मिसले घरबाट बाहिर ननिस्कुनु भन्नुभा काे छ । अब के गरेर घरमा बस्ने हो ?, कक्षा १ मा पढ्ने जोरपाटीका कृतक पौडेलले आमालाई सोधे ।
मिसले किन ननिस्कनु भन्नुभाकाे त ?
आमालाई उनको जवाफ, कोरोना लाग्छ रे !
के हो त कोरोना ? कृतकलाई थाहा छैन । कृतक प्रतिनिधि पात्र मात्र हुन् । विद्यालय तहमा ७४ लाख विद्यार्थी अध्ययनरत छन् । कोरोना (कोभिड १९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरिएको छ ।
विश्वभर कोरोना भाइरसकाे प्रकोप फैलिँदै गएपछि नेपालमा पनि सरकारले शैक्षिक गतिविधिमा रोक लगाएको हो । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू पनि भनेको छ ।
तर, विद्यालय बन्द भएपछि अधिकांश बालबालिका घरबाहिरै खेल्न हिँडेका भेटिन्छन् । बालबालिकालाई कोरोना भाइरस थाहा छ । तर, के हो ? यसले के गर्छ ? कसरी जोगिने भन्नेबारेमा भने थाहा छैन । बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने त ?

दिनको एउटा प्रश्न दिऔं
डा. विद्यानाथ कोइराला, शिक्षाविद्
बालबालिकालाई दिनको एउटा प्रश्न दिऔँ । अनि त्यसको उत्तर खोज्न र आफ्नो अनुभव लेख्न लगाउनुपर्छ । अहिले विद्यालय बन्द छ ।
शिक्षक घरघरमा बसेका छन् । त्यसैले शिक्षकहरूले फेसबुकबाटै विद्यार्थीलाई प्रश्न सोध्न पनि सकिन्छ वा विद्यालयले शिक्षकलाई एउटा सिमकार्ड दिएर विद्यार्थीसँग संवाद गराउन पनि सक्छ । घरमा अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।
अभिभावकले आफूले जानेको कुरा सिकाउने । हजुरबा हजुरआमाका पालाका कुरा सुनाउने । त्यो उपाय अपनाउने हो भने समय पनि खेर जाँदैन ।
बालबालिकामा त्रास पनि हुँदैन । बालबालिकालाई रुघा पनि भाइरस हो । स्वाइन फ्लू पनि हो । यो कोरोनाचाहिँ अलि कडा रहेछ भनेर सिकाउनुपर्छ । विद्यालय र अभिभावकले बालबालिकालाई कोरोना भन्ने सिकाए तर समाधान गर्न सिकाएनन् । जसको असर बालबालिकामा परेको छ ।

अभिभावक डर र त्रासबाट मुक्त हुनुपर्छ
रमा कार्की, बाल मनोविद्
विद्यालय बन्द भएकाले बालबालिका घरमै हुन्छन् । त्यसैले बालबालिकालाई हेरचाह गर्ने अभिभावकले हो । कोरोना भाइरसबारे अभिभावक जानकार हुनुपर्छ । सही सूचना लिनुपर्छ । त्यो सूचना बालबालिकालाई पनि बाँड्नुपर्छ ।
हात धुने ६ वटा स्टेप हुन्छन् । स्टेपअनुसार हात धुन बालबालिकालाई लगाउनुपर्छ । कोरोनाबारे अभिभावक डर र त्रासबाट मुक्त हुनुपर्छ ।
बालबालिकालाई भाइरसबाट डराउनु पर्दैन भनेर सचेत गराउनुपर्छ । खुला ठाउँमा खेल्ने र चिसो ठाउँमा जान नदिनु नै उत्तम हुन्छ ।
बालबालिकालाई खानेकुराहरू धोएर पखालेर खुवाउनुपर्छ । बालबालिकाले के भन्न, के गर्न खोजेको हो भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ । धेरै समय बालबालिकालाई दिने । गाली होइन, मीठो बोलेर उनीहरूलाई सजग गराउनुपर्छ ।

बालबालिकालाई ‘लाइफ स्किल’ सिकाऔँ
सुवास न्यौपाने, शिक्षासेवी
२१औँ शताब्दीका बालबालिका सोसल मिडियाबाट धेरै सूचनाहरू थाहा पाउँछन् । अभिभावकले भन्दा उनीहरूले बुझेका पनि छन् । नेपाल पनि कोरोनाको जोखिममा भन्ने सूचना आएलगत्तै विद्यालयहरूले पनि विद्यार्थीले सचेतना अपनाउन सिकाएको छ ।
कोरोनाबाट जोगिन पम्प्लेट बनाएर फलो गर्न विद्यार्थीलाई सिकाइएको छ । विद्यालयहरू बन्द छन् । विशेषगरी अभिभावकले बालबालिकाको ख्याल गर्नुपर्छ । कोरोनाबाट जोगिन घरबाहिर जान नदिने, प्रोग्राममा नपठाउने, बरु घरमै गेम खेलाएर राख्नुपर्छ ।
यो समयमा अभिभावकले बच्चालाई लाइफ स्किल सिकाउने हो । खाना बनाउन, घर सफा गर्न, किचेनमा सहयोग गर्न, लुगा धुन लगायो भने पनि उनीहरूले धेरै कुरा सिक्छन् । यति गर्यो भने कोरोनाबाट डराउनु पर्दैन ।

सिर्जनात्मक काममा लगाउने
सनम पौडेल, मनोविद्
कोरोना–कोरोना भनेर त्रासको वातावरण बनाइएको छ । त्यसैले कोरोना भनेको के हो भनेर अभिभावकले बालबालिकालाई स्पष्ट पार्नुपर्छ ।
अहिले अधिकांश बालबालिकाले मोबाइलमा सामाजिक सञ्जाल चलाउँछन् । उनीहरूलाई युट्युबमा राम्रो भिडियो हेर्न लगाउनुपर्छ ।
बालबालिकाले गर्न सक्ने काममा लगाउनुपर्छ । सिर्जनात्मक काममा लगाउने । चित्र बनाउन लगाउने, जसले गर्दा समय पनि सदुपयोग हुने र सिक्ने पनि माैका पाउँछन् ।
पहिले अभिभावक सचेत हुनुपर्छ । अभिभावक नै डराएको उदाहरण पनि छ । कतिलाई फोबियासमेत भएको छ । अभिभावक नै डराएपछि बच्चालाई कस्तो असर पर्छ ? त्यसैले अभिभावक पहिले कोरोनाबारे सचेत हुनु आवश्यक छ ।
हात धुने भनेर भनिएको छ । अनि बालबालिकाले बेस्सरी धेरै पटक हात धुन थालेका छन् । दिमागमै त्यही बसेको छ । जसले मानसिक समस्या निम्तन सक्छ । हात धोइ राख्नु पर्दैन । सोसल मिडियामा जस्तो अनेक थरी समाचार आएका छन् । कुन सत्य हो, त्यो छुट्याएर पढ्नुपर्छ ।
यो पनि जानी राखौं
- कोरोना भाइरस संक्रमणको लक्षण
- रुघाखोकी लाग्नु
- १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु
- घाँटी, टाउको तथा जिउ दुख्नु
- श्वास प्रश्वासमा समस्या
कोरोना संक्रमण कसरी हुन्छ ?
- पशुपक्षी र सी फुडको माध्यमबाट
- संक्रमित मानिसको सास र र्यालबाट
- आफ्नै परिवारका संक्रमित सदस्यबाट
संक्रमणबाट कसरी जोगिने ?
- रुघाखोकी तथा श्वास प्रश्वासमा समस्या भएका बिरामीको छेउमा नजाने
- नियमित साबुनपानीले हात धुने
- खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने
- जंगली तथा घरेलु पशुपक्षीबाट टाढै बस्ने
- अण्डा मासु राम्रोसँग पकाएर मात्र खाने
- भीडभाडमा नजाने
- हिँड्दा मास्क लगाउने
- फ्लूको जस्तो लक्षण देखिए अस्पताल जाने
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६ १५:५७