सरकारले एक वर्षपछि हुने राष्ट्रिय जनगणनाका लागि तयारी थालेको छ । २०७८ साल वैशाखदेखि सुरू हुने जनगणनाका लागि छलफल र विषयगत अध्ययन गरिरहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।
नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले जनगणनाका लागि चैतमा नमुना जनगणना गर्दै छ ।
विभागले २०७८ साल वैशाखदेखि १२औँ राष्ट्रिय जनगणनाको मिति तय गरेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा साथ २०७८ सालमा जनगणना गर्ने विभागले जनाएको छ । यो जनगणनामा पनि वैदेशिक रोजगारीका लागि विदेशिएका, अध्ययनमा विभिन्न देश पुगेका र विदेशमा पेशा व्यवसाय गरी बसेका नेपाली छुट्ने भएका छन् ।
आगामी वर्षमा हुने राष्ट्रिय जनणनामा विदेशमा रहेका नेपाली नागारिक समेट्न नसकिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए ।
एक वर्षपछि हुने राष्ट्रिय जनगणनाबाट विदेशमा बसोबास गर्ने नेपालीहरूको यथार्थ गणना र विवरण ल्याउन सम्भव नहुने महानिर्देशक श्रेष्ठले बताए ।
‘सरकारले विदेशमा रहेका कूटनीतिक नियोग र विभिन्न नेपाली संस्थासँग समन्वय गरेर भए पनि विदेशमा रहेका नेपालीको गणना गर्नुपर्छ भन्ने विषयमा छलफलमा जुटेको छ’, उनले भने, ‘विभागले कूटनीतिक नियोग र कन्सुलरको सहयोगमा सक्दो तंथ्याक संकलनका लागि प्रयास गर्नेछ । पहुँच नभएका देशमा रहेका नेपालीको विवरण आउन समस्या छ ।’
परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेका कूटनीतिक नियोग र कन्सुलरसँग समन्वय गरेर विदेशमा रहेका नेपालीको जनगणनाका समेट्ने पक्षमा रहेका उनको भनाइ छ ।
२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ जना रहेको थियो । जसमा १९ लाख २५ हजार नेपाली विदेशमा बसोबास रहेकोे विभागको तथ्यांकमा छ । हाल संख्या ४ गुणा वढेको हुनसक्ने सरकारको अनुमान छ ।
सरकारले २०७८ सालको जनगणनामा विदेशमा रहेका करिब ४५ लाखभन्दा धेरै नेपाली समेट्ने लक्ष्य राखेको थियो । तर, विभागले सम्भव नहुने भने पनि विदेशमा रहेका सबै नेपाली जनगणनाबाट छुट्ने भएका छन् ।
७५ लाख नेपाली राष्ट्रिय जनगणनाबाट छुट्दै
विश्वका १ सय ८९ देशमा नेपाली छरिएर रहेका छन् । यी देशमा करिब ७० देखि ७५ लाख नेपाली नागरिक रोजगारी, अध्ययन र व्यवसायकाका लागि बसोबास गदै आएको सरकारी अनुमान छ ।
छरिएर बसेका नेपाली नागरिकलाई एक वर्षपछि हुने राष्ट्रिय जनगणनामा समेट्न सम्भव नहुने विज्ञहरू बताउँछन् । विदेशमा रहेका नेपालीलाई समेट्न समस्या हुने श्रम रोजगार तथा युवाविज्ञ गणेश गुरूङ बताउँछन् ।
‘व्यवसास, रोजगारी, अध्ययन, र अन्य पेशामा कति नेपाली विदेशमा बसोबस गर्छन् भने अहिलेसम्म सरकारसँग तथ्यांक छैन । सरकारले श्रम स्वीकृति दिएका कति नेपाली वैदेशिक रोजगारीमा छन् भने एकिन तथ्यांक संकलन गर्ने सकेको छैन,’ उनले भने ।
विदेशमा बसाइँ सरेका छमेकी वा उनीहरूका आफन्तलाई आधार मानेर तथ्यांक संकलन गर्न उनले सरकारलाई सुझाव दिए । सरकारले राष्ट्रिय जनगणना जस्तो महत्त्वपूर्ण विषयमा विदेशमा रहेका नेपाली छुटाउनु भनेको दुर्भाग्यपूर्ण हुने गुरूङको भनाइ छ ।
नेपालमा परिवार भएका र विदेशमा बसोबास गर्दै आएका नेपालीको मात्र गणना गर्न सकिने विभागका महानिर्देक श्रेष्ठले बताए । ‘परिवार नै विदेशमा बसोबास गर्नेहरूको संख्या २०७८ को जनगणनाबाट यथात विवरण मुश्किल छ । स–परिवार नै विदेशमा बसाइँ सरेको तथ्यांक लिन हामीसँग जनशक्ति नि छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको चाहिँ परिवारको सहयोगमा जनगणनमा समेटिन्छ । सरकारले प्रयास गर्छ । १० वर्षमा देशको जनसख्या कति छ भनेर गरिने राष्ट्रिय जनगणनामा आफना नागरिक समेट्नका लागि सक्दो प्रयास हुनेछ ।’
एउटा देशमा अध्ययन र रोजगारीका लागि गएका नेपाली नागरिक उत्तैबाट अन्य देशमा गएर बस्ने क्रम पनि बढ्दो छ । जसका कारण नेपाली कुन देशमा कसरी पुग्छन् भने विषयमा सरकारले बेखबर छ ।
चैतदेखि नमुना जनगणना
विभागले २०७८ सालको जनगणनालाई लक्षित गर्दै आगामी ९ देखि २३ चैतसम्म विभिन्न जिल्लामा नमुना जनगणनाको परीक्षण गर्ने जानकारी दिएको छ ।
नमुना जनगणनाका विभागले सातै प्रदेशका २–२ वटा गरी १४ जिल्लाका ५५ वटा वडा छनोट गरेर काम सुरू गर्न लागिएको विभागले जनाएको छ । जसका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वयसमेत भइसकेको विभागले जानकारी दिएको छ ।
नमुना जनगणनाका लागि सामग्री, गणना क्षेत्रको नक्साको शुद्धता, प्रश्नावली, जनशक्तिको पर्याप्तता, प्रविधिको प्रयोगसमेत गरिने विभागले जानकारी दिएको छ । विदेशमा रहेका नेपाली नागरिकका हकमा भने गणना गर्ने नमुना परीक्षणको कुनै तयारी नभएको विभागले जनाएको छ ।
कुनै परिवार बसाइँ सरे पनि कम्तिमा उत्त स्थानमा ६ महिना बसोबास हनुपर्नेदेखि लिएर धर्मनिरपेक्ष र समलिंगी तेस्रोलिंगीलाई पनि २०७८ को जनगणना समेट्न तयारी भइरहेको विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ११:५७