारेको प्रभाव, शोकलाई शक्तिमा रूपान्तरण गर्नेगरी देहायबमोजिमको क्षेत्रगत विश्लेषण गरिएको छ ।
वातावरण र प्रभाव
कोरोना भाइरसका कारण सारा विश्व नै एकसाथ लकडाउन भएको छ । विश्वभर नै उद्योग, कलकारखाना र सवारी साधन ठप्प प्राय छन् । समय मानौं रोकिएको छ । यस्तो लाग्छ, सारा संसार आराममा छ ।
प्राकृतिक वातावरणमा यसबाट गजबको प्रभाव परेको छ । संभवत, धेरै पुस्तापछि यही पुस्ताले नै यति धेरै उन्नत वातावरण प्राप्त गरेको छ । यसअर्थमा कोरोनाका हजार अवगुण भएपनि, लकडाउनले अर्थतन्त्रमा तबाही मच्चाए तापनि समग्र वातावरणमा यसको सकारात्मक प्रभाव परेको छ ।
वातावरण प्रदुषणमा अनपेक्षित न्यूनीकरण हुँदा यसको प्रत्यक्ष लाभ इके सिस्टममा परेको छ । यसबाट क्रमशः नागरिक स्वास्थ्य, प्राकृतिक चिकित्सा र दीगो विकासमा प्रभाव परेको छ । वातावरणविदका अनुसार वातावरण जगेर्नाको सन्दर्भमा यो लकडाउन अनुपम अवसरमा परिणत भएकोछ । यो पुस्ताकै लागि सर्वाधिक स्वच्छ वातावरणको समय बन्न पुगेको छ । वातावरण संरक्षणमा यसको ठूलो योगदान छ ।
परिवार र सम्बन्ध
विपद र दुःखको घडिमा नै मान्छेले मान्छे चिन्छ। उसले आफ्नो-अर्को खुट्याउछ। यस महामारीले सारा जगतलाई आफ्नो घरपरिवार र सम्बन्धको स्मरण गराएकोछ। नेपालको सन्दर्भमा यो थप महत्वको छ ।
विकास र प्रगतिको लागि एकोहोरिएको मान्छे आफ्नो धरातल संझेको छ । आफन्तको खोजमा गाँउ शहर फर्किएकोछ। सिमापारीको बेथा आफ्नो धर, परिवारसँग जोडिने लालसा मात्र हो । यसैमा मान्छेले आफूलाई सर्वाधिक सुरक्षित महशुस गरेको छ ।
रूखको विस्तार र विकास जरासँग धेरै सम्बन्धित हुँदोरहेछ । देश विदेशको नेपाली यतिवेला "जननी जन्म भूमिश्चय स्वर्गादपि गरियसी" नेपाल फर्कन चाहान्छ । यही नेपालीपन र नेपालीमन पनि हो । नेपालीको घर, परिवार र सम्बन्धको अद्भूत विशेषता भुकम्प, नाकाबन्दि र यो कोरोनाले एकपल्ट फेरि स्पष्ट पारेको छ ।
संसारले आफ्ना नागरिकहरू मुलुक भित्राएझै नेपालीहरू पनि जुनसुकै मूल्यमा नेपाल फर्कन र आफ्नो पारिवारिक ममत्व र अपनत्वमा बाच्न पाउनुपर्छ । जीवनको सार लुकेको यो सम्बन्धको तथ्य बुझाउन कोरोना सफल भएको छ ।
खानपिन र आरोग्यता
जङ्कफुड, फ्रिजको चिसो र काचो खाना पूर्वीय सभ्यता होइन। तरोताजाँ, स्वपाक्य, राम्ररी उमालेर पाकेको तात्तातो खाना टपरी वा थालमा परोसेर त्यो पनि हातैले खानु नेपालीको मौलिक तरिका हो ।
हरेक खाना पकाएरै खाने बानी र धुलो धुँवा पचाएको प्रतिरोधात्मक शक्तिले कोरोना भाइरसलाई परास्त गरेको छ । यति मात्र नभएर लकडाउनले नेपाली जनमानसमा आफनो स्वाश्थ्यप्रति सचेत रहन सिकाएको छ ।
साबुन पानीले हात धुन, घरमै पाकेको शुद्ध खाना खान, उमालेर पानी पिउन र अनावश्यक हेलचेक्राई गरी जोखिम नलिन सिकाएको छ । यसले नेपाली नागरिकको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ ।
योग, ध्यान, आध्यात्म र सात्विक जीवनशैलीका कारण मान्छेको बेचैनी न्यून भएकोछ। क्रमशः मान्छेको जीवनमा शान्ति, प्रेम र आरोग्यता छाएको छ । व्यापारी निजी अस्पतालहरू यतिवेला विरामी नपाएर रूनु र हास्नु बनेकाछन् । लाखौं खर्च गरेर डाक्टर बनाउनैपर्ने नेपाली मनोबिज्ञानमा यसले क्रमभंगता गर्ने निश्चितप्रायःछ । स्वव्यस्थापन, पूर्वतयारी र रोगथामको नेपाली संस्कारको पुनरूत्थानमा कोरोना महामारी नै हाम्रो सन्दर्भमा एउटा कोशेढुङ्गा सावित भएको छ ।
संस्कार र परिवर्तन
हात मिलाउने, अंकमाल गर्ने, जुठो चलाउने अर्थात छातछुत गर्ने हाम्रो संस्कार होइन । नमस्कार गर्ने, चोखो निधो गर्ने र सम्यक दुरी कायम गर्ने हाम्रो मौलिक परिचय हो । यहीँ संस्कार र सभ्यताका कारण नेपालमा लकडाउन तत्काल सफल भयो।
प्रारम्भमा हामीले यो महामारीको मर्म बुझेनौ र तत्काल हामीसँग कोरोना पत्ता लगाउने उपकरणको अभाव थियो । समय, संस्कार र लकडाउनले कोही कदाचित कोरोनाबाट संक्रमित भएको अवस्था रहेछ भने पनि यतिबेलासम्म निको भैसकेका छन् । हाम्रो सन्दर्भमा यहीँ गरिबी, अभाव र अज्ञानता स्वयम् वरदानमा परिणत भएको छ ।
शिक्षा र नैतिकता
संसार एक रंगमञ्च हो र जीवन एउटा क्षणभंगुर मात्र हो । जीवनको विकास, विस्तार र जगेर्नाको एक मात्र आधार शिक्षा हो । राम्रो-नराम्रो, गुण-दोष छुट्याउने कसि नै गुणस्तरीय शिक्षा हो ।
शिक्षाले नै निरन्तर सुधार र मोक्षतर्फ डोहोर्याउछ। शिक्षाको पनि मुहान नैतिकता हो। यही नैतिकताको जगमा हुर्केको मान्छे देवतुल्य हुन्छ । उसले समस्त प्राणीजनको हितमा सोच्छ र कार्य गर्दछ । "सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्चन्तुः महाकश्चित दुःख भागभवेतः" पदार्थ र चेतनाको चेपबाट दर्शन जन्मन्छ ।
यसैले विकास र विनास पैदा गर्छ। नेपालको शिक्षा व्यापारी भयो, व्यवसायीक भएन। माछा खान सिकायो, मार्न सिकाउन सकेन। फलस्वरूप शिक्षामा नैतिकताको ठूलो अन्तर देखा पर्यो। सरकारका सबै स्वरूपहरूमा नैतिकताको प्रश्न उठ्यो ।
या त शिक्षा पुगेन या नैतिकता। निजी क्षेत्रका अस्पतालहरूको उपचारमा आनाकानी यसको दृष्टान्त मात्र हो । नेपालमा नीजि क्षेत्र सामाजिक उत्तरदायित्वको लागि शिक्षित र नैतिक कहलिन सकेन ।
सरकारका कामलाई विश्वास गर्ने नैतिक दायित्वको अभाव देखियो । अनाहकमा आग्रह, पूर्वाग्रह र दोषारोपणको हाम्रो मनोविज्ञानमा हाम्रै शिक्षा र नैतिकताको मात्रा झल्कन्छ । यसर्थ, कोरोना प्रकोपले नेपालको शिक्षा पद्धति, कार्यसंस्कृतिमा नैतिकता र निर्णयमा पुनरावलोकन गरी सर्वजन हितायको मौलिक दर्शनलाई आत्मसात गर्नुपर्ने तथ्यलाई उजागर गरेकोछ ।
सरकार र समन्वय
नेपाली समाजमा सरकारको विकल्पबारे निकै चर्चा हुन्छ । कतिसम्म भने योग्यतामा आधारित स्थायी सरकार पनि बेलाबखत निशानामा पर्छ । जब-जब जोखिम उच्च हुन्छ र नितान्त कठोर निर्णय लिनुपर्ने हुन्छ। यसैको व्यवसायिकता र निर्विकल्पता अपरिहार्य देखापर्छ ।
आफ्नो ज्यान जोखिममा हालेर सेवामा लागेका सरकारी स्वाश्थ्यकर्मी हुन वा सुरक्षाकर्मी वा कर्मचारी र सार्वभौम मालिक र उनका जनप्रतिनिधि नै किन नहुन सबैमा निजि क्षेत्र र सरकारको भूमिकाको बोध भएको छ ।
हरेक तहका सरकार र यसका अवयवहरूको सहकार्य, समन्वय र सहअस्तित्वको व्यवहारिक नमुना कोरोनाले दिएको एक अनिवार्य गृहकार्य बनेको छ । यसले निर्वाचित जनप्रतिनिधि र व्यवसायिक सरकारी संयन्त्र रहनैपर्ने मान्यतालाई गहिरोढंगले स्थापित गरेको छ । लकडाउन सफल हुन र कोरोना महामारीबाट बच्न र बचाउन नेपालमा संघियताको अभ्यास सफलिभूत भएको छ । कोरोनाकै कारण सहि तर सबैतहका सरकार र नेपाली नागरिकबीच आपसी विश्वासका साथ प्रभावकारी समन्वय र सहकार्यको एउटा सुखद शुत्रपात भएको छ ।
उद्यम र सामाजिक उत्तरदायित्व
निश्चय नै यतिवेला विश्व अर्थतन्त्र नै धरापमा परेको छ । नेपाल यसबाट अछुतो रहने कुरा भएन । लकडाउनले नेपालको पर्यटनसँग जोडिएका सबै आयामिक उद्यममा प्रत्यक्ष प्रभाव पारेको छ । यो भन्न लाज मान्नुपर्ने छैन कि सभ्यता र दर्शन छाडेर आर्थिक रूपमा नेपाल एउटा गरिब देश हो । कर तिर्न भन्दा छल्न उद्दत मनोविज्ञान सबै क्षेत्रमा व्याप्त छ ।
सरकारी ढुकुटीमा फुपुको श्राद्ध गर्ने कथन कुनै नयाँ रोग होइन । जनताको रगत, पसिना र योगदानबाट नै सरकारी ढुकुटी बनेको हुन्छ । यही मर्मको बोध हुनु ठूलो कुरा हो । यस विपदको घडिमा पनि नेपाल सरकारले गच्छे अनुसार केहि राहतका प्याकेजको घोषणा गर्यो ।
घरधनीलाई घरभाँडा मिनाहाका लागि अनुरोध गर्यो । सो रकमलाई करमा मिलान गर्ने घोषणा गर्यो। निजि बिद्यालयलाई एक महिनाको शुल्क फिर्ता गर्न आग्रह गर्यो । निजि अस्पताललाई जिम्मेवारीबाट नभाग्न आग्रह र चुनौति दियो ।
हरेक नागरिकलाई कर्तव्य पालना र सरकारलाई सहयोगका लागि अपिल गर्यो । बिधुतको महशुल कम गर्ने र कोरोनाको निशुल्क औषधोपचार गर्ने निर्णय गर्यो । व्याज, किस्ता र कर विषयक सुविधा दियो । यो सबका वावजुद निजीक्षेत्रले सामाजिक उत्तरदायित्वलाई वेवास्ता गरिरह्यो ।
संसारभर उन्नत मुलुकहरू नागरिकहरूले अपार मायाँ र गहिरो विश्वासले निर्माण गरेका हुन् । सरकारले गरेका काम कारवाहीको मूल्याङ्कन जनताले अवश्य गर्नेछन । यस्तो विषम परिस्थितिको फाइदा उठाउने जो सुकैले समयको कठघरामा उभिनै पर्नेछ । गालीमा ताली होइन, सरकारको अनुरोधलाई शिरोधार्य गर्ने र सामाजिक उत्तरदायित्व निर्वहन गर्नु सबै-सबैको साझा कर्तव्य हो भन्ने पाठ कोरोनाले सिकाएको छ ।
राष्ट्रियता र गुणस्तरीय जीवन
"देशभक्ति त मर्दैन, चुत्थै देश भएपनि," प्राण भन्दा प्यारो देश हुन्छ भन्ने तथ्य कोरोनाले पुष्टी गरेको छ । संसारका सबै मुलुकहरूले आफ्ना नागरिकप्रति देखाएको संवेदनशीलता र जिम्मेवारीपना अनि नेपालले पनि संविधानकै आभारभूत मुल्यको रूपमा राखेको मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताले नेपाली नागरिक जीवन जनताद्वारा, जनताको र जनताका लागि सुनिश्चित गरी सर्वाङ्गिण विकास सहितको गुणस्तरीय जीवनको दिशा निर्दिष्ट गरेको छ ।
यसैको जगमा मुलुकको राष्ट्रियता पनि घनिभूत हुँदैजानेमा आशावादी हुनुपर्ने हुन्छ। लक्ष्मी प्रसाद देवकोटाको, "के नेपाल सानो छ" झै आज पर्यन्त पनि मुलुकको वैभव र अनुपम स्वर्गको टुक्रा नेपाल प्राचिनकाल देखि नै मानव जीवन बोकेको अनुकूलन वातावरण र विरताको इतिहास बोकेको मुलुकको रूपमा स्थापित छ ।
यहाँको गुणस्तरीय जीवनमा नविनतम सूचकाङ्क भन्दा माथिका ज्ञान, ध्यान र आध्यात्मिक सुखका अतिरिक्त समस्त प्राणीजनप्रतिको दया, मायाँ र करूणाको चिन्तन, संस्कार र समभावबाट मूलुकको सभ्यता सुसिंचित रहेको हो । नेपालीको खुशी, सहिष्णुता र अटुट राष्ट्रियतालाई कोरोनाले फेरि जगेर्ना गरेको छ ।
कानून र न्याय
कानूनका जतिसुकै सिङ हुन तर जनताको चाहना बमोजिमको मान्य नियम नै कानून हो । जसको जे हो त्यो उसैलाई दिलाइदिनु न्याय हो । संविधानतः सार्वभौमशक्ति सम्पन्न जनताको सेवामा केन्द्रित राज्य र सरकारले लागू गरेका कानूनको पलना गरेर नै यो कोरोना नामक वैश्विक महामारीबाट मुक्ति संभव छ । नेपालको न्यायप्रणालीले पनि कैदमा रहेका बन्दिहरूको जीवनको अधिकारलाई निकै महत्व दिएको छ ।
सामान्य किसिमका अपराध गर्ने कैदिलाई लक्षित गरी नागरिक समाजको जिम्मा दिने र सुधारवादी दण्डमार्फत समाजमा पुनर्स्थापना गर्ने सत्प्रयास कोरोनाले नै दिएको एउटा विशेष अवसर हो । यसले समाजलाई शुद्धिकरण गर्न र सम्बन्धित व्यक्तिलाई पापको पश्चाताप गरी समाजमा फर्कन मौका दिलाएको छ । नयाँ संहिताले अपराध र सजाय तर्फ गरेको समग्र सुधारात्मक प्रस्थानमा कोरोना एक प्रयोग बन्नु सर्वथा ऐतिहासिक छ ।
सन्दर्भसार
आजको मान्छेले विकल्प र छनौट सिकेको छ । कोरोनाले मानव चेतमा नै नराम्रो प्रहार गरेको छ । यतिवेलाको मान्छे यान्त्रिक कम र स्वभाविक बढी हुने क्रममा छ । हरेकपल उसले आफ्नै घर परिवार संझेको छ ।
उसले हासिल गरेको उपलब्धी र लक्ष्यबीचमा फरक अनुभूति गरेकोछ। घरमा सिमित हुनेले स-साना तर महत्वपूर्ण कामलाई गुमेको छ । पारिवारिक भूमिका सहित अनावश्यक सामाजिक हुनबाट आफू र परिवारलाई जोगाएको छ ।
यसप्रकार ऊ क्रमशः मितव्ययी, व्यवस्थित र जिम्मेवार हुँदै आएको छ । आरोग्यता भन्दा अर्को सुख नभएको र रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ भन्ने दिव्य ज्ञान पाएको छ ।
धन, सम्पत्ति, पद, प्रतिष्ठा भन्दा जीवन र परिवार ठूलो हुँदोरहेछ भन्ने अनुभूत पनि गरेकोछ। चेतनशील र सदावहार मान्छेमा शक्तिको नयाँ परिभाषा हुँदैछ । विज्ञान, प्रविधिको उत्कर्षसामु प्रकृतिको चाँख फेरि थपिदो छ ।
हरेक घर-घरमा यतिबेला स्वव्यवस्थापन, सामुहिकता र स्वाधिनताको अभ्यास हुँदैछ। इतिहास साक्षी छ, समयका हरेक चुनौतिभित्र अनुपम अवसर लुकेकै हुन्छ । के मान्छेलाई आफ्नो घर परिवार, मुलुक, राष्ट्रियता प्रतिको प्रेम र जीवनको दर्शन बुझाउन कोरोना सफल भएको हो ? दशकौं पछाडि धकेल्ने कोरोना नेपालको हकमा अभिसाप मात्र होइन एउटा अवसरमा परिणत हुने क्रममा यस अर्थमा पनि छ कि हाम्रो इतिहास किमार्थ कमजोर थिएन ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६ ०९:२४