कम्प्युटर विज्ञान तथा प्रविधि (सीएसआईटी) उत्तीर्ण भएका तथा अध्ययनरत विद्यार्थी र सीएसआईटीका प्राध्यापकहरू आन्दोलित भएका छन् । लोकसेवा आयोगले विज्ञापन खुलाउँदा सीएसआईटीका लागि नखुलाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । सयौंको संख्यामा भेला भएर प्राध्यापक तथा विद्यार्थीहरूले शनिबार काठमाडौंको माइतीघरसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए ।
११ बुँदे माग राखेर सीएसआईटी एसोसिएसन अफ नेपाल, स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स र कम्प्युटर साइन्स एलुम्नाई एसोसिएसन आन्दोलनमा उत्रेका हुन् ।
हाम्रो परिचय खोई ?
सीएसआईटी एसोसियसल अफ नेपालकी अध्यक्ष गरिमा खकुरेलले भनिन्, ‘सीएसआईटी पढेकाको परिचय नै भएन । हाम्रो शैक्षिक योग्यता पुग्छ । तर, लोक सेवाले सीएसआईटीका लागि विज्ञापन खुलाउँदैन । इन्जिनियरिङका लागि मात्र खुलाउँछ । हामीले पढेको किन ? सरकारले नै काम नदिएपछि पढेको के अर्थ भयो ?’
११ बुँदे मागमा के छ ?
- त्रिवि सेवा आयोगले मंसिर २ र ३ गते लिएको कम्प्युटर विज्ञापनको उप–प्राध्यापक पदको परीक्षा रद्द गरेर पुनः परीक्षा गर्नुपर्ने ।
- लोक सेवा आयोगले सूचना प्रविधि पदका विभिन्न तहका लागि जारी गरेको विज्ञापनमा सीएसआईटी अध्ययन गरेका विद्यार्थीलाई खुल्ला प्रतिस्पर्धामा समावेश गराउनुपर्ने ।
- आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका लागि वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने ।
- बीएससी सीएसआईटीमा निर्धारित १० प्रतिशत छात्रवृत्तिको दुरुपयोग भएकाले त्रिविले नै छत्रावृत्तिका लागि विद्यार्थी छनोट गरेर सम्बन्धित क्याम्पसमा भर्ना गराउनुपर्ने ।
- बीएससी सीएआईटीको इन्ट्रान्स परीक्षा र रिजल्ट व्यवस्थित गर्नुपर्ने ।
- शैक्षिक क्यालिण्डर बनाउनुपर्ने ।
- रिसर्च र डेभलपमेन्टको वातावरण बनाउनुपर्ने ।
- शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अनिवार्य उपस्थित हुनुपर्ने ।
- शिक्षकको योग्यता र मापदण्डको अनुगमन गर्नुपर्ने ।
- आठौं सेमेस्टरमा जस्तै अन्य सेमेस्टरमा पनि मौका परीक्षाको व्यवस्था हुनुपर्ने ।
- आईटी काउन्सिल गठन गर्नुपर्ने ।
हामीमाथि अन्याय भयो
तीनवटा संगठनले आफ्ना माग सम्बोधन गर्न सरकारलाई १९ मंसिरसम्मको अल्टिमेटम दिएका थिए । तर उनीहरूको माग सम्बोधन भएको छैन । माग सम्बोधन नभएपछि आफूहरू चरणबद्ध आन्दोलनमा उत्रिएको विद्यार्थी अध्यक्ष खकुरेलले बताइन् ।
आन्दोलनअन्तर्गत कालो पट्टी र ब्यानर बाँधेर पठनपाठन, पेन डाउन, विरोध प्रदर्शन र त्रिवि घेराउलगायतका कार्यक्रम गरिएको उनको भनाइ छ । ‘अहिलेम्म मागको सम्बोधन भएको छैन,’ उनले भनिन्, ‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्छौं ।’
बर्सेनि हजारौं विद्यार्थी उत्तीर्ण भए पनि अवसरका लागि लोक सेवाले विज्ञापन नखुलाउँदा आफूहरू अन्यायमा परेको उनको गुनासो छ ।
न्यायसंगत भएन
टेक्सास इन्टरनेसनले कलेजका प्रिन्सिपल भेषराज पोखरेलले नीतिगत ढंगबाट समस्या समाधान गर्नुपर्ने बताए ।
‘लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कारण समस्या उत्पन्न भएको हो,’ उनले भने, ‘आईटी विषय पढेकाका लागि न्यायसंगत देखिएन । त्यसैले तत्काल सरोकारवाला निकायले आईटी पढेका विद्यार्थीको समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’
वार्ताबाटै समाधान
काठमाडौं मोडेल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले कोर्सबारे त्रिभुवन विश्वविद्यालयले लोक सेवालाई जानकारी नगराउँदा समस्या आएको बताए ।
‘त्रिविले लोक सेवालाई राम्रोसँग सुसूचित नगराएको र केही प्रयास गर्दा पनि लोक सेवाले गम्भीरतापूर्वक नलिँदा समस्या भएको हो । विद्यार्थीको आन्दोलन सही छ । तर, सूचना प्रविधिको उत्कृष्ट विषय हो भनेर लोक सेवालाई भन्नुपर्छ । अनि वार्ताबाट समस्या समाधान गर्नुपर्छ,’ प्रिन्सिपल सुवेदीले भने ।
सीएसआईटी त्रिविले २०६४ सालमा बनाएको कोर्स हो । त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले यो कोर्स सञ्चालन गरेका छन् । त्रिविले प्राइभेट क्याम्पसलाई सम्बन्धन दिएको छ भने मध्यपश्चिमले दिएको छैन । मध्यपश्चिम विश्वविद्यालयले आफैं यो कोर्स पढाउँछ ।
बीएससी र एमएसीमा यो कोर्स पढ्न सकिन्छ । यसमा प्रत्येक शैक्षिक सत्रमा तीन हजारको हाराहारामी विद्यार्थी भर्ना हुने गरेका छन् । यो कोर्सलाई कम्प्युटर इन्जिनियरिङको विकल्पको कोर्समा लिइन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६ १८:०५