१५ चैतमा राजावादी र गणतन्त्रवादी सडकमा ओर्लने तयारी गर्दा संसदको ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भने सडक प्रदर्शन गर्न आवश्यक नरहेको निष्कर्ष निकाल्यो । सरकारको नेतृत्व गरेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अगुवाइमा रहेको समाजवादी मोर्चाले सडकमा गणतन्त्रको पक्षमा छुट्टाछुट्टै उत्रने तयारी गरेका छन् । तर कांग्रेस भने सडकमा नजाने भएको हो ।
जनताले संविधानसभाबाट बनाएको संविधानबाट नै जनताका आवश्यकता र समस्या हल गर्न सकिने निष्कर्षमा कांग्रेस छ । ‘यही संविधानमार्फत जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सकिन्छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।
सरकारको नेतृत्व गरेको एमालेले ११ चैतदेखि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गर्ने तालिका तय गरेको छ । सचेतना अभियानअन्तर्गत ११ देखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामीविरुद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम र १८ चैतमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिने तालिका छ । एमालेले १८ चैतमा सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ ।
२४ चैतदेखि ३० चैतसम्म प्रमुख शहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको छ । प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि भने आवश्यकताका आधारमा केन्द्रीय नेता खट्ने तयारी छ ।
त्यस्तै, समाजवादी मोर्चाले १५ चैतमा जनप्रदर्शन गर्ने र ६० हजार मानिस सडकमा उतार्ने दाबी गरेको छ । गणतन्त्र ल्याउन भूमिका खेलेका दलहरू सडकमा उत्रने तयारी गर्नु र कांग्रेसले आफूले ल्याएको व्यवस्था आफैँ रक्षा गर्न सक्छु भन्नु कांग्रेस प्रजातन्त्रप्रति निष्ठावान् देखिएको राजनीतिक विश्लेषक डा. सञ्जीव हुमागाईं बताउँछन् । ‘नेपाली कांग्रेस प्रजातन्त्रप्रति एकदम निष्ठावान् देखियो । कांग्रेस दुईपटकको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको पार्टी हो,’ उनले शिलापत्रसँग भने, ‘२००७ सालको क्रान्तिमा सहभागी भएको र सुनेको, २०४७ सालको आन्दोलनको नेतृत्व गरेको पार्टी भएकाले प्रजातन्त्रप्रति उसको ठूलो कमिटमेन्ट वास्तवमै देखियो ।’
कांग्रेस नयाँ परिवर्तनलाई पहिले आत्मसात् गर्ने पार्टीको रूपमा विगतदेखि नै देखिएको बुझाइ हुमागाईंको छ । ‘राजनीतिक निर्णयमा सतसंगत गर्नुपर्छ भन्ने राजनीतिक पार्टी हो । गणतन्त्र आउने बेलामा पनि आफ्नो विधान संशोधन गर्ने पार्टी कांग्रेस मात्र हो, अरुले गरेका छैनन् । यो हाम्रो पुरानो एजेन्डा हो भनेको देखियो,’ उनले भने ।
२५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किए । सो बेलामा राजावादीहरूले ज्ञानेन्द्रलाई काठमाडौं अस्तव्यस्त हुने गरी शक्ति देखाएर स्वागत गरेका थिए । सो बेलामा गणतन्त्रवादीहरूको शक्ति मापन गरेको अर्का राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं बताउँछन् ।
‘राजतन्त्र तत्काल आइहाल्ने स्थिति देखिँदैन । राजतन्त्र तत्काल आउनका लागि पृष्ठभूमि बन्नुपर्छ, त्यसका लागि राजावादीले तयारी पनि गरेका छन् । अहिले जिस्काइरहेका छन् । कस्तो हुन्छ भनेर गणतन्त्रको पावर नापेको मात्र हो । नाप्दा अस्ति नापिसके,’ उनले शिलापत्रसँग भने । राजतन्त्रवादीहरूले गणतन्त्रको शक्ति नापेको र अन्य पार्टीले प्रतिक्रिया देखाउँदा कांग्रेसले स्ट्रेन्थ कम छैन भन्ने कांग्रेसले देखाएको उनले बताए । ‘कांग्रेसले गणतन्त्रप्रति हाम्रो स्ट्रेन्थ कम छैन भन्ने देखाउन गरिएको निर्णय हो,’ चापागाईंले भने ।


पूर्वराजाका बारेमा कांग्रेस सभापति देउवा मौन रहँदै आएका थिए । तर, आइतबार उनले पूर्वराजाका बारेमा कडा टिप्पणी गरे । उनले पूर्वराजा शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने भनेर आइतबार टिप्पणी गरे । पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने पनि देउवको भनाइ थियो । ‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरू राप्रपाले पार्टी सभापति बनाए हुन्छ,’ आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै सभापति देउवाले भने, ‘राजनीति गर्नु छ भने बरू पार्टी खोले भइहाल्यो । नत्र दुःख पाउँछन् विचराहरूले ।’
कांग्रेसभित्र राजतन्त्रसँग जोडिएर आउने हिन्दुराष्ट्रको विषयमा खुला बहस हुन्छ । पार्टीको एजेन्डा नभए पनि उसका नेता कार्यकर्ताले यो बहस पार्टीभित्र र बाहिर गरिरहन्छन् । सभापति देउवा नबोल्दा कांग्रेसको पनि राजतन्त्रको पक्षधरमा समर्थन भएको हो कि भन्ने शंका गर्ने ठाउँ देखिएको र बोलेपछि शंका मेटिएको विश्लेषक हुमागाई बताउँछन् ।
‘कांग्रेसले संस्थागत रूपमा हामी गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध छौँ भनेर प्रतिबद्धता जाहेर गर्नु यो नेपालको इतिहासमा महत्त्वपूर्ण घटना हो । कांग्रेसले प्रस्ट रूपमा नभनेको भए, सभापति देउवा कडा रूपमा प्रस्तुत नहुनुभएको भए जनतालाई कन्फ्युजन हुन्थ्यो– कतै कांग्रेसले पनि राजतन्त्र नै चाहिरहेको त होइन भन्ने,’ उनले भने, ‘कांग्रेस हिन्दु धर्मका बारेमा केन्द्रीय समितिमा खुलेआम छलफल हुने पार्टी हो । यसको पछाडि कांग्रेस त छैन भन्ने शंका हुन्थ्यो । कांग्रेसले प्रस्ट भन्नु खुसी र स्वागतयोग्य कुरा हो ।’
सडकमा जाने तयारीमा रहेका एमाले र माओवादीमा लोकतन्त्रसहितको गणतन्त्रप्रति हामीले चाहेको योभन्दा बढी हो भन्ने चाहेको विगतको भाष्य देखिएको हुमागाईंले बताए । व्यवस्थाप्रति प्रतिबद्ध दलहरू नै सडकमा आउँदा राजावादीहरूलाई एकीकृत हुन बल पुगेको उनले बताए । ‘सडकमा आउने कार्यले राजावादीलाई निरुत्साहितभन्दा पनि संगठित हुन प्रेरित गरिरहेको देखिन्छ । संकटमा विपक्षीहरू एकीकृत हुन्छन् । सडकमा गएर प्रतिक्रिया दिने बेला होइन,’ हुमागाईंले भने ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ २०:४९