मूल गेटबाट छिर्नासाथ छरपस्ट फर्निचरका सामान । सिँगारिँदै गरेका काठका टुक्रा । जोडिँदै गरेका फलामका डन्डी । र, ती सबैलाई मूर्त आकार दिन खटिएका मिस्त्री । बरमहलस्थित स्किल सेवाको कार्यालयमा कसैलाई फुर्सद छैन । करिब १३० जनालाई प्रत्यक्ष रोजगारी दिएको यो कम्पनीका सबै कर्मचारी पहिलाभन्दा तुलनात्मक रूपमा व्यस्त रहेको समय हो यो ।

कारण, काठमाडौंको बुद्धनगरमा स्किल सेवाले यही १५, १६, र १७ फागुनमा विशेष इभेन्ट आयोजना गर्दै छ, जहाँ घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराइनेछ । ‘घर निर्माण फेस्ट–२०८१’ नाम दिइएको यो इभेन्टमा ५० वटा स्टल रहनेछन्, जसमा केही स्टल आयोजक कम्पनी ‘स्किल सेवा’ले राख्नेछ भने केही स्टल अन्य सम्बन्धित कम्पनीहरूले राख्नेछन् ।
आफ्नो कम्पनीको ‘स्लोगन’ नै घरको डाक्टर बनाएको स्किल सेवाले आसन्न इभेन्टलाई ‘जे गर्छौं, नेपालमै गर्छौं’ भन्दै प्रचार गरिरहेको छ । कम्पनीका सेल्स हेड प्रविन गेलालअनुसार यसमा घर निर्माणमा आवश्यक पर्ने सामग्रीहरू, प्लम्बिङ, बाथरुम डिजाइनलगायत अन्य सम्पूर्ण पक्षबारे जानकारी लिन सकिनेछ । घर निर्माण प्रक्रियासँग सम्बन्धित वित्तीय पक्षहरूलाई पनि समेट्दै घर निर्माणका लागि आवश्यक पर्ने लोनको प्रक्रिया, बीमा र अन्य वित्तीय सहायतासम्बन्धी जानकारी पनि यसबाट पाउन सकिन्छ ।

आफ्नो व्यवसायसँग जोडिएका विषयमा पुस्तक प्रकाशन पनि गर्दै आएको छ, ‘स्किल सेवा’ । यसअघि ‘घर निर्माण’सम्बन्धी पुस्तक प्रकाशन गरेर बजारमा पठाइसकेको छ । पाठकको रोजाइमा पनि पर्न सफल भयो । पहिलो संस्करण सफल भएपछि अब दोस्रो संस्करण विमोजनको निकटमा छ, जसलाई आसन्न इभेन्टमा नै प्रकाशन गर्ने योजना आयोजकको छ । विमोचन गर्ने तयारी गरिएको यस किताबमा ‘इन्जिनियर नहुँदा’को अवस्था हाइलाइट गरिएको छ । अर्थात्, यसले यदि घर बनाउँदा इन्जिनियर छैनन् भने कस्ता कुरामा ध्यान दिने भन्ने जानकारी दिन्छ ।
साथै, ‘स्किल सेवा’ले ‘स्किल सेवा एप’ पनि लञ्च गर्ने तयारी गरेको छ, जसले नेपालभरका सेवाग्राहीलाई घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी सजिलै उपलब्ध गराउनेछ । यो एपमार्फत प्रयोगकर्ताले घर निर्माण प्रक्रियाको सुरुवाती चरणदेखि अन्तिम चरणसम्मको गाइडलाइन, नक्सा पास गर्ने तरिका, निर्माण सामग्री छनोट र आवश्यक सल्लाहहरू लिन सक्नेछन् ।

इभेन्टमा ‘हाउस मोडल कम्पिटिसन’ पनि आयोजना गरिनेछ, जहाँ आर्किटेक्टहरूले आफ्ना नवीनतम घर मोडेलहरू प्रस्तुत गर्न सक्ने गेलालले बताए । उनका अनुसार यस प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नेले ५० हजार, दोस्रो स्थान प्राप्त गर्नेले ३० हजार र तेस्रो स्थान प्राप्त गर्नेले २० हजार नगद पुरस्कार पाउनेछन् । ‘हालसम्म १५ भन्दा धेरै प्रतिस्पर्धीले यसमा भाग लिइसकेका छन् । यसले आर्किटेक्टहरूको सिर्जनशीलतामा प्रोत्साहन मिल्ने विश्वास हाम्रो छ,’ उनले शिलापत्रसँग भने ।
सबैभन्दा रोचक कुरा यसमा सेवाग्राही वा भ्रमण गर्न आउनेलाई देखाइने उन्नत प्रविधिको प्रयोग हो । आजसम्म जोकोहीले आफ्नो घर बनाइसक्दा कस्तो देखिन्छ भनेर अनुमान गर्न कठिन छ । टुडी वा थ्रीडी वा फोटोमार्फत त्यस्ता अनुमान देखाइएका हुन्छन् । तर, यस इभेन्टमा आगन्तुकहरूले भीआर प्रविधिमार्फत घर निर्माणपछि कस्तो देखिन्छ भन्ने अनुभव प्रत्यक्ष रूपमा लिन सक्नेछन् । यस प्रविधि प्रयोग गरी ‘स्किल सेवा’ ले बनाएका केही घरहरूको नमुना भीआरमार्फत हेर्न सकिनेछ । कम्पनीका अनुसार यदि कसैले अब घर बनाउन चाहेको अवस्थामा सुरुवाती डिजाइनपछि नै भीआरमार्फत आफ्नो घर बनिसक्दा कस्तो देखिन्छ भनेर पनि हेर्न सकिन्छ ।
घरभित्र अटोमेटिक प्रणाली (होम अटोमेसन) लागू गर्ने आईओटी (इन्टरनेट अफ थिङ्स) सम्बन्धी प्रविधिको पनि प्रदर्शनी इभेन्टमा हुनेछ । साथै, घर निर्माणका क्रममा प्रयोग गरिने सामग्री र प्रविधिबारे जानकारी गराउन ‘कन्स्ट्रक्सन डेमोन्स्ट्रेसन’ समेत राखिएको छ, जसमा बलियो र टिकाउ घर निर्माणका लागि आवश्यक मापदण्डबारे जानकारी दिइनेछ । डन्डी तथा अन्य निर्माण सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू विशेष रूपमा ‘शोकेस’ गरिनेछन् ।

इभेन्टमा युवाहरूलाई लक्षित गर्दै ‘युथ इन्टरप्रेनरसिप सेमिनार’ समेत आयोजना गरिने गेलालले बताए । यसमा उद्यमीका राम्रा आइडियामा फन्डिङ गरिनेछ । साथै, अन्य व्यावसायिक अवसरबारे चर्चा गरिनेछ । अनुभवी उद्योगपति तथा विज्ञले आफ्ना विचार प्रस्तुत गर्नेछन् । साथै, ‘हाउस आइडिया प्रिजेन्टेसन’ मार्फत नेपाल तथा विदेशमा अपनाइएका नवीनतम आवासीय योजनाबारे जानकारी दिइनेछ ।
‘नेपालमा घर निर्माणको काम कसरी भइरहेको छ । के–कस्ता घर बनिरहेका छन् ? हाउजिङहरू कस्ता छन् ? विदेशी मुलुकमा कस्ता कुरा प्रचलनमा छन् ? भन्ने विषयहरू यसमा बुझाइनेछ,’ गेलालले सुनाए ।
स्थापनाकालदेखि आजसम्म ‘स्किल सेवा’ले काठमाडौंभित्र थुप्रै घर/पूर्वाधार निर्माण गरिसकेको छ । त्यसैले इभेन्टका इच्छुक आगन्तुकहरूलाई निर्माणाधीन घरहरूको ‘साइड टुर’ गराउने व्यवस्था पनि मिलाइएको छ । यसमार्फत स्किल सेवाले काम गरिरहेको क्षेत्रमा गएर प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । यसले कम्पनीप्रति थप विश्वास जगाउन सघाउ पुर्याउने विश्वास कम्पनीको छ । यसबाट भूकम्पप्रतिरोधी घरको निर्माण प्रक्रिया प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउनेछन् । र, नेपालमा सुरक्षित र टिकाउ घर निर्माण गर्न आवश्यक उपायहरूबारे जानकारी दिइनेछ ।

यसरी घर निर्माणको सम्पूर्ण ज्ञानलाई एक ठाउँ ल्याएर प्रदर्शनी गराउन लागिएको यस इभेन्टको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नेछन् भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समापन गर्ने योजना छ । कांग्रेस महामन्त्री गगन थापालगायतका नेताले पनि विभिन्न सत्रको छलफलमा सहभागिता जनाउने कम्पनीको दाबी छ ।
इभेन्टका दौरान विभिन्न विषयमा ‘प्यानल डिस्कसन’समेत गरिनेछ, जसमा ‘राम्रो घर, बलियो घर’, ‘नगरपालिकाको मापदण्ड’, ‘जे गर्छौं नेपालमै गर्छौं’, तथा ‘वैकल्पिक घरको चुनौती र अवसरहरू’जस्ता विषयमा गहन छलफल हुनेछ । आर्किटेक्ट तथा स्ट्रक्चरल इन्जिनियरहरूले बलियो घर निर्माणका लागि आवश्यक उपायहरूबारे विस्तृत जानकारी दिनेछन् ।
नगरपालिकाको मापदण्डसम्बन्धी छलफलमा स्थानीय तहका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ, जसले निर्माणसम्बन्धी नियम तथा मापदण्डहरूबारे प्रस्ट पार्नेछन् । साथै, नेपालमै निर्माणसम्बन्धी अवसरहरूको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिनेछ ।
आयोजकले यस इभेन्टमा १० हजारभन्दा बढीले भ्रमण गर्ने विश्वास गरेका छन् । साथै, घर निर्माणका लागि आवश्यक सम्पूर्ण जानकारी तथा सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित आयोजना गरिएको यो इभेन्ट नेपालमा घर निर्माणसम्बन्धी सबैभन्दा ठूलो मञ्च बन्ने अपेक्षा उनीहरूको छ ।
एउटा कोठाबाट सुरु भएको ‘स्किल सेवा’
सन् २०१८ मा इन्जिनियरिङ सकेपछि तीन जना सिभिल इन्जिनियर मिलेर 'स्किल सेवा' नामक कम्पनी सुरु गरे । कलेजका दिनमा नै विभिन्न प्रोजेक्टहरूमा सहभागी यो संस्थापक समूहले इन्टरकलेज प्रतिस्पर्धामा भाग लिँदा सधैँ अवार्ड जित्थे । त्यसबेला उनीहरू हाइड्रोपावरसम्बन्धी प्रोजेक्टमा काम गर्थे, तर अर्बौं लगानी आवश्यक पर्ने भएकाले त्यो सपना तत्काल सम्भव थिएन । त्यसैले उनीहरूले व्यावहारिक रूपमा गर्न सक्ने काम खोजे । र, सिभिल इन्जिनियरिङ अध्ययन पूरा गर्न नपाउँदै व्यवसाय सुरु गर्ने निधो गरे । परीक्षाको भोलिपल्टैदेखि उनीहरूले आफ्नै कम्पनी चलाउन थाले । तर, उनीहरूसँग कुनै ठूलो लगानी थिएन । आफ्नै पकेट खर्च जम्मा पारेर करिब २ लाख रुपैयाँमा व्यवसाय सुरु गरे । चिनेका मान्छेको स्टोरलाई अफिस बनाए, लगानी जोगाए र आफैँ फिल्डमा गएर काम गर्न थाले ।
गेलालले बताएअनुसार सुरुका दिनहरू निकै कठिन थिए । बजारमा स्किल सेवाको माग देखिएन । पहिलो छ महिनासम्म आम्दानी शून्यजस्तै रह्यो । नाफा त परै जाओस्, कर तिर्नसमेत आफ्नै खल्तीको पैसा निकाल्नुपर्यो । काम नपाएर निराश हुनुपर्ने अवस्था आयो । तर, हिम्मत हारेनन् ।
स्थापनाको ६ महिनापछि भने परिस्थिति फेरियो । काठमाडौं, भक्तपुर र ललितपुरबाट अफर आउन थाल्यो । माग बढ्दै गयो । अहिलेको अवस्थामा यसले ८० वटा घरको निर्माण कार्य गरिरहेको छ । फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालमा पनि आफूलाई स्थापित गरिसकेको छ ।

सुरुवातमा यसले सामान्य सेवाबाट काम थाल्यो । घरको डाक्टर बनेर पानी चुहिनु, पर्खाल चर्किनु, पाइप फुट्नु, बाथरुमको समस्याजस्ता घरभित्रका विविध समस्या पहिचान गरी समाधान गर्ने कामबाट यसले सेवा दिन थाल्यो । कम्पनीले आधुनिक मेसिनबाट घरका समस्या पत्ता लगाउँछ । गुणस्तरीय सामग्रीको प्रयोग गर्दै ग्यारेन्टीसहित मर्मत सेवा दिन्छ ।
यसरी एउटा कोठाबाट सुरु भएको स्किल सेवाले ‘मेरो घर बिरामी भयो’ भनेर फोन गर्छन्, घरका डाक्टर गएर उपचार गर्दिन्छन् । ‘अहिलेको अवस्थामा प्रत्यक्ष रोजगारी नै १३० जना हाराहारीलाई दिएका छौँ । यसबाहिर आउटसोर्सिङ पनि गरिन्छ । काठमाडौं उपत्यकाबाहेक चार शहरमा सेवा विस्तार गरिसकेका छौँ । घर निर्माणको सुरुवाती प्रोसेसदेखि अन्तिम चरणसम्मै हामीलाई विश्वास गरेर आउने क्रम बढ्दो छ,’ गेलालले खुसी सुनाए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ०९:१०